नेपाल विद्युत् प्राधिकरण र सशस्त्र प्रहरी बलबीच विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउने सम्झौता भएको छ । प्राधिकरण र सशस्त्रबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न एकाइमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्याउनेसम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्रका महानिरीक्षक राजु अर्यालले हस्ताक्षर गरेका छन् । घिसिङले स्मार्ट चार्जिङको अवधारणाअनुसार सशस्त्रसँग सम्झौता भएको बताएका छन् । ग्यासको खपत घटाउने तथा विद्युत् उपयोगलाई बढाउँदै लैजाने लक्ष्यअनुरुप काम भइरहेको उनको भनाइ छ ।
सशस्त्रका महानिरीक्षक अर्यालले प्राधिकरणसँग मिलेर काम गर्न पाएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा पनि सहयोग र समन्वय जारी रहने उनको भनाइ छ । सम्झौताअनुसार सशस्त्रले अहिले सञ्चालन गरिरहेको दुई पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थानमा गरी कुल १७ स्थानमा चार्जिङ स्टेशन सञ्चालन हुनेछ ।
चार्जिङ स्टेशन निर्माणको खर्च प्राधिकरणले ब्यहोर्ने छ । त्यसको सुरक्षा तथा सञ्चालन सशस्त्र प्रहरीले गर्ने सम्झौतामा उल्लेख छ ।
प्राधिकरणसँग विद्युतीय चुलो प्रयोगको सम्झौता
शस्त्र प्रहरी बलका ब्यारेकमा सञ्चालित भान्सा घर (मेस) बाट एलपी ग्यास विस्थापन गर्ने योजना अघ बढाइएको छ । त्यसका लागि सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय चुलो (इन्डक्सन) प्रयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारीपत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङ र सशस्त्रका महानिरीक्षक राजु अर्यालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतासँगै सशस्त्रका ब्यारेकमा सञ्चालित मेसमा प्रयोग हुँदै आएको एलपी ग्यासलाई विस्थापित गर्दै लगिनेछ । अनि क्रमिक रूपमा इन्डक्सन चुलोको प्रयोग गरिनेछ ।
त्यसका लागि प्राधिकरणले विद्युत् खम्बा थप गर्ने, ठूलो क्षमताका ट्रान्सफर्मर राख्नेलगायतका भौतिक पूर्वाधार बनाउने सहमति भएको छ । सशस्त्रका महानिरीक्षक अर्यालले देशभरका सशस्त्र प्रहरी जनशक्तिलाई मेस व्यवस्थापन गर्दा ठूलो मात्रामा ग्यासको खपत हुँदै आएकोमा त्यसको सट्टामा विद्युतीय चुलो प्रयोग गर्न पाउनु अवसर भएको बताएका छन् ।
विद्युतीय चुलोको प्रयोगले सङ्गठनलाई मात्र नभई देशलाई नै फाइदा पुग्ने अर्यालको भनाइ थियो । कार्यकारी निर्देशक घिसिङले भने यसले आन्तरिक रूपमा विद्युत खपत बढाउन सघाउ पुर्याउने बताएका छन् । प्राधिकरणले केही समयदेखि आन्तरिक रूपमा विद्युत् खपत बढाउन पहल र प्रयास गर्दै आइरहेको छ ।
सशस्त्र प्रहरी बलका देशभर आठ बाहिनी, ४४ गण, ४४ गुल्म, २२२ बीओपी, १४ तालिम केन्द्र छन् । प्रत्येक कार्यालयमा तीन वटासम्म मेस सञ्चालित छन् । खाना पकाउन प्रयोग हुने ग्यासमा वार्षिक झण्डै ४० करोड बराबरको खर्च हुने गरेको छ ।