काठमाडौं । हामी आफू खुसी हुनका लागि हरसम्भव प्रयास गर्दछौं । खुसी पनि हुन्छौं । तर, त्यो खुसी सधैं रहीरहँदैन । आखिर हामी के त्यस्तो गल्ती गर्छौं जसका कारण खुसी हाम्रा लागि अस्थायी हुन जान्छ ?
तुलना गर्ने बानी
हामी जे कुराको पनि तुलना गर्ने गर्दछौं । जसका कारण स्थायी रूपमा खुसी हुन सक्दैनौं । हामी आफू सफल भएर मात्र सन्तुष्ट हुन सक्दैनौं । त्यसको तुलना गर्ने बानी हामीलाई परेको हुन्छ । त्यसैले हाम्रो खुसीको तुलना अर्काको खुसीसँग गर्न थालेका हुन्छौं । जसबाट हाम्रो दुःख सुरू हुन्छ ।
एकपटक भगवान शिवले आफ्नो एकजना भक्तलाई दर्शन दिनुभएछ । भक्तलाई दर्शन दिएर भगवान शिवले चाहेको वर माग्न भन्नुभएछ । भगवान शिवले वर माग्नु भनेपछि भक्त पनि खुसी भएछ ।
भक्तले भगवान शिवलाई भने छ- जे मागे पनि वर पाउँछु त प्रभु ?
शिवले भन्नुभएछ- पाउछौ, तर सर्त के छ भने तिमीले जे माग्छौ त्यो त पाउछौ तर तिम्रो छिमेकीले त्यसको दोब्बर पाउँछ ।
उक्त भक्त खुसी हुँदै घर पुग्यो । उसले वर माग्यो- हे भगवान मलाई राजमहल जस्तै घर प्राप्त होस् । तत्कालै उसको घर राजमहल जस्तो बन्यो ।
उसले घरबाहिर निस्किएर हेर्छ त छिमेकीको त उसका जस्ता दुईवटा महल भइरहेका । उसको टाउको हल्लियो ।
फेरि उसलाई आमोद-प्रमोदतर्फ मन गयो । उसले त्यतातर्फ मन लगायो । तर, उसले जे-जे माग्यो उसको छिमेकीले त्यसको दोब्बर पाउँदै गयो ।
आफूले भन्दा छिमेकीले बढ्ता प्राप्त गर्दै गएपछि उक्त भक्तको मन मानेन र छिमेकीभन्दा आफू श्रेष्ठ हुन उसले फेरि अर्कोपटक पनि वर माग्यो ।
यस पटक भने उसले यस्तो वर माग्यो- हे भगवान् मेरो एउटा आँखो फुटाइदिनु ।
यसको अर्थ उक्त भक्त आफूले प्राप्त गरेको सफलताले मात्र खुसी हुन सकेन । उसले आफूलाई छिमेकीसँग तुलना गर्यो । जसका कारण उसलाई तुलनात्मक रूपमा छिमेकी सफल भएकामा मन मानेन र छिमेकीलाई बढ्ता दुःख दिनका लागि आफ्नै समेत हानी हुने गरी एउटा आँखा फुटाइदिने वर माग्यो ।
यसको अर्थ उ छिमेकीसँगको तुलनाका कारण आफू पनि दुःखको बाटोमा अघि बढ्यो ।
आनन्द हुने कला सिकौं
मानिसले आफ्नो सुख सुविधाका लागि पृथ्वीका साधन र स्रोतमाथि अतिक्रमण गरिरहेको छ । उसले अन्य प्राणीको अस्तित्वको सम्बन्धमा कुनै महत्व राखेको छैन ।
मानिसका कारण पृथ्वीका अन्य प्राणीको जनजीवन यतिधेरै कष्टकर किन भइरहेको छ ? किनकी मानिसले आफ्नो सुखसुविधाबाहेक अन्य कुराको बारेमा सोचेन ।
तर, आफ्नो आनन्द र सुखसुविधाका लागि पृथ्वीमा अतिक्रमण गर्ने अधिकार मान्छेलाई छ ? विल्कुल छैन ।
त्यसैले हामी आफूले प्राप्त गरेको कुरामा सन्तुष्ट रहन सिक्नु पर्दछ । किनकी यो दुनियाँमा त्यस्तो कुनै कुरा छैन जसलाई प्राप्त गरे पछि हाम्रो चाहना पूरा होस् । त्यसैले हामीले हाम्रा चाहना पूरा गर्दा अरूको जीवन खतरामा पार्नु हुँदैन ।
तपाईंको चाहना आफू खुसी हुनु हो । तर तपाईं अरूसँग आफ्नो तुलना गरिरहनुभएको हुन्छ । जस्तो कि यति धन पाएपछि खुसी हुन्छु, यति पढेपछि खुसी हुन्छु, यो कपडा किनेपछि खुसी हुन्छु । यसो गर्नु भनेको आफ्नो खुसीका लागि बाहिरी परिस्थितीमा निर्भर रहनु हो । जसले तपाईंलाई वास्तविक अर्थमा कहिल्यै पनि खुसी हुन दिँदैन ।
तपाईंले कुनै पनि कुराको चाहना गर्नै हुँदैन भनेको होइन । तर, त्यसलाई खुसी प्राप्त गर्ने साधनका रूपमा प्रयोग गर्नु हुन्न । खुसी पाउनु महत्वपूर्ण कुरा हो उक्त साधन त एउटा आवश्यकता मात्र हो । अर्थात् आफ्नो खुसीलाई बाहिरी परिस्थिति र अर्काको नजरमा निर्भर रहनबाट बचाउँनुहोस् ।
यो पनि पढ्नुहोस् ।
रिसले ज्ञानको बाटो थुन्छ, ज्ञानी बन्ने हो भने रिसमाथि नियन्त्रण गर्नुस्
केहि मनछुने भनाइ जसले तपाईंलाई उत्प्रेरणा दिन सक्छ