काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूमा विश्वासको संकट देखिएको छ । पार्टीभित्रको विवाद बढ्दै जाँदा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच समेत केही समयदेखि भेटघाट हुन सकेको छैन ।
उता सञ्चारमाध्यमहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध पार्टीभित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको भन्ने समाचारहरू पनि सार्वजनिक हुन थालेका छन् । कर्णाली प्रदेशस्थित नेकपाको संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याइएको र असफल भएको धेरै दिन नभएका कारण केन्द्रमा पनि त्यस्तै अवस्था आउने त होइन ? भन्ने प्रश्नहरू पनि छन् ।
दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा विवादहरू बढ्दै जाँदा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा दिने प्रतिक्रिया हेर्नलायक हुन्छ । तलैसम्म गुटगत रूपमा विभाजित नेकपाका केही यस्ता कार्यकर्ताहरू छन् जो सामाजिक सञ्जालमा एउटा पक्षको देवत्वकरण र अर्को पक्षको आलोचना गर्न तयार देखिन्छन् । यसको अर्थ के पनि हो दुई ठूला पार्टीका कार्यकर्ताहरू अझैसम्म पनि आपसमा अन्तर्घुलित भइसकेका छैनन् (हुन दिइएको छैन ?) ।
यो त स्वार्थी समूहको कुरा भयो । तर, पार्टी एकताले धेरैलाई खुसी बनाएको थियो । अब कम्युनिस्टहरूले 'मुलुक बनाउँछन्' भन्ने एकखालको जनमत पनि थियो । त्यो जनमतलाई यस्ता विवाद र प्रतिक्रियाहरूले निराश बनाएको छ । अझ पार्टी फुट्ने सम्मको भविष्यवाणी हुदै गर्दा तिनीहरू निराश बनेका छन्, जो नेकपाले विकास र समृद्धी दिनेछ भन्ने प्रतिक्षामा थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रायः हरेक निर्णय आफूखुसी गरेको र त्यसो गर्दा पार्टीको विधि पद्दतिको बेवास्ता गरिएको असन्तुष्ट पक्षको आरोप छ । जसका कारण अध्यक्षद्वयको सम्बन्ध चिसिएको र भेटघाट तथा छलफल हुन छाडेको समाचारहरू आइरहेका छन् ।
केही समय पहिले बसेको स्थायी समिति बैठकमा पार्टी नै फुट्ने सम्मको आँकलन गरिएको चर्को विवाद तत्कालका लागि थामथुम पारिएको थियो । तर, पछिल्ला दिनमा विवाद र असन्तुष्टिलाई व्यवस्थित गर्नेभन्दा पनि अझ भड्काउने खालका गतिविधि देखिएका छन् ।
अहिले मूलतः दुईवटा महत्वपूर्ण कुराहरू सार्वजनिक भएका छन्, जसले नेकपामा विवाद कुन तहसम्मको छ भन्ने आभास दिन्छ । पहिलो हो, अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा छन् । र, अर्को हो- ओलीले नेपाललाई आगामी नेतृत्वका लागि आग्रह गरे ।
तर, यी दुईवटा कुराहरूमा संगति मिल्यो त ? एक त प्रचण्ड र नेपाल अविश्वासको प्रस्ताव ल्याउन सहमत भएका हुन् भने ओलीले भावी नेतृत्वका लागि गरेको आग्रह नेपालले स्वीकार्ने कुरा नहुनु पर्ने हो । अर्को भावी नेतृत्वका लागि प्रस्ताव आउँदा नेपालले प्रचण्डसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने कुरामा सहमत नहुनु पर्ने हो ।
अर्कातर्फ ओली प्रचण्डबीच भेटघाट बन्द भएपछि ओलीनिकट मानिने नेताहरू प्रचण्ड निवास पुगेर प्रचण्डसँग छलफल गरेका समाचारहरू पनि आइ नै रहेका छन् । तर, यसरी अघि बढ्ने भन्नेमा सहमति जुटीसकेको छैन । यसको मूल कारण हो विश्वासको कमी । त्यसलाई पुष्टि गर्दै असन्तुष्ट पक्षले प्रधानमन्त्रीमाथि सहमति उल्लंघन गरेको आरोप लगाएको छ ।
नेकपामा अविश्वास बढ्दै गएको सन्दर्भमा भारतको जासुसी संयन्त्र रअका प्रमुख सामान्त कुमार गोयल नेपाल आए र प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए । नेपालको राजनीतिमा लामो समयदेखि भारतीय प्रभावको बारेमा थुप्रै टिकाटिप्पणीहरू भएका छन् । यस्तो पेचिलो अवस्थामा रअ प्रमुख नेपाल आउनु र प्रधानमन्त्रीसँग लामो समयसम्म भेटघाट गर्नु (गोप्य ?) लाई अर्को पक्षले संकाको नजरले हेरेको छ । आमरूपमा पनि यस कार्यको आलोचना भएको छ ।
नेकपामा अहिले एक पक्षका नेता कार्यकर्ताले अर्को पक्षका नेता कार्यकर्तामाथि खुलेआम टिप्पणी र आलोचना हुनु सामान्यजस्तै भएको छ । यसले पार्टी एकतालाई मजबुट नबनाउने मात्र होइन थप कमजोर बनाउने निश्चित छ ।