लिम्बुवानको नाउँ ठूलो
खानु के छ ? गाउँ ठूलो ।
लिम्बुवानको ऐतिहासिक थातथलोमा भनिने, सुनिने गरिएको यो चल्तीको लोक भाका हो । नेपालको आधुनिक स्वरूप बन्नु अघिदेखि र वर्तमानमा पनि यो भाका चलनचल्तिमै छ । तर गएको साल फागुन महिनाको दोस्रो साता प्रदेश १ को ‘कोशी’ नामाकरण गरिएपछि माथिको भाकाअनुसार नै लिम्बुवानले यही भाका खप्न अभिशप्त छ ।
लिम्बू जातिसँग सम्बन्धित लिम्बुवान राज्य ऐतिहासिक तथा पुरातात्विक महत्त्वको अनुसन्धानको विषयमा सीमित हुँदै गएको छ । हरेक पटकको राष्ट्रिय राजनैतिक आन्दोलनमा यो विषयले प्रवेश पाउने र राज्यको संरचना निर्माण हुँदा निषेध हुने यसले नियति भोग्दै आएको छ । दश वर्षे जनयुद्ध त्यसैको जगमा भएको दोस्रो जनान्दोलनपछि प्रस्तावका रूपमा पहिलो संविधानसभाको विषयगत समितिमा आंशिक संवैधानिक मान्यता पायो । र, सरकारसंगको सम्झौतामार्फत कानुनी मान्यता पनि पायो । तर जसै समय घर्कियो, पहिलो संविधानसभा विघटन भएर दोस्रो संविधानसभाको गठन र त्यसले संविधान निर्माण गर्दा यो विषय नेपथ्यमा पुग्यो ।
यतिखेर लिम्बुवानको यो विषय पूर्व कोशीमा सीमित क्षेत्रीय पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान प्रान्तीय मञ्चलगायत केही संगठन र लिम्बू जातीय सामुदायिक संस्था किरात याक्थुङ चुम्लुङले मात्र उठाउँदै आएको छ । त्यसमा पनि लिम्बुवान पछाडि ‘किरात’ फुर्को जोडेर अर्थात ‘लिम्बुवान किरात’को नाममा । यसका अतिरिक्त पार्टीले लिम्बुवानको मुद्दा छायाँ भाषामा मात्र उठाउँछन् । यसैले लिम्बुवानको चौविस थुममा गाइने माथिको पालाम (एक शैलीको लिम्बू गीत) जस्तै भएको छ यतिखेर लिम्बुवानको मुद्दा ।
लिम्बू र लिम्बुवानः
करिब दुईसय वर्षअगाडि इतिहासकार कर्नेल कर्क पेट्रिकले ‘द अकाउण्ट अफ द किङ्डम अफ नेपाल’ नामको आफ्नो पुस्तकमा नेपालको पूर्वी भागमा लिम्बू जनजातिको बसोबास भएको उल्लेख गरेका छन् ।
नेपाली शब्दकोशले लिम्बू जातिलाई लिम्बुवानमा बस्ने एक किरात जाति र ‘लिम्बुवान’ दीर्घकालदेखि लिम्बू जातिको स्थाई बसोबास भएको कोसी, मेची अञ्चलको पहाडी क्षेत्र भनेर परिभाषा गरेको छ ।
यसअघि लिम्बू र लिम्बुवानको विषयमा लिखितम केही पनि थिएन । कुनै ऐतिहासिक अभिलेखको बिना पनि लिम्बू जातिको भाषिक, सांस्कृतिक निरन्तरताको जोगाडलाई एउटा ऐतिहासिक मिसाल नै मान्नु पर्छ । यतिका वर्षपछि पनि तिनको थातथलोको पहिचान हराएको छैन ।
जातीय ऐतिहासिक पृष्ठभूमिको यो पहिचान नेपालको राष्ट्रिय राजनैतिक आरोह अवरोहमा पछिल्तिर धकेलिएको छ । करिब अढाइ सय वर्षदेखि लिम्बुवान घुम्दैफिर्दै रुम्झाटार मात्रै हुने क्रममा छ ।
हड्सन पाण्डुलीपीः
अर्का इतिहासकार एच. हड्सनले सन् १८७४ मै आफ्नो पाण्डुलिपि पुस्तकमा लिम्बू र लिम्बुवान शब्दको प्रयोग गरेका थिए । त्यो पुस्तकमा लिम्बूहरूले आफूहरूलाई ‘याक्थुङबा’ भन्ने तर खस पर्वतेहरूले ‘लिम्बू’ भन्ने गरेको उल्लेख गरेका छन् । खस पर्वते भन्नाले गैरलिम्बू वा अहिलेको भाषामा आर्यमुलका क्षेत्री, बाहुन, दलित, दशनामी भनेर बुझ्नु पर्छ ।
