- लक्ष्मी भण्डारी खतिवडा
कुरा आजभन्दा करिब पाँच बर्ष पहिलेको हो । २०७२ सालको भदौ महिना थियो । एकाबिहानै परदेशी बुढाको फोन आयो ।
'बुढी तिम्रो भिषा लाग्यो । विदेश आउनको लागि तयार हुनु है ! छोरो के गर्दै छ ? उठ्यो कि ? उठेन ? राम्ररी हेर विचार गर है,' उहाँले भन्नुभयो ।
त्यसपछि फोन काटियो । टिकट काटेर चितवन गएको जस्तै छिट्टै हुने भयो भन्ने लागेको थियो । तर, सोचेको जस्तो भएन । भिषा लागेको ४५ दिनमा बल्ल टिकट तयारी भयो । काखमा भएको सानो (चार वर्षे) दूधे बालक छोरा ! त्यति धेरै माया, ममता र स्नेह दिएर राखेको मुटुको टुक्रालाई कसरी चटक्क छोडेर विदेश जाने होला ? भनेर आफूले आफैँलाई प्रश्न गर्न थालें ।
केही पाउन केही गुमाउनु पर्दो रहेछ, चित्त बुझाउँदै छोरोलाई सम्झाउन थालेँ, 'बाबु तिम्रो ममी विदेशिँन आँटेको छु । ज्ञानी हुनु, धेरै पढ्नु, आमा बा'लाई नपिर्नु, भनेको मान्नु है ।'
'म एकछिन घरमा नहुँदा वा मलाई एकैछिन पनि नदेख्दा 'मेरो ममी कता जानुभयो ?' भन्दै रुन्थ्यौ । तिमीलाई म बाहेक कसैले खाना खुवाउन सक्दैन थियो । बा, आमा, अंकल अन्टी जसले दिएको पनि खानु है ? अब त्यसो गर्दै नगर्नु है, म टाढा धेरै टाढा सात समुन्द्र पारी पराईको मुलुकमा पुगेको हुन्छु,' छोरोले मेरो कुरा कति बुझेको थियो कति बुझेको थिएन थाहा छैन, तर मैले काखमा लिएर यसैगरी सम्झाएको थिएँ त्यसबेला उसलाई ।
'मेरो मुटु ! मलाई सम्झिएर कहिल्यै नरुनु है ? तिमी जति रोए पनि मैले देख्दिन, मैले सुन्दिन, तिमीलाई भोक लागे पनि मैले त्यती टाढाबाट तिम्रो पेट भर्न सक्दिन । तिमीलाई सन्चो भएन भने मेरो छाती चस्किन्थ्यो । अब मेरो छाती चस्के पनी दुखाई सहनु बाहेक मैले केही गर्न सक्दिन । तिमीलाई भगवानको कृपाले अस्पताल लैजानु पर्ने गरी बिरामी त कहिल्यै भएनौं, कहिलेकाँही भने सामान्य बिरामी हुन्थ्यौ । बाबु छोरा माफ गर ल ! यी सबै कुरा तिम्रै उज्वल भबिस्यको लागी गर्दैछु,' उसले त बुझेन होला तर, मैले भन्न भने छाडिन ।
यी सबै कुरा अब बा आमाले पूरा गर्दिनु हुन्छ । मलाई आशा छ बाआमाले कहिल्यै मेरो कमी महसुस हुन दिनु हुने छैन । अहिले सम्म त म छउन्जेल कसैलाई दु:ख दिएको थिइन । आर्थिक स्थिति कमजोर भएपछि केही लाग्दो रहेनछ । नेपालमा गरिखान सक्ने स्थिती थिएन । त्यसैले म पनि विदेशिँनु पर्यो । मलाई माफ गर है छोरा ! तिमीलाई मेरो काखमा सदैव खेलाउने रहर थियो । तर "दुइटै हातमा लड्डु" कहाँ मिल्दो रहेछ र ? छातीमा टाँसेर यी सबै कुराहरु गर्दा छोरो दुबै आँखा बाट बलिन्द्र धारा आँसु खसाल्दै छातिमा टाँसिँएर नमज्जाले रुन थाल्यो ।
'ठूलो बाबा ठूलो ममी पनि चितवन गएर बस्ने रे ! तपाईं पनि विदेश जाने म कसरी बस्ने ममी ?' भन्न थाल्यो ।
हेर यस्तो छोरो छोडेर जानलाई कत्रो हिम्मत गरेको होला ? गएर बस्न त सकौंला ? कतै मैले ठूलो पाप त गरिनँ ? भन्ने लाग्यो । छोरोले आँशु पुछ्दै भन्यो, 'सबैको बाबा ममी नै विदेशमा छन् त ! किन मेरो मात्रै ? स्कुलमा पनि साथीहरुको बाबा ममी टिफिन लिएर आउनु हुन्छ । मेरो चाँही कोही छैन ।'
म स्तब्ध भएँ ।
'मेरो त ममी बाबा नै विदेशमा अब मलाई कसले माया गर्छ ? मलाई कसले नुहाइदिन्छ ? नयाँ नाना कसले किनिदिन्छ ?' भनेर प्रश्न गर्न थाल्यो ।
'मेरो छोरो तिमी नरोउँ बा, आमा अंकल, अन्टी घरमा हुनुहुन्छ । उहाँहरुले तिम्रो ममीले भन्दा बढी माया दिनुहुन्छ । तिमी ढुक्क हुनु ल,' म छोरो फकाउन थालें, तर आफैंलाई भने फकाउन नसकेर भक्कानिइरहेको थिएँ ।
र, एकदिन म मेरो प्राणप्यारो छोरोलाई छाडेर विदेश जानका लागि हिड्नुपर्ने दिन पनि आयो । सासू ममी, बुबा, देवर, देउरानी, जेठाजु, जेठानी सबैलाई 'बाबुको राम्रो हेर विचार गरिदिनु होला है,' भनी घरबाट बिदा भएँ ।
