राजाको अगाडि बाबु बैरी
उहिले नै उहिले धेरै नै पहिलेको कुरा हो । राजा त्रिभुवनको मृत्युपछि उनका छोरा महेन्द्र राजा भए । राजा महेन्द्रले राज्याभिषेक गरेपछि देशाटन गर्ने मनसुवा राखे । दरबारका भारदार, चाटुकार, हुक्के, चिलिमे, बैठके सबैले राजाको अगाडि हो मा हो मिलाए । राजाको अगाडि ‘बाबु बैरी’ भने जस्तै नयाँ राजाको कुरो काट्ने हिम्मत नहुनु अस्वाभाविक थिएन । राजाले सवारी चलाउने उर्दी कसे ।
हात्ती घोडा, बन्दुक बन्दोबस्तीको समान तयार भयो । भोलिपल्ट बडा गुरुज्यूलाई बोलाएर सवारी चलाउने साइत हेराइयो । राजाको मनसुवा बुझेका चलाख राज ज्योतिषीले तुरुन्त साइत निकाले । राजाले उपत्यका पूर्व घुम्ने इच्छा थाहा पाएकाले उतैतर्फको सवारी उपयुक्त हुने साइत परेको जोग निकाले ।
राजा महेन्द्रको लावालस्कर निस्कियो । चार भञ्ज्याङको बाटो भएर चारकोशे झाडीमा सिकारको मनोरञ्जन लिँदै सप्तकोशीपूर्वको पल्लो किरातको पहाडतिर टोली हान्नियो । राजा महेन्द्रलाई पल्लो किरातको स्वायत्तता अन्त्य गरेर राजतन्त्रको केन्द्रीय सत्तालाई अरु मजबुत बनाउनु थियो । तर, पल्लो किरात पुगेपछि राजा थोरै निरास भए । तैपनि आफ्नो अभियानलाई उनले जारी राख्ने विचार गरे ।
किरातीहरू सबै लाखापाखाः
गण्यमान्य किरातीहरू परिवर्तनको पक्षमा लागेका थिए । राणाविरोधी आन्दोलनमै हतियार उठाएर सहभागिता जनाएका किरातीहरूले महेन्द्रलाई सघाउने कुरै भएन । फेरि पल्लो किरातको किपट व्यवस्थाविरुद्ध जाने किरातीहरूको साहस नहुनु स्वभाविकै थियो ।
राणाकालीन समयमा कज्याइएका किरातीहरूको जनाधार उस्तो थिएन । तैपनि काम चलाउ सहयोगीको खोजीमा महेन्द्र थिए । उनले पल्लो किरातको गाउँ चाहार्दै केही किरातीलाई आफ्नो पक्षमा पार्ने मनसुवामा लागे । यसमा पछि सफलता हासिल पनि गरे । तर त्यो कथाको प्रसंग बेग्लै ठाउँमा आउँछ ।
ढुंगा खोज्दा सिलाजितः
यस्तै अभियानमा पल्लो किरातमा थातथलो खुलेका एउटा किराती भेटे । तिनको चलाखी देखेर महेन्द्रले सिधै हुकुम प्रमाङ्गीमार्फत उनलाई कानुनी फाँटको जिम्मेवारी दिए । तिनै किरातीलाई कज्याउँदै उनले न्यायाधीशमा पदोन्नति गरिदए । राजा महेन्द्र र किराती दुवै पात्र एक अर्कालाई ढुंगा खोज्दा सिलाजित भेटे जस्तै भयो ।
गढी डाँडामा अदालतः
समय वित्दै गएको थियो । हालको सिन्धुली जिल्लाअन्तरगतको सिन्धुलीगढी तत्कालीन समयको हालको जनकपुर अञ्चलको पहाडी भू–भागको प्रमुख प्रशासनिक केन्द्र थियो । त्यो प्रशासनिक केन्द्रमा अदालत पनि थियो । त्यही अदालतको मूख्य न्यायाधीशमा ती किराती सरुवा भै गएका थिए ।
उनी कार्यरत रहेकै बेला ओखलढुङ्गाको एउटा चरन खर्कमा एकजना बाहुन र अर्का मुखिया (गुरुङ) को स्वामित्वलाई लिएर झगडा मच्चिएछ । झगडा नमिलेपछि अदालतमा मुद्धा मामिलाको रुप लियो । वर्षौंदेखि आफैँले हकभोग गर्दै आएको जग्गाबाट बेदखल हुने देखेपछि गाउँकै जान्ने बुझ्ने बाहुनसँग सल्लाह लिन मुखिया पुगेछन् । ती चलाख बाहुनले न्यायाधीशलाई घुस खुवाउन सके मुद्धा जितिने सल्लाह दिएछन् । मुखियासँग भेडा च्याङग्राबाहेक घुस खुवाउने नगद नारायण थिएन ।
