काठमाडौं । पार्टीको १४ औं महाधिवेशन गर्ने भनेर तोकिएको मिति अर्थात् २०७७ फागुन नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा आन्तरिक विवाद पनि बढ्दै गएको छ ।
महाधिवेशन नजिकिँदै जाँदा संस्थापन र संस्थापनइतर दुवै पक्ष महाधिवेशनकेन्द्रित रणनीति निर्माणमा जुटेका छन् ।
मुख्यतः आगामी महाधिवेशनमा आफ्नो पल्ला भारी हुनेगरी नेताहरुले क्रियाकलाप अगाडि बढाउन थालेपछि कांग्रेसमा विवाद बढेको बुझ्न गाह्रो छैन ।
पार्टी सभापति शेरबहादुर देउवाले पछिल्लो समय धमाधम विभाग गठन गरी जिम्मेवारी बाँडफाँट गर्न थालेका छन् । देउवाले कुल ४७ मध्ये २० वटा विभाग गठन गरिसकेका छन् ।
त्यसैगरी उनले विभागमा करिब ९ सय जनालाई जिम्मेवारी दिएका छन् । देउवाको यो कदमले असन्तुष्ट पक्ष संस्थापनसँग झनै रुष्ट बनेको छ ।
सभापति देउवाले धमाधम विभाग गठन गरी आफू पक्षीय नेताकार्यकर्तालाई जिम्मेवारी दिएपछि त्यसले महाधिवेशनलाई नै प्रभावित पार्नसक्ने भन्दै असन्तुष्ट पक्ष रुष्ट बनेका छन् ।
आगामी महाधिवेशनमा वहुपक्षीय प्रतिश्पर्धा हुने सम्भावना देखिएको असन्तुष्ट पक्ष देउवाको कदमविरुद्ध भने एक भएका
छन् । र, त्यसको नेतृत्व पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् ।
विगतदेखि नै देउवाले एकलौटी ढंगले पार्टी चलाउँदै आएको आरोप लगाउँदै आएको असन्तुष्ट पक्षले शनिबार भर्चुअल बैठक नै राखेको छ । उक्त बैठकमा असन्तुष्ट पक्षका प्रभावशाली मानिएका नेताहरुको सहभागिता रहेको थियो ।
बैठकमा वरिष्ठ नेता पौडेलका अलावा महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण महत, महेश आचार्य, धनराज गुरुङ, चन्द्र भण्डारी, नविन्द्रराज जोशी, गगन थापा, गुरु घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, उमाकान्त चौधरीलगायतका नेताहरुको सहभागिता थियो ।
असन्तुष्ट पक्षले देउवाको कदमविरुद्ध सिटौलालाई पनि आफ्नो पक्षमा पार्न प्रयास सुरु गरेको बुझिएको छ ।
सो भर्चुअल बैठकले देउवाको कदमको आलोचना गरेको थियो । देउवाको कदम गलत रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने भन्दै असन्तुष्ट पक्षले संस्थापनलाई आफ्नो निर्णयमा पुनर्विचार गर्नका लागि ७ दिनको समय दिएको छ ।
यद्यपी नेपाली कांग्रेसमा विकसित घटनाक्रम हेर्दा देउवा निर्णय सच्याएर असन्तुष्ट पक्षलाई विश्वासमा लिन तयार देखिन्छन् भन्न सकिने अवस्था छैन । उनी आफ्नो निर्णयमा अडिग रहन्छन् भन्ने लगभग पक्कापक्की जस्तै छ ।
तेह्रौं महाधिवेशनमा देउवाकै प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका केसी पनि देउवाको यो कदमको विरोधमा छन् ।
‘सिंगो पार्टी एक भएर जानुपर्छ भन्ने हाम्रो मान्यता हो । यो कुरा पार्टी सभापतिले पनि सोच्नुभयो र निर्णय सच्याउन चाहनुहुन्छ भने सच्याउने समय पनि होस् भनेर एक हप्ताको समय छुट्याइएको छ,’ केसीले भनेका छन्, ‘उहाँ (देउवा) वार्ता चाहनुहुन्छ भने वार्ताद्वारा यो समस्या समाधानको बाटो पनि निकालौं भन्ने हाम्रो मनसाय छ । होइन मैले जे गरेको छु त्यही ठीक हो भन्ने हो भने हामी चरणवद्ध रुपको कार्यक्रममा जान्छौं ।’
उता असन्तुष्ट पक्षकै अर्का नेता कृष्णप्रसाद सिटौला भने संस्थापन पक्ष तोकिएको समयमा महाधिवेशन गर्ने पक्षमै नरहेको तर्क गर्छन् । कोरोना भाइरसको महामारीका कारण नयाँ परिस्थिति सिर्जना भएकाले नेतृत्वले सोही अनुसार नयाँ मोडालिटीमा महाधिवेशन गर्नेगरी तयारी गर्नुपर्नेमा उनको जोड छ ।
कांग्रेसका दुवै खेमाका नेताहरु निर्धारित समय (आगामी फागुन)मा पार्टीको महाधिवेशन हुन सक्दैन भन्नेमा लगभग ढुक्क देखिन्छन् । उनीहरुले यो कुरा सार्वजनिक रुपमै खुलेर भनिसकेका छैनन् ।
यद्यपी सिटौलाले भने यो महामारीमा पनि सहज हुने गरी महाधिवेशनको मोडालिटी तय गर्नुपर्नेमा जोड दिन्छन् । त्यसो गर्न नसकिएमा महामारी रहेसम्म आगामी २–३ वार्षसम्म पनि महाधिवेशन हुन नसक्ने अवस्था आउनसक्ने तर्फ सचेत हुनुपर्नेमा जोड दिन्छन् ।
यसरी हेर्दा नेपाली कांग्रेसका नेताहरु महाधिवेशनकेन्द्रित रणनीति निर्माणमा जुटेका छन् ।
उनीहरुको विवाद महाधिवेशनको परिणाम, महाधिवेशनमा सहभागीहुने महाधिवेशन प्रतिनिधिलगायतका विषयमा केन्द्रित भएको देखिन्छ ।
जसका कारण यो विवाद आगामी दिनमा कम हुँदै जाने नभइ महाधिवेशनको मिति नजिकिँदै जाँदा थप चर्कदैं जाने जानकारहरुको विश्लेषण छ ।
यो पनि पढ्नुस् ।