काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएको छ । केन्द्रीय बैंकले बैंक दर ०.५ प्रतिशत बिन्दुले घटाएर ६ प्रतिशतमा झारेको छ । यसअघि नीतिगत दर ६.५ प्रतिशत थियो ।
त्यसैगरी नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत बनाइएको छ । केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन दर पनि ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत बनाएको छ ।
त्यस्तै आगामी आवको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि लक्ष्य १२ प्रतिशत लिएको छ ।
अधिक तरलताले ब्याजदर घटेको सहज परिस्थितिमा मौद्रिक नीतिमार्फत लचिलो कार्यदिशा अवलम्बन गरिएको गभर्नर डा. विश्वनाथ पौडेलले बताएका छन् । उनले सुस्त अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याएको उल्लेख गरे ।
मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताए । दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख छ ।
ब्याजदर कोरिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंकदरलाई ६ प्रतिशत र नीतिगत दरलाई साढे ४ प्रतिशत कायम गरिएको छ । यसअघि बैंकदर साढे ६ प्रतिशत र नीतिगत दर ५ प्रतिशत थियो ।
मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण तथा खरिद गर्नका लागि प्रवाह गरिने कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड कायम गरिएको छ । पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा-मूल्य अनुपात ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ ।
व्यक्तिगततर्फको शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याइएको छ । विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा दुई हजार पाँच सय अमेरिकी डलरबाट बढाएर तीन हजार अमेरिकी डलर बनाइएको छ ।
मौद्रिक नीतिको पूर्ण पाठ पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।