काठमाडौं । नेकपा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल आइतबार अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगे ।
दाहालले कार्यदलको संयोजक र सदस्य भई पार्टी एकता जोगाउन नेताद्वयको भूमिका ‘प्रशंसनीय’ रहेको बताए । नेकपा समस्या समाधान सुझाव कार्यदलले शनिबार अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र दाहाललाई प्रतिवेदन बुझाएको थियो । कार्यदलमा महासचिव पौडेल संयोजक र प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका रहेका पोखरेल सदस्य थिए ।
दाहालले केहीबेर प्रतिवेदनको व्यावहारिक कार्यान्वयनका पक्षमा पौडेल र पोखरेलसँग कुराकानी गरे । दुई अध्यक्षबीच थप संवादका विषयमा पनि छलफल भयो । कार्यदलको प्रतिवेदनलाई लिएर आइतबार ओली र दाहालबीच छलफल हुने भनिएको थियो । तर, प्रतिवेदन अध्ययनकै क्रममा रहेको जनाउँदै सोमबारलाई छलफल सारिएको छ । अब आज (सोमबार) बिहान छलफलमा बस्ने तयारी छ ।
ओली र दाहालबीचको कार्यविभाजनबारे गत मंसिर ४ मा गरिएको निर्णयको पुनव्र्याख्या गरी सुझाव प्रतिवेदन दिएपछि नेताहरूले विवाद समाधान भएको प्रतिक्रिया दिन थालेका छन् । कार्यदलले ओलीलाई सरकार र दाहाललाई पार्टी सञ्चालनको काम गर्ने गरी कार्यविभाजनको सुझाव दिएको छ । पार्टी एकता गर्दाका यी दुई अध्यक्षबीच मूलभूत एकता कायम गरेर पार्टी एकता जोगाउन जोड गरिरहेका नेताले अब संकट निवारणको ‘अचुक सूत्र’ फेला परेको प्रतिक्रिया दिएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य लेखराज भट्टले पार्टी एकतालाई बलियो बनाउने गरी कार्यदलले सुझाव प्रतिवेदन ल्याएकाले त्यसले सकारात्मक सन्देश पार्टी नेता–कार्यकर्तामा पैदा गरेको बताए । ‘पार्टी पंक्ति र जनतामा पार्टी फुट्छ कि भन्ने एउटा संशय थियो । दुई अध्यक्षको सहमतिमा बनेको कार्यदलले हामीले भन्दै आएका विषयहरू नै समेटेर सुझाव प्रस्ताव ल्याएको देखिएको छ । पार्टी एकता मुख्य हो । त्यसमा पनि दुई अध्यक्षबीचको एकता । यसले नै पार्टी एकता अगाडि लैजान्छ र सरकारका कामकाजलाई पनि दह्रोसँग अगाडि लैजान सहयोग पुग्ने कुरा हामी दोस्रो पुस्ताका नेताहरूले भन्दै आएका थियौं । अहिले कार्यदलले त्यही स्पिरिटमा सुझाव प्रतिवेदन ल्याएको देखिएको छ’, मन्त्री भट्टले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्री पार्टी अध्यक्ष र सरकारको नेतृत्व दुवै पदमा यथावत् रहने, अर्का अध्यक्षले पार्टी कामको जिम्मा कार्यकारी अधिकारसहित लिने गरी प्रस्ताव आएको देखिन्छ ।
गएको मंसिर ४ को सहमतिमा पनि त्यही थियो । त्यसलाई अहिले व्यवहारमा कसरी प्रयोग गर्ने भन्ने कुरा आएको देखिन्छ । दुई अध्यक्षको सहमतिमा एउटा अध्यक्षले पार्टी काम गर्ने र अर्को अध्यक्षले सरकारको कामकाजमा लाग्ने । तर, दुवै नेता एक अर्कोसँगको सरसल्लाहमा काम गर्ने, यही हो अहिलेको विवाद समाधानको सूत्र । त्यही प्रस्ताव सुझाव कार्यदलले ल्याउँदा विवाद अब टरेको छ ।’
एमसीसीलगायत विषयमा पनि सकारात्मक सुझाव कार्यदलले दिएकाले धेरै विवाद अब पार्टीमा नरहने भट्टको भनाइ छ । अब सबै नेता कार्यकर्तालाई संस्थागत विधि र पद्धतिमा अगाडि बढ्न प्रेरित गर्ने उनको भनाइ छ ।
‘विधि पद्धतिको कुरा गर्ने हो भने कुनै एउटाले मात्र मान्नुपर्ने र अर्कोले मान्नु नपर्ने जुन खालको अवस्था पार्टीमा देखिन थालेको थियो, त्यो गलत थियो । सबैलाई विधि पद्धति मानेर जानुपर्छ भनेर समस्याको समाधान गरेर जान खोजिएको छ । यसलाई सबैले मान्ने र दुई अध्यक्षको एकताबाट नै हिजोका दिनमा भएका सहमतिमा टेकेरै अगाडि बढ्नुपर्ने मैले देख्छु’, मन्त्री भट्टले भने ।
अब कार्यदलको प्रतिवेदनमा दुई अध्यक्षको छलफल, त्यसपछि सचिवालयमा हुने छलफल र सहमतिपछि स्थायी समितिमा पारित गरेर नेकपा विवाद हल गर्ने तयारी छ । त्यसका लागि १३ साउनदेखि अवरुद्ध हुँदै आएको स्थायी समिति बैठक कहिले बोलाउने भन्नेमा अब दुई अध्यक्षले छलफलपछि निर्णय लिनेछन् । १३ साउनमा प्रधानमन्त्री ओलीले बैठक स्थगन गर्ने र दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बैठक सञ्चालन गर्ने अवस्था आएपछि नेकपा करिब विभाजनको संघारमा पुगेको थियो ।
त्यसपछि नेकपाभित्रका दोस्रो पुस्ताका नेताहरूले नेतृत्वलाई एकता टुटाउन नपाउने गरी विवाद समाधान खोजी गर्न दबाब बढाएका थिए । सचिवालय सदस्यसमेत रहेका रामबहादुर थापाले सुरुदेखि नै दुई अध्यक्ष मिलेर एकता महाधिवेशनसम्म जानुपर्ने मत राख्दै आएका थिए ।
कृषिमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराईलगायत ओली, दाहाल र नेपाल तीनै पक्षका ११ जना स्थायी समितिका नेताले छुट्टै अभियान चलाएका थिए । ६२ सांसदले पनि एकता जोगाउन नेतृत्वलाई दबाब दिन हस्ताक्षर अभियान चलाएका थिए ।
उद्योगमन्त्री भट्टलगायत नेता पनि आफ्नै ढंगले लागेका थिए । शुरुमा ओलीका दुवै पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका नेता पनि क्रमशः विवाद मिलाउनुपर्ने भन्दै लचक भएका थिए । त्यसले पनि ओली र दाहाललाई मिल्न दबाब परेको थियो । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।