काठमाडौं । हालै पाकिस्तानको राष्ट्रपतिमा पुनरागमन गरेका आसिफ अली जरदारीले आफ्नी छोरी आसिफा भुट्टो जरदारीलाई प्रथम महिला (फर्स्ट लेडी) घोषित गरे ।
सामान्यतया कुनै पनि देशको राष्ट्रपति या प्रधानमन्त्रीकी पत्नीलाई फर्स्ट लेडीका रूपमा मान्यता दिइँदै आएको छ । र, यही अभ्यास अहिले विश्वका अधिकांश देशरूमा कायम छ । तर, राष्ट्रपति जरदारीले उक्त पदका लागि आफ्नी छोरी रोजेपछि भने यसबारे चासो बढेको छ ।
जरदारीकी पत्नी तथा पाकिस्तानकी पूर्पप्रधानमन्त्री बेनजिर भुट्टोको सन् २००७ मा हत्या भएको थियो । उनी पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । जरदार सन् २००८ मा पनि राष्ट्रपति बनेका थिए । त्यतिबेला सन् २०१३ सम्म राष्ट्रपति रहेका जरदारीले त्यसबेला भने आधिकारिक रूपमा कसैलाई पनि फर्स्ट लेडी घोषणा गरेका थिएनन् ।
तर, हालै पाकिस्तानको १४औँ राष्ट्रपति बनेका जरदारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । त्यसपछि उनले आफ्नी कान्छी छोरी आसिफा भुट्टोलाई फर्स्ट लेडी घोषणा गरेका हुन् । आफ्नी आमा भुट्टोको हत्या हुँदा आसिफा १४ वर्षकी थिइन् । अहिले उनी ३१ वर्षकी भएकी छन् ।
छोरीलाई फर्स्ट लेडी बनाउने जरदारीको निर्णयमाथि पाकिस्तानमा पनि प्रश्न उठेको छ । तर, कतिपयले भने उनको यो अधिकारको कुरा भएको र कानुनतः छोरीलाई फर्स्ट लेडी बनाउन नपाइने कुरा उल्लेख नभएको तर्क पनि गरेका छन् ।
बीबीसीका अनुसार पाकिस्तानका एक कानुनी जानकारले राष्ट्रपतिले परिवारका कुनै पनि महिला सदस्यलाई फर्स्ट लेडी बनाउन सक्ने बताएका छन् । यसबारेमा कानुनले कुनै रोक नलगाएको उनको तर्क छ ।
यो निर्णयसँगै आसिफाले फर्स्ट लेडीले पाउने सुविधा पनि पाउनेछिन् । उनी पाकिस्तानकि सबैभन्दा कम उमेरमा फर्स्ट लेडी बन्ने महिला पनि बनेकी छन् ।
पछिल्लो समय उनी राजनीतिक अभियानहरूमा पनि संलग्न हुन थालेकी छन् । सन् २०२० मा एक र्यालिमा सहभागी भएयता उनको राजनीतिक सक्रियता बढेको छ ।