- उदेश खतिवडा
लगभग सात दशक पुग्नै लागेका बुढा बा र छ दशक पुग्नै लागेकी बुढी आमा नितान्त खेतीपातीमा आत्म निर्भर हुनुहुन्छ ।
बा'ले बारीमा काम गर्दागर्दै घाम डाँडामा बसेर गोधुली साँझ परिसकेको हुन्छ । हतार हतार एक भारी स्याउला काटेर जुईनो कस्दै बारीको डिलमाथि राखेर थाप्लोमा नाम्लो लगाउँदै गर्दा औंशीको रात चुक पोखे जस्तै अँध्यारो सन्नाटा छाएको हुन्छ । स्याउलाको भारी बोकेर ओरालो झर्दै गर्दा बाटोको दुईपट्टी छेउमा झ्याउकिरीहरुले दोहोरी खेलिरहेका हुन्छन् ।
खान खाने बेला भइसक्दा पनि बा'को आउने छाँटकाँट नदेखिएपछि "ए ! टर्चलाईट लिएर जा जा, आज पनि बा आउन ढिला गर्नुभयो । गौंडो अप्ठ्यारो छ । दिउँसोमा त ओर्लिन मुस्किल पर्छ अहिले त राति भईसक्यो ।" आमाले दैनिक अह्राउने काम मध्यको यो पनि एउटा महत्वपूर्ण काम थियो ।
म पुर्ख्यौली लाईट बोकेर हतार-हतार 'बा, बा' भन्दै उँभो गईरहेको हुन्छु । अँध्यारो बाटोमा छाम्दै आईरहेका बा'ले 'होई !' भन्दा लाइट बालेर बाटो देखाइदिन्छु ।
बल्लतल्ल घर आइपछि पसिनाले निथ्रुक्क भिजेका लुगाहरु खोली हात मुख धोएपछि बा पलेटी कसेर बाहुन चुलाको पिर्कामाथि बस्नुहुन्छ ।
आमाले चरेसको थालमा पन्युले भात पस्किदै भन्नुभयो 'किन संधै ढिला भएपछि त एक पाइलो अगाडि नै काम छोडेर उज्यालोमै आउन नि सकिन्छ नी !'
आमाको बोली भुइँमा खस्न नपाउदै बा'ले भन्नुभयो 'के गर्नु त ! काम गर्दागर्दै भ्याइएन घरभरी जहान हुँदा नि आफूलाई कसैले सघाएको पाउनु छैन । एक अगालो घाँस नलेराए तेरा डाम्नाहरु भोकै हुन्छन् । तेरा छोराहरु बाबूसाहेब भन्दा बढीका भइहाले सर्ट, पाईन्ट लगायो दुईपट्टी गोजीमा हात हाल्यो लखर लखर हिड्यो ! त्यसै बर्सिन्छ जस्तो गर्छन् बेरोजगारी बजियाहरु ।'
म जनै नलगाउने, बिहान-बिहान गायत्री मन्त्र पनि नभन्ने, औसनी (खाना खानुभन्दा पहिले हातमा पानी लिएर आफू अगाडिको भोजन वरिपरी घुमाउने क्रिया, अपसानी) पनि नहाल्ने, खाना खाँदा धोती पाटा पनि नफेर्नेलाई बाहुन चुलामा प्रवेश निषेध थियो । बाहुन चुलाभन्दा तीन मिटर पर वल्लो कुनामा बसेर दूध र भातको अन्तिम गाँसको तयारीमा रहेको मलाई बाले आमालाई 'तेरा छोराहरु' भनेर सम्बोधन गरेको फिटिक्कै मन परेन । यो सुनेर झनक्क रिस उठ्यो । 'हामी आमाको मात्र छोरा हौं ? तपाईंको छोरा होईनौ र ?' भनेर बा'लाई प्रश्न गर्न मन थियो । 'क्यारे , क्यारे लफुङा ! यत्रो लाठे भएर बाउको कमाई खानु छ, अझै बोल्न लाज छैन है तँलाई ?' भनेर बाउ उफ्रिहाल्छन । त्यै भएर आफूले आफैंलाई सम्झाउँदै अन्तिम गाँस दुध र भात छोडेर त्यत्तिकै उठेँ ।
सुत्न भनेर चोटामा उक्लिएँ बुईँगलमा मेरो छुट्टै सानो कोठा र खाट थियो । गएर पल्टिएँ बा'को मनभित्र भएको अप्रस्फुटित शब्दहरु सम्झेर फिटिक्कै निन्द्रा परेन ।
