काठमाडौं । फ्रान्सको दक्षिणी सहर निसस्थित एउटा चर्चमा गरिएको चक्कु प्रहारमा तीनजनाको मृत्यु भयो । प्रहरीले चलाएको गोली लागेका एक सन्दिग्घ आक्रमणकारीको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।
राष्ट्रपति एमानुअल माक्रोँले बिहीबारको उक्त घटनालाई 'इस्लामिक आतङ्कवादी आक्रमण' भनेका छन् । घटनापछि चर्च र विद्यालयहरूको सुरक्षाको निम्ति हजारौँ सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् र राष्ट्रिय सुरक्षा सतर्कतालाई उच्च तहमा पुर्याइएको छ ।
फ्रान्सका प्रमुख प्रतिआतङ्कवाद अभियोजनकर्ता जाँ फ्राँस्वा रिकार्टले निगरानी क्यामराले खिचेका दृश्यमा ती सन्दिग्ध व्यक्ति बिहीबार बिहान रेलबाट निस पुगेको र त्यहाँ उसले कपडा फेरेको देखिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
ती व्यक्ति ४०० मिटर हिँडेर नोट्र-डाम चर्च गई स्थानीय समयानुसार बिहान ८:२९ मा भित्र पसेका थिए । त्यहाँ उसले एकजना वृद्धाको टाउको झन्डैझन्डै छुट्ट्याइदिएको र अर्का पुरुषको घाँटीमा प्रहार गरेको बताइएको छ ।
अर्की महिला चर्चबाट भाग्न सफल भइन् र एउटा मदिरालयनजिक पुगेकी थिइन् । तर घाइते भएकी उनको पनि पछि मृत्यु भयो । पीडितहरू चर्चमा उपस्थित भएकै कारणले निसाना बनाइएको प्रमुख अभियोजनकर्ता रिकार्टको भनाइ छ ।
उनले भनेअनुसार प्रहरी घटनास्थल पुग्दा ती व्यक्तिले खतरनाक रूपमा प्रस्तुत भए र बारम्बार "अल्लाहु अबर" (ईश्वर महान् छन्) भनेका थिए । प्रहरीले गोली हानेर उनलाई अस्पताल पुर्याइएको थियो । प्रहरीले आक्रमणमा प्रयोग भएको र अन्य दुईवटा चक्कु बरामद गरेको छ ।
त्यस्तै ती सन्दिग्ध व्यक्तिको झोलामा दुईवटा फोन र एउटा कुरान पनि फेला परेको अधिकारीहरूले जनाएका छन् ।
अधिकारीहरूले कुनै पनि पीडितको नाम खुलाएका छैनन् । तर प्रमुख अभियोजनकर्ताले पहिलो महिलाको उमेर ६० वर्ष भएको बताए । उनको शव चर्चको प्रवेशद्वार नजिकै भेटिएको थियो ।
फ्रान्सको सञ्चारमाध्यमका अनुसार पुरुष चर्चको हेरचाहको जिम्मेवारीमा रहेका कर्मचारी भएको उल्लेख गरेका छन् । श्रीमती र दुई सन्तान रहेका उनको उमेर ५५ वर्ष थियो । अर्की पीडित महिलाको उमेर ४४ वर्ष भएको बताइएको छ ।
प्रहरीले अहिलेसम्म ती सन्दिग्ध आक्रमणकारीको नाम पुष्टि गरेको छैन । फ्रान्स र इटलीका सञ्चारमाध्यमले आक्रमणकारीको नाम ब्राहिम आवीसावी भएको बताएका छन् । रिकार्टका अनुसार सन् १९९९ मा जन्मिएका उनी ट्युनिशियाली नागरिक हुन् । उनी सेप्टेम्बर २० मा युरोप पसेको बताइएको छ ।
फ्रान्सेली सुरक्षा निकायलाई ती व्यक्तिबारे जानकारी नभएको उनले बताए । ट्युनिशियाका अधिकारीहरूले पनि अनुसन्धान सुरु गरेका छन् । तर न्यायसेवाका एक वरिष्ठ अधिकारीले ती व्यक्ति देशभित्र आतङ्ककारीको सूचीमा नरहेको बताए ।
फ्रान्समा पछिल्ला हप्ता इस्लामिक हिंसा एउटा मुख्य मुद्दा बनेको छ । यो महिनाको सुरुमा प्यारिसबाहिर एकजना शिक्षकको शिरोच्छेदन गरेर हत्या गरिएको थियो । स्यामुअल पटीले अभिव्यक्तिको स्वतन्त्रता पढाउने क्रममा आफ्ना विद्यार्थीलाई विवादित बन्न पुगेको पैगम्बर मोहम्मदको कार्टुन देखाएका थिए ।
उनको मृत्युको शोकमा देशव्यापी रूपमा भिड जम्मा भएपछि उनको हत्याले फ्रान्समा धर्मनिरपेक्षता र अभिव्यक्ति स्वतन्त्रताबारे बहस उत्पन्न भएको छ । राष्ट्रपति माक्रोँले पटीको मृत्युको बदलामा इस्लामिक अतिवादलाई परास्त गर्ने बताए ।
कैयौँ मुस्लिम देशहरूमा उनको अभिव्यक्तिका कारण प्रदर्शनहरू भएका छन् र फ्रेन्च सामान बहिष्कारको आह्वान गरिएको छ ।
बिबिसी ।