काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका दुवै समूहका नेकपा नेताहरूसँग छलफल सुरू गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
सो छलफलमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भने उपस्थित छैनन् । प्रधानमन्त्री ओलीले एकलौटी रूपमा मन्त्रीपरिषद् विस्तार गरेर नेकपामा विवाद बल्झाएको भन्दै टिप्पणी भइरहँदा प्रचण्ड बालुवाटारमा कर्णालीको विवादका सम्बन्धमा दुवै पक्षबीच भएको छलफलमा उपस्थित भएनन् ।
यसअघि प्रचण्डले दुवै पक्षलाई छुट्टाछुट्टै भेटेका थिए ।
यो पनि पढ्नुहोस् ।
नेकपा कर्णाली विवाद काठमाडौंमा : कँडेल समूहले भेट्यो प्रचण्डलाई
मुख्यमन्त्री शाहीले असन्तुष्टहरूको 'एकता भंग' गरिदिएपछि कर्णालीमा फेरियो शक्ति समीकरण
नेकपा विवाद : कर्णालीको 'साइडइफेक्ट' कहाँ कहाँ पर्ला ?
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, नेकपाका कर्णाली सह–इन्चार्ज यामलाल कँडेल, निलम्बित प्रमुख सचेतक गुलावजंग शाहलगायत दुवै पक्षका नेताहरुसँग छलफल गरेका छन् ।
कर्णाली प्रदेशका पदाधिकारीहरुलाई छलफलका लागि काठमाडौं बोलाइएको थियो । ओली र प्रचण्ड संयुक्त छलफल गर्ने भने पनि दुवैअध्यक्षहरुसँग एक्लाएक्लै छलफल भएको हो ।
प्रधानमन्त्रीले छलफल गरेपछि दुईजना अध्यक्ष बसेर छलफल गर्ने कार्यक्रम छ । गत आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यसले नेकपाको केन्द्रीय राजनीतिमा पनि तरङ्ग ल्याएको छ ।