- किशोर नेपाल
मेरा अत्यन्त प्रिय र आत्मीय मित्र हुन् मीनेन्द्र रिजाल । प्रजातन्त्र प्राप्तिका लागि भएका आन्दोलनहरूमा हामीले सँगै काम गरेका हौँ । त्यो आन्दोलनलाई मध्यवर्ती भागतिरै छाडेर विद्यार्थी नेता मीनेन्द्र रिजाल र अर्का विद्यार्थी नेता प्रकाशशरण महत अमेरिकातिर लागे शिक्षा आर्जनका लागि ।
नेपाली राजनीतिका सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको जन–आन्दोलनले देशमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनस्थापना गर्यो । त्यसको केही समयपछि उनीहरू नेपाल फर्किएः डा. मीनेन्द्र रिजाल र डा. प्रकाशशरण महतका रूपमा । यी दुवै नेता शेरबहादुर देउवाका निकट मानिन्थे त्यतिखेर ।
राजनीतिमा मीनेन्द्र प्रखर थिए । पूर्वी नेपालको कुलीन रिजाल परिवारका सदस्य मीनेन्द्र र नुवाकोट जिल्लाका सम्पन्न महत परिवारका प्रकाशलाई कांग्रेसको राजनीतिमा ‘एडजष्ट’ हुन त्यति कठिन भएन । रहँदा बस्दा प्रकाश शरण आफना दाजु रामशरण महतको राजनीतिबाट टाढिए भने मीनेन्द्र शेरबहादुर देउवाको समूहबाट अलग्गिए ।
मीनेन्द्र र प्रकाश, दुवैको राजनीति अप्ठेरोमा फलेको फर्सी जस्तो थियो । मीनेन्द्रको कर्मक्षेत्र मोरङमा आचार्य र कोइरालाका रूपमा चुनौतीका चाङ थिए भने प्रकाशका लागि आफ्नै दाजु रामशरण महत र निर्दलीय पञ्चायत र बहुदलीय प्रजातन्त्रकालमा समेत ‘अपरिहार्य’ बनेका अर्जुननरसिंह केसी र उनका भाइहरूको सामना गर्नु सजिलो थिएन ।
योपटक मीनेन्द्रले संसदीय टिकट पाएनन् । प्रकाशले समानुपातिकमा सुरक्षा खोजे । उनले नुवाकोटको राजनीतिमा अर्जुननरसिंहको अपरिहार्यतालाई स्वीकार गरे । मीनेन्द्रको टिकट सुजाताले खोसिन् । उनको एक मात्र योग्यता स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाकी छोरी हुनु हो ।
संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको समयमा होस वा त्यसपछि– डा. मीनेन्द्र र डा. प्रकाश दुवैको राजनीतिक खुबी देखिएन । समयको एक सीमासम्म डा. मीनेन्द्र रिजाल शेरबहादुर देउवासँग थिए । त्यसपछि, उनी सुशील कोइरालाको पछि लागे । डा. प्रकाशशरण महतले शेरबहादुर देउवाको साथ अहिलेसम्म छाडेका छैनन् ।
यी दुवै नेतामा अनन्त राजनीतिक सम्भावना थिए । अमेरिकामा पढेका र पढाएका । देशमा राजनीति गरुन्जेल दुवै जुझारु थिए । अझ मीनेन्द्र त बीपी कोइरालाका पनि प्रिय थिए । यी दुवै नेतामा सम्भावना पूर्ण भएर पनि साहसको अभाव थियो । दुवैले न त पार्टी, सरकार र व्यवस्थामा सुधारका लागि दबाब सिर्जना गर्न सके न त राजनीतिक सुविधा लत्याउने आँट नै गरे । अन्ततः उनीहरूको आँखाअगाडि माओवादी आन्दोलन चर्कियो । यसको सामना र समाधान गर्ने साहस मीनेन्द्र र प्रकाशले मात्रै होइन, अरु युवा नेताले पनि देखाउन सकेनन् ।
देशको अवस्था अहिले पनि उस्तै छ । फरक यत्ति हो कि अहिले राजतन्त्र छैन । सेना, पुलिस, साहू, महाजन, कर्मचारी र कुलीनतन्त्रको हैकम र दबदबा उस्तै छ । हामी यस्तो गणतन्त्रमा छौँ जहाँका नेता भनाउँदाहरूले गणतन्त्रको महत्त्व नै बुझेका छैनन् । उनीहरू कुलीन वर्गको कमाराको हैसियतमा रहेका छन् ।
साँच्चै भन्ने हो भने, अहिले कांग्रेस, माओवादी र कम्युनिष्टका नेताहरू राजनीतिमा आफूले गरेको लगानी उठाउँदैछन् । एकथरि कम्युनिष्टले त पञ्चायतकालदेखि नै राजतन्त्रबाट प्राप्त सुविधाको उपभोग गरेका हुन् । समाजवादी चिन्तक प्रदीप गिरि भन्ने गर्नुहुन्थ्यो, ‘अहिलेको समय लिंगोदर सभ्यताको समय हो । मानिस आफनो लिंग र उदरको चिन्तामा डुबेको छ ।’
जे होस्, मीनेन्द्रले टिकट पाएनन् । व्यक्तिगत हिसाबले मलाई यसमा दुःख लागेको छ । मन पनि खिन्न छ । उनले टिकट पाएको भए पनि गर्न त केही सक्दैनथे । कहिलेकहीँ संसदको रोष्ट्रममा उभिएर दुइचार कुरा सुनाउथे । त्यत्ति हो ।
दुःखको कुरा हाम्रो पुस्ताले लोकतन्त्र पुनर्स्थापनाको त्यति लामो लडाइ लड्यो । यो लडाइमा सयौँ साथीहरू शहीद भए । तर, देशमा चाहिएको जस्तो गुणात्मक परिवर्तन भएन । यो नै दुःखद कुरा हो ।
तिमी के भन्छौ मीनेन्द्र ?