काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा गम्भीर विवाद देखिएको छ । केही दिनदेखिको संवादहीनता तोड्दै शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भए पनि त्यसले समस्या सुल्झाउन सकेको छैन ।
यसैबीच अर्थमन्त्री समेत रहेका नेकपाका महासचिव विष्णु पौडेलले पार्टीमा गम्भीर संकट रहेको कुरा खुला रूपमै स्वीकार गरेका छन् ।
'राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको,' पौडेलले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै पौडेलले पार्टी नेतृत्वले पाएको जिम्मेवारी पूरा गर्न नसकेको पनि संकेत गरेका छन् ।
'पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु दुई वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो,' पौडेलले लेखेका छन्, 'तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ ।
पौडेलले 'पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको' उल्लेख गर्दै नेतृत्व तहको अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने टिप्पणी गरेका छन् ।
साथै उनले पार्टी एकताको रक्षा एवं विकासका लागि सकारात्मक योगदान दिन नेता कार्यकर्ता तथा सदस्यहरूलाई अह्वान गरेका छन् ।