काठमाडौं । अमेरिकालाई लक्षित गरी चीनले जारी गरेका नयाँ कठोर कानुनले थप ‘नियन्त्रित वस्तु’ निर्यातमा रोक लगाएको छ ।
यी नियमहरू चिनियाँ राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने सैन्य प्रविधि र अन्य उत्पादनको निर्यातसँग जोडिएको छ ।
नयाँ नियम अमेरिकाले चालेका यस्तै खालको कदमको जवाफ भएको विश्वास गरिएको छ ।
मङ्गलवार कार्यान्वयनमा आएको नयाँ नियमले चीन र अमेरिकाबीच जारी व्यापार युद्धलाई थप चर्काउने चिन्ता व्यक्त भएका छन् ।
टिकटक, ह्वावेइ र टेन्सेन्ट जस्ता कम्पनीहरू चिनियाँ प्रविधिमाथि अमेरिकी अंकुशको शिकार भइसकेका छन् ।
संसारका दुई ठूला अर्थतन्त्रबीच सन् २०१८ बाट व्यापारसम्बन्धी विवाद सुरु भएको भए पनि यो वर्ष त्यो थप चर्किएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले कैयौँ चिनियाँ कम्पनीले चिनियाँ सरकारलाई सूचना उपलब्ध गराउन सक्ने भन्दै तिनीहरूविरूद्ध कार्यकारी आदेश जारी गरेका छन् ।
न्याश्नल युनिभर्सिटि अफ सिंगापुरका अतिथि प्राध्यापक एलेक्स काप्रीका अनुसार चिनियाँ नयाँ निकासीसम्बन्धी कानुन ‘प्रविधि युद्ध चर्किएको प्रतिक्रिया स्वरूप आएको र यो चीनले आफ्नो मजबुत पक्ष लुकाउन गरेको प्रयास' हो ।
बीबीसी एशिया बिजनेश रिपोर्टसँग कुरा गर्दै उनले भने, “त्यसको अन्य पक्ष केलाउँदा चीनले आर्टिफिशल इन्टेलिजन्स एआई र कम्प्युटर एल्गोरिदमलाई नियन्त्रित निकासीको क्षेत्रमा राखेको देख्दा मलाई एकदमै आश्चर्य लागेको छ ।”
“यो अमेरिकाले टिकटकमाथि लगाएको प्रतिबन्धका कारण चालिएको कदम हो । चीनले आफ्नो एआई प्रविधि बाँडन नखोजेको हो ।”
काप्रीका अनुसार अमेरिका र चीनबीच जारी व्यापार युद्ध जो बाइडनले सत्ता सम्हालेपछि पनि अघि बढिरहन्छ । “हामी चीनसँग नयाँ शीतयुद्धमा छौँ र यो प्रविधि शीतयुद्ध हो,” उनले भने ।
निर्यात नियन्त्रण कानुनले नियन्त्रित सामाग्रीलाई विभिन्न समूहमा वर्गीकरण गर्छ जसमा परमाणु, सैन्य सामग्री र गैरसैनिक एवम् सैनिक दुवैमा प्रयोग हुनसक्ने सामग्रीहरू उल्लेख गरिएका छन् ।
यो कानुनले चीनको राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण भनिएका वस्तुहरूलाई समेटेको छ ।
निर्यातकर्ताले नियन्त्रित सूचीमा रहेका वा अस्थायी नियन्त्रणमा रहेका वस्तुहरू निकासी गर्न अनुमतिपत्रका लागि आवेदन दिनु पर्नेछ ।
नियम मिचेको अवस्थामा निर्यातकर्तालाई साढे सात लाख डलरसम्मका कारोबारको १० गुणासम्म जरिबाना गर्न सकिने व्यवस्था गरेको छ । उक्त कानुन अनुसार देशबाहिर रहेका संस्था वा व्यक्तिलाई पनि कारबाही गर्न सकिन्छ ।
यो कानुनले पृथ्वीबाट निकालिने दुर्लभ खनिजको निर्यातलाई पनि प्रभावित बनाउन सक्ने भन्दै त्यसको मूल्य बढेको छ । चीन दुर्लभ बहुमूल्य खनिजहरूको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । ती खनिज मोबाइल फोनदेखि वायु ऊर्जाका लागि आवश्यक टर्बाइन जस्ता विद्युतीय सामग्री बनाउन प्रयोग गरिन्छ ।
बिबिसी ।