काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलबारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएका छन् ।
तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध 'दङ्गालाई प्रोत्साहन गरेको' आरोप लगाउने योजना छ ।
संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्र्याटहरूको तयारी हो ।
संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग उक्त कदम यो साता उठाउन सकिने बताए ।
तर जो बाइडनको पहिलो एक सय दिनको कार्यकाल पूरा नहुँदै उक्त दलले सिनेटमा सुनुवाइको निम्ति प्रस्ताव नपठाउन सक्छ ।
क्लाइबर्नले भने, 'आफ्नो प्राथमिकता निर्धारण गर्न र त्यसको कार्यान्वयन थाल्न राष्ट्रपति निर्वाचित बाइडनलाई एक सय दिन दिऊँ ।'
त्यसबाट बाइडनलाई आफ्नो नयाँ मन्त्रिपरिषद् निश्चित गर्न र कोरोनाभाइरससँग जुझ्ने लगायतका नीतिको आरम्भ गर्ने बाटो खुला हुनेछ ।
यदि सिनेटले महाभियोग प्रस्ताव प्राप्त गरेमा ती कुराका निम्ति पर्खिनुपर्ने हुनसक्छ ।
ह्वाइट हाउसले राजनीतिक रूपमा प्रेरित भन्दै महाभियोगको सम्भावना खारेज गरेको छ ।
त्यस्तो कदमले 'हाम्रो महान् देशलाई थप विभाजित गर्न मात्र सघाउने' ह्वाइट हाउसको भनाइ छ ।
यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन् ।
त्यो सम्भव हुनका निम्ति महाभियोगको आरोप तल्लो संसद्मा ल्याएर पारित हुनुपर्नेछ ।
त्यसपछि प्रक्रिया सिनेटमा जानेछ जहाँ राष्ट्रपतिलाई हटाउन दुई तिहाइ मत आवश्यक हुन्छ ।
यदि उनलाई दोषी ठहर्याइयो भने ट्रम्पलाई फेरि सार्वजनिक कार्यालयको जिम्मेवारीमा रोक लगाउन सिनेटले पनि मतदान गर्नसक्छ ।
तर तल्लो सदनका सांसद क्लाइबर्नले १० दिनमा ट्रम्पले राष्ट्रपति कार्यालय छोड्नुअघि उनलाई महाभियोग लगाउन र सुनुवाइ गर्न आफूले सम्भव नदेखेको बताए ।
डेमोक्र्याट र बढ्दो सङ्ख्यामा देखिएका रिपब्लिकनहरूले ट्रम्पमाथि पाँच जनाको ज्यान गएको गत बुधवार संसद्मा भएको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाएका छन् ।
तर कुनै पनि रिपब्लिकन सिनेटरले ट्रम्पलाई दोषी ठहर्याउने पक्षमा मतदान गर्ने बताएका छैनन् ।
दोस्रो रिपब्लिकन सिनेटर प्याट टूमीले राष्ट्रपति ट्रम्पलाई राजीनामा दिन आइतवार आग्रह गरे ।
उनले भने, 'मेरो विचारमा देशका निम्ति उत्तम बाटो भनेको राष्ट्रपतिले राजीनामा दिने र जतिसक्दो चाँडो टाढा जाने नै हो । म त्यो सम्भावना नरहेको स्वीकार गर्छु तर मलाई लाग्छ सबैभन्दा राम्रो त्यहीँ हुन्थ्यो ।'
अलास्काकी सिनेटर लिसा मर्कावस्की राष्ट्रपतिलाई पद त्याग गर्न आग्रह गर्ने पहिलो रिपब्लिकन सिनेटर हुन् ।
बिबिसी ।