काठमाडौं । एक हप्ताभन्दा लामो समयदेखिको संवादहीनता चिर्दै शनिबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच शनिबार भेटवार्ता भएको छ ।
पार्टीभित्रको विवादकै कारण असमझदारी बढेपछि अध्यक्षद्वयबीच भेटवार्ता भएको थिएन । शनिबार भने प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच भेट भएको हो ।
अध्यक्षद्वयबीच तिक्तता बढेपछि प्रधानमन्त्री ओलीपक्षीय नेताहरू संवादहीनता अन्त्यका लागि लगातार प्रचण्ड निवास खुमलटार पुगेका थिए । नेकपाका महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल तथा गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ एकपछि अर्को गर्दै प्रचण्ड निवास पुगेका थिए ।
उता विवादकै समयमा ओलीले वरिष्ठ नेता माधव नेपालसँग भेट गरी आगामी नेतृत्वका लागि तयार रहन भने पनि त्यसमा नेपालले सकारात्मक प्रतिक्रिया दिएका थिएनन् ।
निर्णय हुने तर त्यसको कार्यान्वयन नहुने एवं ओलीले आफूखुसी निर्णय गरेको भन्दै प्रचण्ड-नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । अझ कर्णाली प्रदेशमा उत्पन्न समस्याका सम्बन्धमा अध्यक्षद्वयका फरक फरक निर्देशन र सचिवालयले जारी गरेका फरक फरक वक्तव्यका कारण नेकपाको विवाद छताछुल्ल भएको थियो ।
शनिबार प्रधानमन्त्री ओलीसँगको भेटमा प्रचण्डले तिहार अगावै पार्टी कमिटीहरुको बैठक डाक्न प्रस्ताव गरेको बताइएको छ । स्रोतका अनुसार प्रचण्डले एक दुई दिनभित्रै सचिवालय बैठक बोलाउने प्रस्ताव गरेका छन् । पार्टीमा उठेका समस्याको समाधान सचिवालय बैठकमा छलफल गर्नुपर्नेमा उनको जोड छ ।
विश्वासको संकट बढेपछि प्रचण्ड त्यसको समाधान अब पार्टी कमिटीको बैठकबाट खोज्ने रणनीतिमा रहेको विश्लेषण गरिएको छ । कमिटीमा छलफल हुँदा आफूहरूको बढी प्रभाव हुने प्रचण्ड-नेपाल पक्षको विश्लेषण रहेको बुझ्न सकिन्छ ।
उता ओलीले भने तत्काल बैठक डाक्न विभिन्न समस्या रहेको जवाफ दिएका बताइएको छ । प्रचण्डलाई प्रधानमन्त्री ओलीले पहिले आफूहरू (अध्यक्षद्वय) बसेर सहमति खोज्नुपर्नेमा जोड दिएका थिए ।
कर्णाली प्रदेशमा उत्पन्न समस्या, मन्त्रीमण्डल विस्तारपछि नेकपा विवाद चर्किएको छ । त्यस्तै पर्सामा नेकपाका जिल्ला सदस्य मुकेश चौरासियाको हत्या प्रकरणपछि विवाद थप पेचिलो बनेको छ ।
प्रचण्ड-नेपाल पक्षले ओलीमाथि पार्टीमा विगतमा भएको सहमति कार्यान्वयन नगरेको, सरकार सञ्चालन गर्दा पार्टीलाई पूरै बेवास्ता गरिएको, पार्टीमा छलफल र समन्वय गरी सरकारको कामकारबाही नगरेको आरोप लगाएको छ ।
प्रचण्डले शनिबार यस विषयमा पनि असन्तुष्टि जनाएका बुझिएको छ । त्यस्तै भारतको गुप्तचर निकाय रअका प्रमुख सामन्त गोयलको भ्रमण तथा उनीसँग प्रधानमन्त्रीले गरेको भेटलगायतका विषयमा पनि नेकपामा चर्को असन्तुष्टि छ ।
प्रचण्डले आफूले हदैसम्म लचकता देखाउँदा पनि कमजोरी ठानिएको भन्दै असन्तुष्टि व्यक्त गरेको बुझिएको छ ।