प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री बनेको झण्डै तीन महिनापछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।
मन्त्रीहरूलाई आज दिउँसो ४ बजे शपथ गराउने कार्यक्रम तय भएको छ । मन्त्रिहरूलाई शपथ गराउनका लागि साइत हेराइएको चर्चा पनि छ ।
बिहीबार बसेको सत्ता गठबन्धको दलले मन्त्रालय भागबण्डा टुंग्याएका थिए । केही दिनअगाडि गठबन्धनले मन्त्रालय भागबण्डा टुंग्याएको थियो । तर, एकीकृत समाजवादीले त्यसमा असन्तुष्टि जनाएपछि बिहीबार पुनः सहमति गरिएको हो । एकीकृत समाजवादीले स्वास्थ्य मन्त्रालय लिने र कानुन तथा संसदीय मामिला मन्त्रालय काग्रेसले लिने गरी अघिल्लो सहमति परिमार्जन गरिइएको छ ।
सत्ता गठबन्धन दलहरुबीच कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय लिने सहमति भएको छ । कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउने छ । नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ ।
जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातावरण र नेकपा एकीकृत समाजवादीले स्वास्थ्य, शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाएको छ । गत असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सुरुमा कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्री बनाएका थिए । देउवाले पछि कांग्रेसबाट स्वास्थ्य राज्यमन्त्री र परराष्ट्र मन्त्री थपेका थिए ।
को-को बन्दैछन् मन्त्री ?
माओवादी केन्द्रले आफूले पठाउन बाँकी ३ मन्त्रालय र १ राज्यमन्त्रीको नाम बुधबार नै टुंगो लगाइसकेको छ । माओवादीले स्थायी समिति सदस्य देवेन्द्र पौडेल, महेश्वर गहतराज र शषी श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।
कांग्रेसमा पौडेल पक्षले ३ मन्त्री पाउनु पर्ने माग देउवासँग गरिरहेका छन् । तर देउवाले पौडेल पक्षलाई २ र सिटौला पक्षलाई १ मन्त्रालयको जिम्मा दिन चाहेका छन् ।
पौडेल समूहमा आकांक्षी नेताहरुको संख्या बढी रहेको र मन्त्रालयको संख्या देउवाले २ मात्र दिने बताएपछि पौडेल पक्ष अप्ठ्यारोमा छ । पौडेल पक्षबाट मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, तेजुलाल चौधरी, राजन केसी र सञ्जय गौतम मन्त्रीका आकांक्षी छन् । पौडेल पक्षले २ मन्त्रालय पाउने भएपछि रिजाल र बडूको सम्भावना बढी रहेको बताइएको छ ।
जसपामा भने संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले मन्त्री छान्ने जिम्मा पाएका थिए । उनीहरुले आन्तरिक छलफल गरेपनि नाम गोप्य राखेका छन् । एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आलेलाई सरकारमा पठाउने तयारी गरेको छ ।