हड्सनको यो भनाइलाई मिथ्या नसम्झने हो भने त्यस क्षेत्रमा गैरलिम्बूको प्रवेश पृथ्वीनारायण शाहले नेपालको यो स्वरूपको विस्तार नगर्दै लिम्बुवानमा उनीहरूको प्रवेश भैसकेको थियो कि भन्ने जिज्ञासा उठाउँछ । खैर नेपालको यो स्वरूप बने यता र खासगरी विसं २०२१ सालको भूमिसुधारले किपट प्रथाको उन्मुलन भएपछि गैरलिम्बूको यो क्षेत्रमा प्रवेश हुनुलाई सामान्य अर्थमा लिन सकिन्छ ।
लिम्बूको अर्थ धनुर्धारीः
केही इतिहासकारले लिम्बू जातिलाई धनुर्धारी भन्ने गरेका छन् । ई.पू. ६०० तिर आसामतिरबाट आएका सानमकवानवंशी तीन पुरोहित सहित सात धनुर्धारीहरू प्रवेश गरेर आठ सामन्त किरात हाङ राजाको राज्य (खम्बुवान ?) फेदाप कब्जामा लिइ लिम्बुवान राज्य स्थापना गरेको दाबी गरेका छन् ।
चिनिया भाषासँग सम्बन्धित लिम्बू शब्दको अर्थ धनुर्धारी हुन्छ । धनुकाँडको मद्दतले फेदाप राज्यमा विद्रोह गरी राज्य स्थापना गरेकाले राज्यको नाम लिम्बुवान र लिम्बू जातिको जन्म हुन गयो भनिन्छ ।
लिच्छवीपछि लिम्बूः
अर्काथरी इतिहासकारका अनुसार ई.सं ४ मा योक्नेहाङ नामका किरात राजाले नेपाल खाल्डोमा शासन गरिरहेको बेला लिच्छवि वंशका भूमि वर्माले आक्रमण गरी उनलाई पराजित गरे । उनै योक्नेहाङले साँगापूर्व बनेपामा राजधानी सारे । योक्नेहाङपछि लिलिमहाङले राज्यसत्ता सम्हाले ।
लिच्छविको बारम्बारको आक्रमणपछि सहोदर भाइ खाम्सोसोहाङलाई राजधानी सार्ने प्रस्ताव राख्दा उनले प्रस्ताव अस्वीकार गरे । त्यसपछि दाजु लिलिमहाङले खाम्सोसोहाङलाई त्यही छोडी कूल केही हजार कविलाई सेना लिइ सुनकोसीको तिरैतिर अरुणपूर्व हाङसेम्मालुङ्, हाङसामोरोङ, झलारा, बेलहारा हुँदै तावालुङ, सुसुवादेन ताक्लुङमा पुगे । यो स्थान सामरिक महत्त्वको भएकोले यहीँ राजधानी बनाए । लिम्बुवानको पहिलो ऐतहासिक राजधानी यही थियो ।
लिम्बुवान किरात वा किरात, नामाकरण वा साझा, संयुक्त नामाकरणको प्रस्ताव नहुँदा राजनैतिक खेलोफड्को भैरहने परिदृश्य देखिएको छ ।
लिलिमहाङ्ले स्थापना गरेको यही राज्य लिम्बुवान भयो र उनका अनुयायीहरू लिम्बू हुन पुगे भनिन्छ । लिच्छविले नेपाल खाल्डोमा शासन गरिरहेका किरातहरूलाई विस्थापित गरेको सन्दर्भपछि कालान्तरमा लिम्बू जातिको विकास भएको तर्क यसले गरेको छ । यसरी पूर्वतर्फको आसाम तीरबाट आएका धनुर्धारी सानमकवान वंशी र पश्चिम नेपाल खाल्डोबाट गएका किराती वंशीहरूको सम्मिलन नै लिम्बू जाति र लिम्बुवान राज्यको भ्रुण थियो की भन्ने आंशिक अभिलेख पाइन्छ ।
विद्रोहपछि लिम्बूः
स्व. इमानसिं चेम्जोङले पनि आठ किरात राजा र १० चिनिया सरदारको विद्रोहमार्फत् लिम्बू जातिको उदय र लिम्बुवान राज्यको गठन भएको उल्लेख गरेका छन् ।
