काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउनका लागि पार्टीको संसदीय दलमा अचानक अविश्वासको प्रस्ताव ल्याएपछि विकसित भएको घटनाक्रमले पार्टी केन्द्रसम्मै तरंगित बन्यो ।
कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीको इसारामा कर्णाली प्रदेशका उनीनिकट मानिने यमलाल कँडेलले मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको टिप्पणी पनि गरेका छन् ।
तर, संसदीय अंकगणित पुर्याएर आफूलाई हटाउने तयारी गरिएपछि मुख्यमन्त्री शाहीले पनि त्यसको जबाफ संसदीय अंकगणितकै माध्यमबाट गरे । जसका कारण सुरूमा एक्लिएका जस्ता देखिएका शाहीले नेकपाका वरिष्ठ नेता माधव नेपालपक्षीय सांसदहरलाई विश्वासमा लिएर कँडेल पक्षलाई अल्पमतमा पारिदिए । जसका कारणा अविश्वासको प्रस्ताव सफल हुन सकेन ।
त्यसबखत शाहीले नेपाल पक्षीय नेताहरूलाई मन्त्री बनाउने सहमति मात्रै गरेनन्, प्रमुख सचेतकलाई नै हटाइदिए । अब उनले ओली पक्षीय मन्त्रीहरूलाई हटाएर पूर्वसहमतिअनुसार नेपाल पक्षीय सांसदहरूलाई मन्त्री बनाउने तयारी गरेको स्रोतको भनाई छ ।
यो कुरालाई पुष्टि गर्छ कर्णाली प्रदेशका सामाजिक विकाशमन्त्री दल रावलको प्रतिक्रियाले । रावलले आफूलाई ३२ महिना मन्त्रीका रूपमा काम गर्दा सहयोग गर्नेलाई धन्यवाद दिएका छन् ।
'कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु,' रावलले लेखेका छन् ।
मुख्यमन्त्री शाहीले ओलीपक्षबाट कर्णाली प्रदेश सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई बर्खास्त गर्ने तयारी गरिरहेको स्रोतको दावी छ ।
मुख्यमन्त्री शाहीले उनीहरूलाई राजीनामा दिन आग्रह गरेको भए पनि मन्त्रीद्वयले राजीनामा नदिने बरू बर्खास्त गर्न सुझाएका थिए । उनीहरूलाई हटाएर मुख्यमन्त्री शाहीले नेपाल पक्षसँगको सहमती अनुसार करवीर शाही, अमरबहादुर थापा र चन्द्रबहादुर शाहीलाई मन्त्री बनाउने तयारी गरेका छन् ।