नेपाली कांग्रेसका सभापति शेरबहादुर नयाँ सरकार गठनका लागि अग्रसर त भएका छन् । तर, उनी नेतृत्वमा सरकार गठन हुने सम्भावना भने ज्यादै कम छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि देउवा सरकारको नेतृत्व गर्न अग्रसर त भए तर, संसदीय अंकगणित उनको पक्षमा देखिएको छैन ।
खासगरी जनता समाजवादी पार्टीमा दुई धार देखिएपछि ओलीको विकल्पमा सरकार गठन गर्नका लागि आवश्यक सङ्ख्या नपुग्ने देखिएको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीको विकल्प खोज्नु नहुने पक्षमा छन् । उता जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ओली हटाउनु पर्ने पक्षमा छन् ।
जसपाको भट्टराई र यादव पक्षले मत दिए पनि देउवाको पक्षमा आवश्यक संसदीय गणित पुग्ने सम्भावना छैन । त्यसका लागि सिंगो जसपा देउवाको पक्षमा देखिनु पर्ने छ । तर, त्यो सम्भावना टरिसकेको छ । जसपा अध्यक्ष ठाकुरले विज्ञप्ति प्रकाशित गरी तत्काल ओलीको विकल्प खोज्ने पक्षमा आफूहरू नरहेको प्रष्ट पारिसकेका छन् ।
सिंगो जसपाले समर्थन नगर्ने र भट्टराई र यादव पक्षले मात्र गरेको समर्थनले बहुमत नपुग्ने भएपछि कांग्रेसको ध्यान एमालेकै असन्तुष्ट पक्षतर्फ गएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसले माओवादी केन्द्र र जसपासँग छलफल गरेको थियो । सो छलफलमा माओवादी केन्द्र सकारात्मक देखिए पनि जसपाको ठाकुर र महतो पक्ष ओलीको विकल्प खोज्न राजी भएन ।
जसका कारण एमालेको असन्तुष्ट पक्षको साथ कांग्रेसलाई आवश्यक देखिएको छ ।
खासमा एमालेका माधव नेपाल पक्षीय सांसदले राजीनामा दिने तयारी गरेका थिए । तर उनीहरूले राजीनामा नदिएकाले कांग्रेसको पक्षमा बहुमत नजुटेको हो । माधव नेपाल पक्षका सांसदले राजीनामा दिए संसदमा तत्काल कायम रहेका सांसदहरूको सङ्ख्या पनि घट्ने भएकाले बहुमत पुर्याउन आवश्यक सङ्ख्या पनि घट्ने छ । जसका कारण बहुमत पुर्याउन अलि सहज हुने छ ।
उता माधव पक्षीय नेता घनश्याम भुसालले सांसद बुधबार फेसबुकमा एक स्टाटस पोष्ट गरे । उनले लेखेका छन्- 'आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।'
भुसालले फेसबुक स्टाटसमा एमाले विभाजन गर्न खोजिएको पनि बताएका छन् ।
यस्तो छ भुसालको स्टाटस :
हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।
आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन ।
विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।
त्यस्तै डा. भट्टराईले देशको संकट समाधानका लागि भन्दै चार बुँदे प्रस्ताव अघि सारेका छन् । बुधबार एक ट्विट गर्दै भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् ।
भट्टराईले गरेका चार बुँदे प्रस्ताव
१. धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं
२. दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति
३. साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत
४. एक वर्षभित्र चुनाव