सातौँ शताब्दीमा राजा मावोरोङले दूधकोसी र मेचीबीचको भूभागमा लिम्बुवान राज्य स्थापना गरे । सन् १३७४ मा राजा साइलाइङको समयमा लिम्बुवान राज्यको सिमाना उत्तर तिब्बत, दक्षिण भारत पुर्णिया जिल्लाको जलालगढ (जसको अवशेष अझै छ ) १८ औँ शताब्दीमा लिम्बुवान पूर्वमा टिष्टा (पश्चिम सिक्किम) उत्तर तिब्बत, दक्षिण भारतको बिहार र पश्चिम अरुण नदीसम्म फैलिएको थियो ।
नश्ल र भाषाः
नेपालको समाजशास्त्रीय र मानवशास्त्रीय अध्ययनले चार नश्ल र चार भाषा परिवारका असंख्य जाति समुदाय नेपालमा बस्ने गरेको उल्लेख गर्दै आएका छन् । चार नश्लहरू मंगोल, आर्य, अष्ट्रो र द्रबीड हुन् ।
यसरी नै चार भाषा परिवारहरूमा भोट–बर्मेली, भारोपेली, अष्ट्रो र द्रबीड परिवारका छन् । लिम्बू मंगोल नश्लको भोट–बर्मेली भाषा परिवारको ‘याक्थुङ पान’ भाषा बोल्ने नेपालको प्रमुख आदिवासी जनजाति हो । नेपालको कूल जनसंख्यामा यसले दुई प्रतिशतभन्दा केही कम जनसंख्या ओगटेको छ ।
लिम्बुवानको पतनः
सन् १७७४ सम्म लिम्बुवान स्वतन्त्र रज्य थियो । गोरखाका राजा पृथ्वीनारायण शाहले पटक–पटक हमला गर्दा पनि नजिते पछि उनले लिम्बुवानका केही थुमे राजालाई आफ्नो पक्षमा पारे ।
पृथ्वीनारायण शाहविरुद्ध विजयपुरका राजा बुद्धिकर्ण रायले भने विद्रोह गरे । त्यसको केही समयपछि उनको षडयन्त्रमूलक ढंगले गोरखाली सेनाले हत्या गर्यो । राजा पृथ्वीनारायण शाहले वि.सं १८३१ साउन २२ गते एकतर्फी ‘इस्तिहार’ (लालमोहर) नुनपानी सन्धि जारी गरी लिम्बुवान नेपालमा विलय भएको घोषणा गरे ।
भनिन्छ यो घोषणापछि ३२ हजार लिम्बूहरू लिम्बुवानको स्थापनाको लागि विदेशिए । इ.सं. १८१६ को सुगौली सन्धिपछि लिम्बुवानको पूर्वी सीमाना टिष्टा (पश्चिम सिक्किम) र दक्षिणको अधिकांश भूभाग गुम्यो । लिम्बुवान तीन फ्याक भइ नेपाल, सिक्किम र दार्जिलिङ (भारत) मा विभाजन भयो । सुगौली सन्धिसंगै लिम्बुवानको ताकतको पनि पतन भयो ।
रहलपहलः
एक वर्षअघि लिम्बुवान र किरात जातिसम्बद्ध ऐतिहासिक थलो प्रस्तावित एक नं.प्रदेशलाई प्रदेशसभाले कोशी नामाकरण गर्यो । नामाकरणसंगै लिम्बू जातीय संस्था कियाचु, राई जातीय संस्था किरात राई यायोक्खा र अन्य आदिवासी जातीय संस्थाले नामाकरण विरोधी अभियान र आन्दोलन गर्दै आएका छन् ।
आन्दोलनकै क्रममा लाजेहाङ लिम्बू शहादत भए । प्रदेश सरकारसंग एकाध चरण वार्ता पनि भयो । तर निकासको कुनै बिन्दू भेटिएको छैन ।
आन्दोलनरत संयुक्त संघर्ष समितिसंग कुनै एउटा नाममा मतैक्यता पनि छैन । यसरी एक नं. प्रदेशको राष्ट्रियता यतिखेर बिलखबन्दमा छ ।
लिम्बुवान किरात वा किरात, नामाकरण वा साझा, संयुक्त नामाकरणको प्रस्ताव नहुँदा राजनैतिक खेलोफड्को भैरहने परिदृश्य देखिएको छ । यसैले लिम्बुवानको राजनैतिक आन्दोलनले आठौं प्रदेश लिम्बुवानलाई आत्मसाथ गर्ने मेलो झिकेको छ ।
यहाँसम्म त ठीकै छ । तर, ग्रेटर लिम्बुवान, ग्रेटर गोर्खालेण्ड वा किरात देशको माग बढेर जाँदा नेपालको वर्तमान स्वरूपमा अर्को ‘सुगौली’ थपिन बेर छैन ।
[email protected]