काठमाडौं । थाइल्यान्ड र कम्बोडियाका सैनिकहरूबीच झडप भएको छ । दुई देशको सीमावर्ती क्षेत्रमा सैनिकहरूबीच गोली हानाहान भएको हो ।
बीबीसीका अनुसार दुई देशका सैनिकहरूबीच भएको उक्त झडपमा परी हालसम्म १२ जनको मृत्यु भएको छ । त्यस्तै १४ जना घाइते भएका छन् ।
थाइल्यान्डका स्वास्थ्यमन्त्रीले झडपमा परी एक सैनिक तथा ११ जना नागरिकको मृत्यु भएको जानकारी दिएका छन् । कम्बोडियाको सैनिकले गरेको आक्रमणमा परी उक्त संख्यामा मृत्यु भएको हो ।
त्यसको जवाफमा थाइल्यान्डले कम्बोडियाको सैन्य अखडामा हवाई आक्रमण गरेको छ । यद्यपि, दुवै देशले एकअर्कामाथि आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।
दुई देशका सैनिकहरूबीच झडप सुरु भएसँगै थाइल्यान्डले सीमावर्ती क्षेत्रका ८६ गाउँबाट लगभग ४० हजार नागरिकलाई सुरक्षित स्थानमा सारेको छ । यसका साथै कम्बोडियामा रहेका थाइ नागरिकलाई पनि स्वदेश फर्कन भनिएको छ ।
कम्बोडियाको राजधानी नोम पेन्हमा रहेको थाइल्यान्डको दूतावासले सीमामा स्थिति खराब बनेको जनाएको छ । यसका साथै यो टकराब लामो समयसम्म रहन सक्ने खतरा रहेकाले आफ्ना नागरिकलाई यथासक्य चाँडो कम्बोडिया छाड्न आग्रह गरेको छ ।

कम्बोडिया र थाइल्यान्डबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । यो ११८ वर्षभन्दा पुरानो विवाद रहेको जनइएको छ । खासगरी प्रिह बिहार तथा मन्दिर एवं आसपासका क्षेत्रलाई लिएर दुई देशबीच विवाद छ ।
कम्बोडिया फ्रान्सको अधिनमा रहँदा सन् १९०७ मा यी दुई देशबीच ८१७ किलोमिटर लामो सीमा रेखा बनाइएको थियो । तर, थाइल्यान्डले सुरुदेखि नै त्यसको विरोध गर्दै आएको छ । उक्त नक्सामा प्रिह बिहियर नामक ऐतिहासिक मन्दिर कम्बोडियामा पर्दछ ।
दुई देशबीचको यो विवाद अन्तर्राष्ट्रिय अदालतसम्म पुगेको थियो । सन् १९५९ मा कम्बोडियाले यो मामिला अन्तर्राष्ट्रिय न्यायालयमा पुर्याएको थियो । र, सन् १९६२ मा अन्तर्राष्ट्रिय न्यायालयले उक्त मन्दिर कम्बोडियाको भएको फैसला सुनाएको थियो ।
अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार थाइल्यन्डले पनि उक्त कुरा स्वीकार त गर्यो तर आसपासको जमिको विषयमा भने विवाद कायमै रह्यो ।
सन् २००८ मा कम्बोडियाले यो मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास गरेपछि दुई देशबीचको विवाद बढेको हो ।
अहिले मात्र नभएर दुई देशका सैनिकबीच सन् २०११ मा पनि झडप भएको थियो । त्यसबेला पनि हजारौँ मानिसहरू आफ्नो घर छाडेर भाग्न बाध्य भएका थिए ।
त्यसपछि सन् २०११ मै अन्तर्राष्ट्रिय न्यायालयले दुवै देशलाई विवादित क्षेत्रबाट आफ्नो सेना हटाउन आदेश दियो । अनि सन् २०१३ मा पुनः मन्दिर र आसपासको क्षेत्र कम्बोडियाकै भएको बतायो । यद्यपि यो सीमा विवाद अझैसम्म पनि पूर्ण रूपमा समाधान भएको छैन ।