तिनै बाहुनले कोठाभरी ढाक्ने राडी न्यायाधीशलाई दिए मुद्धा जित्ने सल्लाह दिएछन् । मुखियाले पनि गजबको ठूलो राडी बुनेर न्यायाधीशलाई टक्र्याउन गढी अदालत पुगे । राडी लिँदै न्यायाधीशले पनि गदगद हुँदै मुद्धा जिताइ दिने अश्वासन दिए । यसरी ढुक्क भएर गुरुङ खर्क फर्किए ।
उता चलाख बाहुनसँग सल्लाह लिन अर्का झगडिया पनि तिनकैमा पुगेछन् । बाहुनसँग पनि नगदनारायण थिएन । तिनै चलाक बाहुनले दुहुना गाई न्यायाधीशलाई दिए मुद्धा जित्ने सल्लाह दिएछन् । झगडिया बाहुनले न्यायाधीशलाई लैनो गाई टक्र्याए । मुद्धा चल्यो तर फैसला लैनो गाई बुझाउने बाहुनले जिते ।
यो कुरा थाहा पाएपछि गुरुङ खर्कबाट सिधै गढी अदालत पुगे र तिनै न्यायाधीशलाई भेटेर भने, ‘कसरी मुद्धा हारियो मैले त राडी टक्र्याएको थिएँ । हजुरले जिताइ दिन्छु भनेर ढुक्क पार्नु भएको थियो ।’ यता न्यायधिसले रौबकासाथ भनेछन्, ‘हेर मुखिया गाईले राडी खायो ।’
मुखिया त्यहीँबाट निरास हुँदै खर्क नफर्की मुङलान भास्सिए । एउटा जनजातिको तेजोबध यसरी भयो । यही कथा सुनेका गाउँलेले यो कथालाई गीतमा ढाले । आजपनि यो गीत सिन्धुली, रामेछाप र ओखलढुङ्गाका गाउँघर मेलापातमा सुन्न सकिन्छ । गीत यस्तो थियोः
रामेछापको डाँडैडाँडा भर्यो पुलिस दाइले
गढी डाँडा अदालतमा राडी खायो गाईले ।
अर्का जनजातिको व्यथाः
राजाको हुकुमबाट अदालत छिरेका तिनै न्यायाधीशले आफ्नो अर्दली बनाउन माझ किरात थातथलो भएका तर अरुणपूर्व बसै सरी गएका एकजना किराती युवकलाई आफ्नो बसमा पारेछन् । उनकै बसमा परेर ति युवक पनि जागिर लगाइदिने सर्तमा न्यायाधीशको सेवा चाकरीमा उनीसँगै गए ।
रहँदा बस्दै जाँदा उनको जिवन यतिकै सेवा चाकरी मै वित्दै गयो । जागिर भएपछि घरजम बसाउने मिठो सपना बुन्दै जिवन ‘कुमारै’ विताउँदै गए । धेरै समयपछि न्यायाधीशले अवकास पाए । ती किरातीको सपना भताभुङ्ग भयो । युवक किरातीको बैंशालु उमेर पनि ढल्किदै गएको थियो । केही नलागेपछि उनी पनि न्यायाधीशसँगै उनकै घरदलानको बाटो तिर लागे । अरुणपूर्वको पहाडी भूभाग छिचोल्दै न्यायाधीशको गाउँनेर आइपुगेपछि न्यायाधीशलाई सुरक्षार्थ दिएको बन्दुकमा किरातीले बारुद भरे ।
न्यायाधीशले के गरेको भनेर सोद्धा बाटोमा जंगली जनावरले आक्रमण गर्ला भनी बारुद भरेको भनेर आश्वस्त बनाए । केही पर पुगेपछि न्यायाधीशलाई पछाडिबाट ताकेर बन्दुकको टिगर दवाए । न्यायाधीशको इहलिला त्यहीँ समाप्त भयो । घरसम्म पुग्न पाएनन् । अर्दली किरातीले प्रहरीसमक्ष आत्मसमर्पण गर्दै आफ्नो बयान दिए । जेलमै उनको पनि इहलिला समाप्त भयो ।
आफ्नो भोगचलनको खर्कको झगडाले गुरुङ मुङलान भास्सिए । उनको कुनै अत्तोपत्तो भएन । न्यायाधीशको इहलिला आफ्नै अर्दलीबाट समाप्त भयो । अर्दली किरातीको जेलबासमै जीवन गयो । यो कथा सुनेका उतिबेलाका ओखलढुङ्गा घर भएका प्रगतिशील गीतकार, गायक तथा संगीतकार रामेश श्रेष्ठले गीत बनाए ।
बाहुनको छोराले बाहुनकै छोरालाई ठग्छ
जनजातिको छोराले जनजातिकै छोरालाई ठग्छ
वर्गीय समाजमा वर्गीय प्रेम मात्रै न्यानो र चोखो हुन्छ ।