काठमाडौं । विश्वको प्रमुख शक्ति भएका कारण अमेरिकामा हुने परिवर्तनहरुले संशारभर असर र प्रभाव पर्दछ । त्यस्तो प्रभावको बाछिटा नेपालसम्म पनि आइपुग्छ । त्यसैले अमेरिकाप्रति विश्वभरबाटै आश र त्रासको नजरले हेर्ने गरिन्छ ।
सन् २०२० को नोभेम्भर अर्थात् यसवर्ष (ईश्वी सन)को नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । विश्वशक्ति राष्ट्रको प्रमुख कार्यकारी पदका लागि हुने उक्त निर्वाचनलाई लिएर विश्वभरले चासो एवं सतर्कताका साथ नियालीरहेको छ ।
अमेरिकी राष्ट्रपति विश्वकै प्रभावशाली पद भएकाले सो त्यसका लागि हुने निर्वाचनले विश्वलाई नै तरंगित बनाउने गरेको छ ।
किसरी हुन्छ निर्वाचन ?
सन् २०२० नोभेम्बर ३ तारिक मंगलबार अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । जसमा मुख्यतः दुई पार्टीबीच प्रतिश्पर्धा हुनेछ– डेमोक्र्याट र रिपब्लिकन । यसलाई अझ स्पष्ट रुपमा बुझ्नुपर्दा हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका हुन् भने उनका पूर्ववर्ति बराक ओबामा भने डेमोक्र्याटका ।
ट्रम्पले यसअघि भएको निर्वाचनमा डेमोक्र्याटकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
यसपटक उनको प्रतिश्पर्धा डेमोक्र्याटका जोन बाइडेनसँग हुने भएको छ । यसमा बाइडेनले ट्रम्पलाई कडा टककर दिने अनुमान गरिएको छ ।
विश्लेषकहरुका अनुसार अमेरिकामा डेमोक्र्याटलाई अलि उदार पृकृतिको राजनीतिक दलका रुपमा लिइन्छ भने रिपब्लिकनले भने कतिपय सन्दर्भमा कडा अडान राख्ने गरेको उनीहरुको विश्लेषण छ । अझ स्पष्ट रुपमा भन्दा डेमोक्र्याट् अलि आधुनिक र रिपब्लिकन पुरातनवादी प्रवृत्तिको छ भन्ने कतिपयको बुझाइ छ ।
अमेरिकामा राष्ट्रपति निर्वाचनको पहिलो सिँढी हो प्राइमरी चुनाव (प्राइमरिज) । यो निर्वाचनको प्रक्रिया कस्तो हुने भन्ने कुराको निर्क्यौल राज्य र पार्टीको निर्णयमा निर्भर हुन्छ । यस्तो निर्वाचन पार्टीले होइन राज्य सरकारले आयोजना गर्दछ ।
प्रइमरी चुनाव खुला या बन्द गरी दुई प्रकारको हुन्छ । यस्तो निर्वाचन खुला हुने या बन्द हुने भन्ने कुराको निर्क्यौल भने सम्बन्धित राज्यको कानुनमा भर पर्दछ ।
बन्द चुनाव भयो भने पार्टीका कार्यकर्ताले मात्र भोट गर्न पाउँछन् भने खुला भएमा अरुले पनि भोट गर्ने अवसर पाउँछन् ।
यसका माध्यमबाट डेलिगेट्स चुनिन्छन् जो कन्भेन्सनमा उम्मेदवारको नोमिनेट गर्दछन् ।
यदी उम्मेदवार प्राइमरी निर्वाचनमा विजयी भयो भने डेलिगेट्स दोस्रो चरणको कन्वेन्सनमा उम्मेदवारका लागि मतदान गर्छन् । यसपछि अमेरिकी राष्ट्रपतिको उम्मेदवार तय हुन्छ ।
तर, सबै राज्यमा यस्तै व्यवस्था लागु हुँदैन केही भिन्न हुन्छ । जस्तोकि आयोवा जस्ता केही राज्यमा माथि भनिएजस्तो प्राइमरी निर्वाचन हुँदैन । त्यसको स्थानमा अर्कै तरिका अपनाइन्छ जसको आयोजना पार्टीले गर्दछन् ।
जसमा उनीहरु राष्ट्रपतिको उम्मेदवार चयन गर्दछन् ।
डेमोक्र्याट र रिपब्लिकनले आधिकारिक रुपमा आफनो तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयन गरिसकेपछि उनीहरु डिबेट (बहस)मा भाग लिन्छन् ।
***
यसपटक उम्मेदवारको चयन भइसकेको छ भने बाइडेन र ट्रम्पले राष्ट्रपति पदको उम्मेदवारका रूपमा पहिलो डिबेटमा सहभागी भइसकेका छन् ।
यद्यपी बाइडेन र ट्रम्पबीच दोस्रो चरणको डिबेट भने लगभग अनिश्चित जस्तै देखिएको छ । ट्रम्पलाई कोरोना संक्रमण देखिएपछि बाइडेन प्रत्यक्ष उपस्थित भएर डिबेटमा भाग लिन अस्वीकार गरिदिए भने ट्रम्पले भर्चुअल वार्तालाई स्वीकार गरेका छैनन् ।
अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा सिधै जनता (पपुलर भोट)ले गर्दैनन् बरु इलेक्टोरल चुनाव हुन्छ । त्यसका लागि इलेक्टर्सको चयन हुन्छ ।
***
अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मा २७० इलेक्ट्रोलर भोटको आवश्यकता पर्दछ ।
जसरी डेलिगेट्सहरूको चयन हुन्छ उसैगरी इलेक्टर्सहरू चुनिन्छन् । उनीहरूलाई इलेक्ट्रोरल कलेज भनिन्छ । अर्थात् यो यस्तो समूह हो जसलाई अमेरिकी राष्ट्रपतिको चयनका लागि अमेरिकी जनता चुन्दछन् ।
त्यही समूहले गर्ने भोटलाई इलेक्टोरल भोट भनिन्छ । यस्तो इलेक्टोरल भोट ५३८ हुन्छ, जसमा जितका लागि २७० मत आवश्यक हुन्छ ।
तर इलेक्टोरल भोटका माध्यमबाट कसैले पनि बहुमत पाएन भने के हुन्छ ? यस्तो हुने सम्भावना ज्यादै कम हुन्छ । यदि त्यस्तो भएमा त्यहास्थित तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ)ले शीर्ष तीन उम्मेदवारमध्ये एकजनालाई अमेरिकाको राष्ट्रपतिमा चयन गर्दछ ।
त्यस्तै सिनेटले राष्ट्रपतिको चयनपछि बाँकी दुई जनामध्ये एकलाई उपराष्ट्रपतिमा चयन गर्दछ । यस्तो हुने सम्भावना कम भएको बताइन्छ । सन् १८२४ यस्तो भएको उदाहरण पाइन्छ ।
एजेन्सीहरूको सहयोगमा ।
तस्बिर : गुगल