काठमाडौं । चीनतर्फ आएको वर्षाका कारण आएको भीषण बाढीले रसुवा जिल्लामा ठूलो क्षती पुर्याएको छ । मंगलबार बिहान बिहान ३ बजेतिर अचानक आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो भने त्यहाँ रहेका सयौँ इभी गाडी पनि बगाएको छ ।
ट्रक, कन्टेनर बगाउनेदेखि मानवीय क्षतिसमेत गराएको उक्त बाढीपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीले प्रभावित क्षेत्रको निरिक्षण गर्यो ।
त्यसक्रममा टोली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्कियो । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरे ।
ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत थिए ।
प्रधानमन्त्री ओलीका अनुसार बाढी प्रभावित क्षेत्रबाट फर्किएपछि विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको थियो । उक्त बैठकले ६ बुँदे निर्णय गरेको पनि ओलीले फेसबुकमार्फत जानकारी गराएका छन् ।
बैठकले बेपत्ताहरूको खोज र उद्धारलाई जारी राख्दै अझ प्रभावकारी बनाउने निर्णय गरेको छ । त्यस्तै नेपाल–चीन जोड्ने भोटेकोशी नदीको मितेरी पुल र बाटो पुनः निर्माण गरी केरुङ नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने निर्णय पनि भएको छ ।
बैठकले सडक पूर्वाधार सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिँदै चीनसँगका वैकल्पिक नाकाहरूको सुसञ्चालनको तयारी गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, क्षतिग्रस्त भन्सार, अध्यागमन, जलविद्युत् आयोजनाका पूर्वाधारको शीघ्र मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै व्यावसायिका कन्टेनर, सवारीसाधन र अन्य सामग्रीहरूको क्षतिको बीमालगायतका अन्य प्रक्रियामा सहजीकरणको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
यस्तो छ प्रधानमन्त्री ओलीको फेसबुक स्टाटसः
बाढी प्रभावित क्षेत्रबाट फर्केपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्यौं ।
बैठकले गरेका निर्णयहरू -
१. बेपत्ताहरूको खोज र उद्धारलाई जारी राख्दै अझ प्रभावकारी बनाउने ।
२.जोखिमपूर्ण स्थितिमा खोज र उद्धारमा सम्लग्न सुरक्षाकर्मी र स्थानीय जनताप्रति धन्यवाद ।
३.नेपाल–चीन जोड्ने भोटेकोशी नदीको मितेरी पुल र बाटो पुनः निर्माण गरी केरुङ नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने ।
४. सडक पूर्वाधार सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिँदै चीनसँगका वैकल्पिक नाकाहरूको सुसञ्चालनको तयारी गर्ने ।
५. क्षतिग्रस्त भन्सार, अध्यागमन, जलविद्युत् आयोजनाका पूर्वाधारको शीघ्र मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै व्यवसायीका कन्टेनर, सवारी साधन र अन्य सामग्रीहरूको क्षतिको बीमालगायतका अन्य प्रक्रियामा सहजीकरणको व्यवस्था मिलाउने ।
६. घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतक र बेपत्ता परिवारलाई प्रचलित कानुन अनुसार तत्काल राहत उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने।
|