काठमाडौं । न्युजिल्यान्डमा शनिबार समपन्न मतदानको प्रारम्भिक नतिजा आएको छ । जसमा प्रधानमन्त्री जेसिन्डा अर्डानको लेबर पार्टीले एकल बहुमत प्रप्त गर्ने निश्चित देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
न्युजिल्यान्डको १२० सदस्सीय संसदमा अर्डानको लेबर पार्टीले ६४ सिट जित्ने भएको छ । यद्यपी यसको औपचारिक घोषणा भने हुन बाँकी रहेको छ । अक्टुबर २७ मा मात्र यसको औपचारिक घोषणा हुने बताइएको छ ।
खासगरी कोरोना भाइरस नियन्त्रणमा पाएको सफलतासँगै प्रधानमन्त्री जेसिन्डाको लोकप्रियता बढेको थियो । अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि उनले प्रशंसा पाएकी थिइन । विश्लेषकहरूका अनुसार जेसिन्डालाई निर्वाचनमा उक्त लोकप्रियताले ठूलो मद्दत गर्यो ।
कोरोना नियन्त्रणमा पाएको सफलतासँगै जेसिन्डाको लोकप्रियता यस्तरी चुलिएको थियो कि कतिपयले विश्वमा उनलाई समकालीन राजनेतामध्ये कुशल राजनेताका रूपमा पनि प्रशंसा गरे ।
यद्यपी कोरोना महामारी नियन्त्रण गर्न सफल भए पनि प्रधानमन्त्री जेसिन्डा अर्थतन्त्रलाई मजबुत बनाइराख्न भने सफल भइनन् । जसका कारणा न्युजिल्यान्डको अर्थतन्त्रमा धक्का पुगेका रिपोर्टहरू प्रकाशित भए ।
यो पनि पढ्नुस्ः
न्युजिल्यान्ड : कोरोनाको महामारी नियन्त्रणमा सफलता तर अर्थतन्त्रमा धक्का
अर्थतन्त्रमा समस्या देखिए पनि कोरोना महामारी नियन्त्रणमा सरकार सफल भएकाले अर्थतन्त्र छिट्टै पुनः आफ्नो लयमा फर्कनेमा भने धेरैको विश्वास रहेको पाइन्थ्यो ।
अघिल्लो पटक लेबर पार्टी सबैभन्दा ठूलो दल बन्न सफल भए पनि बहुमत प्राप्त गर्न भने सफल भएको थिएन । जसका कारण गठबन्धन सरकार निर्माण भएको थियो र जेसिन्डा प्रधानमन्त्री बनेकी थिइन् ।
अर्डनको लेबर पार्टीले गत संसदीय निर्वाचनमा ४६ सीट प्राप्त गरी दोस्रो भएको थियो । उनले लेबर, एनजेएफ र ग्रिन पार्टीको गठबन्धन सरकार चलाएकी थिइन् ।
गठबन्धन सरकारको नेतृत्व गर्ने अवसरले ज्यासिन्डालाई आफ्नो निष्ठा, लगनशिलता र कार्यक्षमता प्रस्तुत गर्ने अवसर दियो । त्यसको प्रतिफल शनिबारको निर्वाचन देखिएको छ ।
मतदाताले ज्यासिन्डालाई उत्साहजनक समर्थन दिएका छन् । न्युजिल्याण्डका एक राजनीतित्र विश्लेषक ब्राइस एडबर्डका अनुसार यो इतिहासमा ८० वर्ष पछाडिको सबैभन्दा ठूलो विजय हो ।