सासू ममीले पनि राम्रोसँग जानू भन्दै आँखा भरी आँसु बनाउँदै आशीर्वादका साथ विदा दिनुभयो ।
जुन सपना सोचेर विदेश आएको थिएँ, त्यो त सोचेभन्दा राम्रो भयो । मलाई लाग्छ अब हामीले विगतलाई फर्केर हेर्नुपर्ने छैन । यसरी ३/४ वर्षको कलिलो दूधे बालक छोडेको पनि ५ वर्ष पूरा भएछ ।
'यसले छोरोलाई छोडेर तीन महिना पनि टिक्दिन', 'यसले विदेश गएर गरिखान्न' भनेर थुप्रैले कुरा गर्थे अरे ।
सम्झनालाई नै साथी बनाएर ५ वर्ष त कटाएँ, तर अहिले विश्वमै महामारीको रुपमा फैलिएको कोरना भाइरसले गर्दा अब कति बसिन्छ थाहा छैन । जति विदेश बसिन्छ त्यसपछिका दिनहरुमा चाडैंनै स-परिवार सँगै हुन पाउँ भनी भगवानसँग हरदम प्रार्थन गरिरहेकी हुन्छु ।
अहिले छोरो १० वर्षको भएको छ । यसरी छोरो छोडेर विदेसिनु परेको पीडा त यो मन मस्तिष्कमा ताजै छ ।
२०७२ साल कार्तिक ५ गते टिकाको दिन राम्रो साईत भएकाले माईतबाट बुवाले पात्रो हेरेर 'त्यही दिनको साईत गरेर हिँड छोरी, नत्र राम्रो हुँदैन' भन्नुभएको थियो । छोरोलाई दशैँको टीका लगाउन अंकल अन्टीको घर चितवन पठाएर आफूचाँही काठमाडौं तिर लागियो ।
जब माइती घरमा पुगेँ विडम्बना ममी बिरामी हुनुहुँदो रहेछ । के गर्ने ? भोलिपल्टको टिकट छ मेरो बाध्यता थियो । ममी, बुबा, दाइ, भाइ, दिदी, बहिनी, भाउजू, भिनाजुलगायत सबैसँग बिदा भएँ । सबैजना नमज्जा मान्दै हुनुहुन्थ्यो । ममी रूँदै कोठामा पस्नु भयो । आफू भने सबै पीडा लुकाउँदै मन थामेर बस्न विवश भएँ ।
दिदी र दाईहरु एयरपोर्ट सम्म नै पुर्याउन आउनु भयो । 'ल काली राम्रोसँग गएस, पुगेपछि फोन गर्नु' भन्दै उहाँहरूले एयरपोर्टबाट बिदा दिनुभयो ।
प्लेन भित्रबाट 'हामी कतारको दोहामा रहेको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अबको केही बेरमा अवतरण गर्दै छौँ' भन्ने जानकारी गरायो । बाहिर निस्किएपछि बुढा लिन आउनु भएको थियो । उहाँसँग भेट भयो । धेरै खुसी पनि लाग्यो । बुढाले मेरो क्याम्पसम्म पुर्याईदिनु भयो ।
कतार पुगेको भोलिपल्ट देखि काम सुरु भयो । ३ महिना क्याम्पको कष्टकर बसाईपछि आफ्नै फ्यामिली रुम लिएर बस्न थालियो । सबै नौलो म एउटा मात्र नेपाली रहेछु । न भाषा जानेको न त काम नै जानेको, मलाई धेरै नै गाह्रो भयो । एउटा कोठामा ३ जना बस्नु पर्दो रहेछ । चिसो एसी धेरै चलाउने हुनाले सार्है गाह्रो महसुस हुन्थो । उता छोरो छोडेर आएको पिडा यता परिवेश नयाँ बयान गरिसाध्य भएन ।
अलिकति मिठो पाक्यो छोरोलाई सम्झिन्थे । ग्राहकको बच्चा देख्यो आफ्नै छोराको झझल्को आउँथ्यो । मार्केट गयो खेलौना, कपडा, खानेकुरा देख्यो, छोरोलाई सम्झिन्थे । एकान्तमा गएर धेरै रुन्थेँ । अर्काको ठाउँ काम गर्नै पर्थ्यो । आफ्नो पीडा र आँसु अर्कालाई देखाएर के फाईदा ? एकैछिनमा मुख धोएर फेरि आफ्नो काममा फर्किन्थेँ ।
छोरोको चिन्ताले सधै सताई रह्यो, छोरोसँग खेलेको हाँसेको हरेक पलको याद आउछ, सपना देख्छु झसङ्ग हुन्छु र ब्युझिन्छु ।
त्यति बेला घरमा नेट थिएन, फोनमै कुरा हुन्थ्यो । छोरोको त्यो बालसुलभ बोली सुनेर रेकर्ड गरेर राख्थेँ । अर्को पटक फोन नगरुन्जेल त्यही रेकड सुनेर दिनहरु र रातहरु बिताउँथेँ ।
छोरा ! आज हामी जहाँ छौँ तिम्रै कारणले छौँ । तिमी आजसम्म ज्ञानी भएर हामीलाई साथ नदिएको भए हामी यति सफल हुन सक्दैन थियौं होला । धन्यवाद छ हाम्रो प्राण प्यारो छोरा तिमीलाई । सधैं यस्तै ज्ञानी हुनु । हामीलाई साथ दिनुहुने घरपरिवारका सबैजनालाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु । धन्यवाद ।