काठमाडौं । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २५.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ६९ अर्ब २८ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ जेठ मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १८ अर्व ६५ करोड पुगेको छ ।
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ जेठ मसान्तमा २३ प्रतिशतले वृद्धि भई २२ खर्ब ७४ अर्ब ४७ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ जेठ मसान्तमा ५३.२ प्रतिशतले वद्धि भई २ खर्ब ९४ अर्थ ९२ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार २०८२ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
२०८२ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४२.१ प्रतिशत, १२२.९ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
राष्ट्र बैंकका अनुसार २०८२ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ३९ अर्ब ९८ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको जनाएको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा कुल आन्तरिक कर्जा ३.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.५ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा यस्तो कर्जा ६.० प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २२.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १२.५ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा यस्तो दाबी ७.६ प्रतिशतले घटेको छ ।