काठमाडौं । धेरैलाई सफल उद्यमी बन्ने सोच र रहर हुन्छ । आफ्नो उक्त सोच र रहरलाई कतिपयले लक्ष्य बनाएर कडा मेहनत गरी सफलता प्राप्त गर्दछन् भने कतिपय लक्ष्य पूरा गर्न असफल हुन्छन् ।
सानो लगानीबाट व्यवसाय सुरु गरी सफल उद्यमी बनेका उदाहरणहरू प्रशस्तै पाइन्छ । त्यसकारण उद्यमी बन्नका लागि पहिले नै करोडौं लगानी गर्नुपर्छ भन्ने होइन । यद्यपि, उद्यमको आकार र त्यसको उत्पादनले त्यसमा कति लगानी हुन्छ भन्ने कुरालाई प्रभावित बनाउँछ ।
नेपालमा पनि केही यस्ता उद्यमहरू छन् जो सानो लगानीमै सुरु गर्न सकिन्छ । विस्तारै उत्पादन र बजारीकरण बढ्दै जाँदा त्यसको लगानी बढाउँदै जान सकिन्छ ।
भनिन्छ कुनै पनि पेसा व्यवसाय या काम सानो या ठूलो हुँदैन । कडा मेहनत, इमान्दार प्रयास र लगनशीलताले कुनै पनि उद्योगीलाई सफलता बनाउँछ । अर्कातर्फ तपाईंले कडा परिश्रम र मेहनत गरेर मात्रै सफलता पाउने होइन । त्यसका लागि तपाईंले गर्न चाहेको उद्यमका बारेमा ज्ञान, त्यसको सम्भावना र बजारका बारेमा पनि तपाईंले विस्तृत रुपमा अध्ययन र मनन गर्नुपर्ने हुन्छ ।
यसो नगरिएको खण्डमा तपाईंले गरेको लगानीले प्रतिफल दिने होइन लगानी नै डुब्ने खतरा पनि रहन्छ । त्यसैले कुनै पनि उद्यममा लागनी गर्नुपूर्व त्यसका जानकार र विज्ञसँग पर्याप्त छलफल गर्नुपर्ने हुन्छ ।
यसरी सानै लागनीमा उद्यम सुरु गर्न चाहनेका लागि यी तपाईंका सम्भावित विकल्प हुन सक्छन् । तर, कुनै पनि व्यवसायमा तपाईंको रुचि हुनु आवश्यक छ । र, त्यससम्बन्धी ज्ञान हुनु पनि उत्तिकै आवश्यक छ । सोहीकारण यी व्यवसायका बारेमा पर्याप्त जानकारी लिएर सबै कुरा बुझेर लगानी गर्नुभयो भने तपाईंले सफलता पाउने सम्भावना रहन्छ ।
आज हामी सानो लगानीमै सुरु गर्न सकिने उद्यमका बारेमा चर्चा गर्नेछौँ ।
चाउमिन बनाउने मेसिन
चाउमिन नेपालको लोकप्रिय खाजा हो । तपाईंले पनि पटक-पटक चाउमिन खानुभएको होला । चाउमिन खाँदै गर्दा कहिल्यै सोच्नुभएको थियो कि धेरै ठूलो लगानी नगरी चाउमिन बनाउने मेसिन खरिद गर्न सकिन्छ भनेर ?
सुरुमा तपाईंले चाउमिन बनाउने मेसिन खरिद गरेर घरैमा बसीबसी चाउमिन तयार पार्न सक्नुहुन्छ । आफूले त्यसरी तयार पारेको चाउमिन तपाईंले होटल तथा पसलहरूमा सम्पर्क गरेर बजारीकरण भने गर्नुपर्ने हुन्छ ।
पास्ता बनाउने मेसिन
चाउमिन जस्तै पास्ता पनि लोकप्रिय खाजा हो । पास्ता बनाउने व्यवसाय सुरु गर्न पनि धेरै ठूलो लगानी चाहिँदैन । सानो लगानीमै पास्ता बनाउने व्यवसाय सुरु गर्न सकिन्छ । मेसिनले बनाएको पास्ताको बजारीकरण गरेर तपाईंले सानो लगानीबाटै आफूलाई उद्यमीका रूपमा स्थापित गराउन सक्नुहुन्छ । तर, उद्यमी बन्न सहज भने छैन । यसका लागि तपाईंको धैर्यता, कडा मेहनत र परिश्रम आवश्यक पर्छ ।
ससेज बनाउने मेसिन
सानो लगानीमा ससेज बनाउने मेसिन खरिद गरेर पनि तपाईंले आफ्नो उद्यम यात्रा सुरुवात गर्न सक्नुहुन्छ । ससेज मासुको परिकारबाट बन्ने खानेकुरा हो । ससेज बनाउँदा अधिकांश मासुको मात्र प्रयोग हुने गर्दछ ।
मेसिन खरिद गरेर ससेज बनाएपछि त्यसको बजारीकरण गरेर उत्पादन बढाउँदै उद्यमी बन्ने यात्रामा आफूलाई उभ्याउन सकिन्छ । तर, यसका लागि पनि कडा मेहनत र परिश्रमको आवश्यकता पर्दछ ।
टुथपिक बनाउने मेसिन
प्रायः शहरका होटल तथा रेस्टुराँमा टुथपिकको राम्रै खपत हुन्छ । अहले टुथपिक व्यक्तिहरूले आफ्नो घर तथा रुममा पनि प्रयोग गर्ने गरेक छन् । टुथपिकको प्रयोग बढ्दै जानु भनेको यसमा पनि उद्यमको सम्भावना छ भन्ने पनि हुन्छ ।
त्यसैले तपाईंले पनि टुथपिक बनाउने मेसिन खरिद गरी यसको व्यवसाय सुरु गर्न सक्नुहुन्छ । टुथपिक बाँस तथा अन्य काठको प्रयोग गरेर पनि बनाउन सकिन्छ । यसबारे व्यवसाय गर्न चाहनेले राम्रोसँग बुझेर बजारको अध्ययन गरी लगानी गर्न सकिन्छ ।
दुना टपरी बनाउने मेसिन
नेपाली समाजमा दुना टपरीको माग हुने गरेको छ । धार्मिक कार्यका साथसाथै पछिल्लो समय होटल तथा रेस्टुराँमा पनि यसको प्रयोग हुने गरेको छ । त्यसैले यसको उद्यम पनि गर्न सकिने सम्भावना हुन्छ ।
मेसिन खरिद गरेर दुना टपरीको बजार हेरी तपाईंले यससम्बन्धी उद्यम सुरु गर्न सक्नुहुन्छ । साथै यसको कच्चा पदार्थको उपलब्धता कहाँबाट र कसरी गर्ने भन्नेबारेमा पनि तपाईंले जानकारी लिनुपर्ने हुन्छ । नजिकको वन कार्यालयबाट कच्चा पदार्थको उपलब्धताका बारेमा जानकारी लिन सकिन्छ ।