बा'लाई काम सघाउन मन छ तर आफुलाई खेती किसानी भन्ने बित्तिकै १०३ डिग्रीको ज्वोरो आउँछ । फेरि साथीभाइहरु घुमेको, खेलेको देख्दा आफूलाई पनि उनीहरुसँगै घुम्न, खेल्न मन लाग्छ । फलानाको संगतले बिग्रीयो भनेर बा'ले पटक-पटक मेरा एक-दुईजना निर्दोष साथीहरुको नाम नलिएका पनि होईनन । 'उनिहरु पो धनी छन्, कामै नगरी घुमेर खाए पनि पुग्छ । तेरो के छ ? तँलाई त्यसै गरी जिन्दगी भरी घुमेर खान पुग्छ ?' बा भन्नुहुन्थ्यो ।
बा'को दु:ख सम्झेर एक पटक माया लागेर आयो तर के गर्नु मेरो पनि आफ्नै विवशता छ बा बुढाले किन बुझ्दैनन् ? यस्तो पनि लाग्थ्यो ।
अहिले पनि 'बाह्र छोरा, तेह्र नाति बुढाको धोक्रो काँधैमाथि' भने जस्तै छोराहरु परदेश र घरदेश गर्दै प्रायः सबै घरबाहिर छन्, तर बा-आमाको दु:ख बा-आमा संगै छ ।
***
खेतीपाती गर्न जाँगर नलागेर सुखले पैसा कमाउन पैसा रोपेर पैसै फलाउने सपना देखेर बिगत एक दशकदेखि खाडी भासिएको छु म ।
आजकाल लाग्दैछ, नामै त खाडी ! यो एउटा लोभको भाष रहेछ । यता भासिएपछि न पैसाको खेती गर्न सकियो । न बा-आमालाई डोको नाम्लो छोड्नु, गोबर, सोत्तर छोड्नु तपाईंको छोराले सुख दिन्छ भन्न सकियो ।
कहिलेकाहीं लाग्छ च्वाट्ट विदेश छोडेर जाउँ जे होला-होला एक थोक त पक्कै गरि खाईन्छ । अर्को मनले भन्छ होइन फेरि फर्किएर आउनु पर्यो भने त उमेरले पनि डाँडो काटीसक्छ । पछि यही जागिर पनि पाईदैन । अनि मन मात्रै छटपटाउँछ ।
कहिले होइन देशमै गएर व्यापार गर्छु तरिका सिक्दै गर्नुपर्यो भन्ने लाग्छ । एक्लै विदेशको कोठामा बसेर कसले तरिका सिकाउछ ? सिक्नको लागि मसँग उपाय पनि छ । अनि आफ्नै आदरणीय गुरु देव युट्युबको सहारा लिन्छु । गुरु व्यापारको बारेमा बताइदिनुस भनेर सोध्छु उहाँले सबै भन्दिनु हुन्छ ।
व्यापार, कृषि, उध्योग सबैको बारेमा गुरुलाई सोधेपछि कृषिमा नै गएर टक्क रोकिन्छु । उ बेलामा बा'लाई एक्लै छाडिदिएको काम नै सजिलो लाग्छ । यही पेशामा बराजुको जीवन बित्यो, बाजेको जीवन बित्यो, अब बा'को जीवन बित्ने वाला छ । मैले पनि यही पेसा अंगाल्दा हातमुख जोर्नकै लागि निर्भर हुँदाहुँदै मेरो पनि जीवन बित्ने त होईन ? तर मलाई आधुनिक कृषि प्रणाली अपनाउन मन छ । ठूलो परिमाण र ठूलो लगानीमा काम गर्न मन छ ।
एकै पटक सयभन्दा माथि कामदारहरुलाई रोजगारी दिन मन छ । नेपाल एक कृषि प्रधान देश हो भनेर किताबको पानामा मात्र होईन व्यबहारमा उतार्न सकियोस् । ताकी भोलीका दिनहरुमा कुनै पनि नेपाली युवा युवतीहरुले मैले जस्तो वैदेशिक रोजगारीको शिलशिलामा पराई भूमीमा दशकौं बिताउन नपरोस् ।
तर मेरो उत्पादनले बजार नपाउने हो कि ? बिचौलियाको चपेटामा परेर "काम गर्ने कालु मकै खाने भालु" हुने पो हो कि ? कृषि पेशा गर्ने किसानहरुलाई सरकारको योगदान के छ ? यसमा सरकारले दिने ऋण वा अनुदानमा काम गर्न सकिएला न सकिएला ? पहिला कृषि पेशा भनेपछि ज्वोरो आउने मान्छेले बा'कै अगाडि यो पेशा गर्छु भनेर कसरी भन्नू ?
भोलि त्यै पेशा गर्दा त बुढाले देखिहाल्छ्न् । मेरो काम देखेर मेरो बा'ले मलाई स्याबासी देलान् ? वा खिसी गर्लान् ? आजकाल यस्तै, यस्तै कुराले मन बेचैनी बनाईरहन्छ । सपना पूरा होस्, नहोस् तर देख्न सबैले पाउनुपर्छ ..!