काठमाडौं । पृथ्वीमा रहेको मंगल ग्रहको एक चट्टानको टुक्रा लिलामीमा राखिने भएको छ । उक्त चट्टान हालसम्म जानकारीमा आएसम्म पृथ्वीमा रहेको मंगल ग्रहको सबैभन्दा ठूलो टुक्रा हो ।
उक्त चट्टानलाई यही महिना (जुलाई) को अन्त्यमा लिलामीमा राख्न लागिएको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार उक्त चट्टान ४० लाख अमेरिकी डलरसम्ममा बिक्री हुने सम्भावना छ ।
उक्त उल्कापिण्ड (चट्टान) को नाम एनडब्लूए १६७८८८ (NWA 16788) हो । एनडब्लूए भनेको नर्थ वेस्ट अफ्रिका हो ।
लिलामीकर्ता सोथबिजले दिएको जानकारीअनुसार सामान्यतया मंगल ग्रहका उल्कापिण्डहरू साना साना टुक्राका रूपमा मात्र पाइन्छन् । तर यो एनडब्लूए भने ठूलो छ । यसको तौल २४.५ किलोग्राम अर्थात् ५४ किलोग्राम छ ।
सामान्यतया पृथ्वीसम्म आइपुग्नुअघि नै यस्ता टुक्राहरू नष्ट भइसक्छन् । तर केही भने पृथ्वीसम्म आइपुग्छन् । एनडब्लूए त्यसैमध्येको एक हो ।
खासमा यो सन् २०२३ मा नाइजेरियामा फेला परेको थियो । नाइजेरियाको दुर्गम अगाडेज क्षेत्रमा पत्ता लागेको यो चट्टान मंगल ग्रहको हालसम्म पत्ता लागेको अर्को सबैभन्दा ठूलो टुक्राभन्दा करिब ७० प्रतिशत ठूलो छ ।
पृथ्वीमा हालसम्म करिब ४०० वटा मंगल ग्रहका चट्टानहरू फेला परेको अनुमान छ । त्यसमध्ये यो सबैभन्दा ठूलो भएकाले यसलाई दुर्लभ उल्कापिण्डको रूपमा हेरिएको छ ।

सोथबिजले जारी गरेको विज्ञप्तिमा क्यासान्ड्रा ह्याटनले यो असाधारण महत्त्वको खोज र मूल्यवान उल्कापिण्ड भनेकी छन् । उनले भनेकी छन्- यो यसप्रकारको सबैभन्दा मूल्यवान चट्टान हो । यो हालसम्म पृथ्वीमा फेला परेको मंगल ग्रहको सबैभन्दा ठूलो उल्कापिण्ड हो । र एनडब्लूए १६७८८ असाधारण महत्त्वको खोज हो ।
सोथबिजले यसलाई जुलाई १६ मा न्युयोर्कमा लिलामीमा राख्नेछ ।
दुई थरी मत
तर, यो उल्कापिण्ड लिलामीमा राख्न खोजिएकामा केही विद्वानहरूले भने चिन्ता व्यक्त गरेका छन् । यो निकै महत्त्वपूर्ण वस्तु भएकाले संग्रहालयमा राखिनुपर्ने र यसको अध्ययनलाई सहज बनाइनुपर्ने उनीहरूको मत छ ।
तर, यति महत्त्वपूर्ण वस्तु लिलामीमा राखिँदा कुनै पनि धनाड्य व्यक्तिको गोदाममा हराउन सक्ने र त्यसो हुनु भनेको निकै लाजमर्दो विषय हुने उनीहरूको तर्क छ ।
तर, सबै विद्वानहरू यो तर्कमा सहमत भने छैनन् । सीएनएनका अनुसार केही विद्वानहरूले के तर्क पनि गरेका छन् भने विज्ञानले खोजेका यस्ता उल्कापिण्डहरूको बेच्ने बजार पनि हुनुपर्छ । त्यसो हुँदा विज्ञानले गति लिने उनीहरूको तर्क छ ।
उनीहरू पनि यस्ता उल्का पिण्डहरूलाई अध्ययन वा सार्वजनिक प्रदर्शनका लागि राखिए राम्रो हुने विश्वास गर्छन् । तर, यसको बजारलाई कमजोर तुल्याइनुपर्छ भन्ने तर्कमा भने सहमत देखिएनन् ।
के भनेको छ लिलामीकर्ता सोथबिजले ?
यसको लिलामीकर्ता सोथबिजका अनुसार यो एक विशाल क्षुद्रग्रहको टक्टरले मंगल ग्रहको सतहबाट निस्किएको हो । त्यसपछि १ करोड ४० लाख अन्तरिक्षयात्रा गरी पृथ्वीको वायुमण्डल छिचोल्दै सहारा मरुभूमिमा खसेको मंगल ग्रहको सबैभन्दा ठूलो टुक्रा हो यो ।

सोथबिजले यसको खोजलाई अविश्वसनीय दुर्लभ खोज भनेको छ । सन् २०२३ मा नाएजरको दुर्गम अगाडेज क्षेत्रमा पत्ता लागेको हो । र, यो पृथ्वीमा हालसम्म पाइएको अर्को सबैभन्दा ठूलो टुक्राभन्दा ७० प्रतिशत ठूलो छ ।
मंगल ग्रहका टुक्राहरू अविश्वसनीय रूपमा दुर्लभ रहेको सोथबिजले जनाएको छ । आधिकारिक रूपमा मान्यता प्राप्त ७७,००० भन्दा बढी उल्कापिण्डहरूमध्ये ४०० वटा मात्र मंगल ग्रहका उल्कापिण्डहरू रहेको सोथबिजको भनाइ छ । र, तिनीहरूको कुल अनुमानित वजन ३७४ किलोग्राम (८२५ पाउन्ड) छ । २४.६७ किलो तौलको एनडब्लूए १६७८८ ले हाल ज्ञात सबै मंगल ग्रहका सामग्रीको करिब ६.५ प्रतिशत प्रतिनिधित्व गर्दछ ।
सोथबिजका अनुसार एनडब्लूए १६७८८ आयतनका आधारमा २१.२ प्रतिशत मास्केलाइट (maskelynite) नामक सिसाले बनेको छ । अगाडि भनिएको छ- यो सिसा तब बन्छ जब एउटा क्षुद्रग्रह मंगल ग्रहको सतहमा यति ठूलो बलले ठोक्किन्छ कि त्यसले अत्यधिक ताप र दबाबका कारण चट्टानको मौलिक फेल्डस्पारलाई रूपान्तरण गर्छ । र यसका साथै मंगल ग्रहको यो टुक्रालाई ग्रहको सतहबाट अन्तरिक्षमा धकेल्छ ।
सोथबिजले यो उल्कापिण्डको वर्तमान र भविष्यमा हुने अध्ययनले मंगल ग्रहको उल्कापिण्ड वर्गीकरणको प्रणालीलाई प्रभावित पार्न सक्ने बताएको छ । विज्ञप्तिमा भनिएको छ- सम्भवतः यसलाई हाम्रो अधिक विकसित स्थलीय चट्टान वर्गीकरण प्रणालीसँग अझ बहिर ल्याउनेछ ।
एजेन्सीको सहयोगमा ।