काठमाडौं । मंगलबार सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न हुनुअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केही सञ्चारकर्मीहरूसँगको कुराकानीमा भनेकी थिइन्- राजनीतिमा अघि बढिसकेँ, अब पछि हट्दिनँ ।
तर, भण्डरीले त्यसो भनेकै दिन सम्पन्न भएको एमालेको केन्द्रीय कमिटी बैठकले उनलाई राजनीतिमा आउनबाट छेकबार लगाउने गरी निर्णय लिएको छ ।
एमालेको उपाध्यक्षसमेत भइसकेकी भण्डारी राष्ट्रपति बनेसँगै नेकपा एमालेको सक्रिय राजनीतिबाट अलग भएकी थिइन् । राष्ट्रपतिको कार्यकाल पूरा गरेर शितल निवासबाट बाहिरिएसँगै उनले पुनः राजनीतिमा आफ्नो सक्रियता बढाउँदै लगिन् ।

यसबीचमा उनले एमालेको सदस्यता नवीकरण समेत गरेकी थिइन् । अनि उनले खुला रूपमै पनि भनिन्- म अब सक्रिय राजनीतिमा अघि बढेँ, सदस्यता नवीकरण गरिसकेँ ।
तर, उनले गरेको भनेको सदस्यता नवीकरणलाई एमालेले अस्वीकार गरेको छ । मंगलबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको भनाइको सार थियो- भण्डारीको सदस्यता नवीकरण गर्न सकिँदैन ।
त्यसको औचित्य देखाउन एमालेले उनी गणतन्त्रको प्रतीक भएकाले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने तर्क देखाएको छ ।
तर, यो निर्णयमा एमालेकै केही नेताहरूको असहमति रहेको छ । केन्द्रीय कमिटीदेखि स्थायी कमिटी तथा सचिवालय बैठकसम्म भण्डारीलाई एमलेको सक्रिय राजनीतिमा आउनबाट रोक्ने कदमको विरोध हुने गरेको छ ।

तर, एमाले संस्थापनले उक्त निर्णय गराउँदै आएको छ । मंगलबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा पनि भण्डारीलाई एमालेको सक्रीय राजनीतिमा आउनबाट रोक्न नहुने मत राम्रैसँग उठेको थियो । तर, अन्ततः निर्णय सुनाउँदै अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरणमाथि नै प्रश्न उठाउँदै उनी सक्रीय राजनीतिमा आउन नहुने बताए ।
एमालेको केन्द्रीय कमिटीले नै संस्थागत रूपमा सक्रिय राजनीतिमा आउनबाट रोके पछि ‘पछि हट्दिनँ’ भनेकी भण्डारीसँग अब के विकल्प बाँकी रहन्छ ?
यो प्रश्न किन पनि भने उनी सक्रीय राजनीतिमा आउँछु भनेको नै एमालेमा सक्रीय हुन्छु भनेको हो । हालसम्मको अवस्थामा अन्य कुनै पनि पार्टीमा जान्छु या नयाँ पार्टी बनाउँछु भनेको होइन ।
भण्डारी एमालेको सक्रिय राजनीतिमा पुनरागमन हुँदा त्यसले मुख्य रूपमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै चुनौती थप्ने देखिन्थ्यो । उनी एमालेमा सक्रिय हुँद उनले पाउने साथ र सहानुभूति यस्तै परिस्थितिका अन्य नेताभन्दा बढी हुने सम्भावना थियो ।
भण्डारीसँग एमालेकै उपाध्यक्षसम्म रहीसकेको अनुभव र संगठन तथ थियो नै एमालेको मूल सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीसँगको लिगेसी पनि जोडिन्थ्यो । त्यसैले भण्डारीले एमालेमा अपनत्व पाउन धेरै समय पनि लाग्दैनथ्यो ।

भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गर्नका लागि पनि १४ असारलाई चुनिन् । त्यो दिन मदन भण्डारीको जन्मजयन्ती हो । सोही अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमबाट भण्डारीले उक्त उद्घोष गरेकी हुन् ।
त्यसपछि एमाले नेतृत्वमा ओलीमाथि चुनौती बढेको टिकाटिप्पणीहरू हुन थालेका थिए । भण्डारी स्वयंले पनि सक्रीय राजनीतिमा आउनुको अर्थ नेतृत्व नै गर्ने हो भन्दै त्यसलाई बल पुर्याएकी थिइन् ।
तर, दुई कार्यकाल पार्टीको नेतृत्व गरे पनि ओली सहजै नेतृत्व हस्तान्तरणको मुडमा देखिएका छैनन् । अझै पनि एमालेको नेतृत्व गर्ने ओलीको इच्छा बमोजिम एमालेले दुई कार्यकाल र ७० वर्षे उमेरहद दुवै हटाएको छ ।
त्यसैले भण्डारी सक्रीय राजनीतिमा फर्किएको भए त्यसले एमालेको नेतृत्वका लागि ओलीसँग उनको टकराव हुने सम्भावना राख्थ्यो । तर, एमालेले उनको सदस्यता नवीकरण नगर्ने निर्णय लिएसँगै तत्कालका लागि त्यो सम्भावना भने टरेको देखिन्छ ।