घरेलु तथा साना उद्योग कार्यालय, धादिङका प्रमुख किशोर सापकोटालगायतले हौस्याएपछि म पनि फुर्किएर संयुक्त बजार अनुगमनको नेतृत्व गर्दै दौडिरहेको छु । हरेक दिन ।
उहाँहरुको ऊर्जाले २१ दिनदेखि दैनिक कम्तीमा ५ घण्टा अनुगमनमा खटिएका छौँ । आज त रेकर्डतोड भो । बिहान ५.३० बजे अनुगमनमा निस्किएको, फर्किदा रातिको साढे आठ बजिसकेछ । खाना खान आधा घण्टा र खाजा खान अर्को आधा घण्टा बाहेक पुरै समय अनुगमन गर्दा गर्दै बित्यो ।
त्रिपुरासुन्दरी गाउँपालिकामा १५ दिनअघि सिल गरेको पसल आज खोली दिनु पर्ने भएकोले त्यो खोल्ने पनि अनि बाँकी ठाउँमा अनुगमन गर्ने योजना थियो ।
हामी निस्किँदा सदरमुकाममा पसल खुलेकै थिएनन् । अलि परपर जाँदै गर्दा पसल खुल्न थाले । गोलाभञ्ज्याङमा भर्खरै बढारकुँढार हुँदै गरेको पसलबाट अनुगमन सुरु भयो ।
त्यहाँबाट थुम्की, हनुमानडाँडा हुँदै टारीबेशी झर्यौँ । टारीबेशीका होटलको अवस्था बिजोगै रहेछ । हुन त यतिबेला होटल चलेका छैनन् तर बसोबास त्यही भएका उनीहरूले खुला राखेका होटल देखेपछि 'घुस्नै' पर्यो ।
होटल सुकौरा एण्ड खाजा घरको त कुरै नगरौँ । म्याद गुज्रिएको बियर, जुस, सफ्ट ड्रिंक्स त कति हो कति ? १०० बोतल जति नष्ट गरेपछि सचेत गराउँदै नेपालकै दोस्रो ठूलो टार सल्यानटारमा उक्लियौँ ।
एकजनाले विदेशबाट वडा नं. १ तिर अनुगमनको लागि अनुरोध गर्नुभएको थियो । उहाँले भनेको ठाउँ आसपास लाग्यौँ, हरि किराना स्टोर्सले बिजोगसँग राखेका सामानहरूको अवस्था हेर्दा कारबाही नै गर्नुपर्ने देखियो ।
यतिबेला जरिवाना हाम्रो प्राथमिकता होइन तर लापरबाहीको पनि हद हुन्छ । अनि अनुगमन टोलीको पनि सहने दायरा । रु. ५ हजार जरिवाना लगायौँ ।
सल्यानटारको लगभग पूरै चक्कर लगाउँदा ३ ओटा फर्मलाई जरिवाना लाग्यो ।
सल्यानटारमै मैले कहिले दैख्दै नदेखेका पेय पदार्थ भेटिए । बहुराष्ट्रिय कम्पनीका ब्रान्डसँग मिल्दोजुल्दो नाम मात्रै हैन । रंग, डिजाइन, लेबलसमेत झुक्किने गरी उत्पादन गरिएका जुम्ल्याहा सन्तानजस्ता लाग्ने पेय पदार्थहरू, त्यो पनि गाउँगाउँमा, देख्दा छक्कै परेँ ।
फन्टा सानैदेखि मन पर्ने । सफ्ट ड्रिंक्स पिउँदा पहिलो प्राथमिकता त्यही हुन्थ्यो र छ । यहाँ फन्टु भेटियो । झट्ट हेर्दा न रङ, न बोतल, न डिजाइन, केही छुट्याउनै नसकिने । लेबल हेरेपछि झन् चकित भएँ । धनगढीको उत्पादन रहेछ ।
कहाँ धनगढी ! कहाँ धादिङको सल्यानटार ! कसरी यहाँ आइपुग्यो ? धादिङबेशी वा अन्य बजारका २ सयभन्दा बढी पसल अनुगमन गर्दा कतै देखेकै थिइनँ । अनि कोकाकोला जस्तै कोल्ड-कोला, चिसो-कोला, चट-कोला । माउन्टेन ड्युजस्तै मेन्टेन ड्यु । स्प्राइटजस्तै स्ट्राइक । यस्तै यस्तै ।
आगिन्चोकको त्रिपुरा बिजनेस हाउस हेर्दा अर्को आश्चर्य । एउटै पसलमा ३७ किसिमका म्याद गुज्रिएका सामग्री ।
उफ ! गाउँको पसल । जे सामान पनि छ । तर प्रायः म्याद सकिएका । चिसो । बिस्कुट । पिठो । चकलेट । पोट्याटो क्रेकर । मसलाहरू । तेल । बियर समेत म्याद गुज्रिएका ।
२० हजार बराबरको सामान त्यही नष्ट गरियो अनि २० हजार जतिको जफत । उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड गरिएको पाइएकोले ५ हजार जरिवाना गरियो ।
आगिन्चोक डाँडामा रहेछ न्यू शर्मा इन्टरप्राइजेज । नमूना पसल । जसको बारेमा उपभोक्ताबाट बहुतै गुनासो आइरहेको थियो पहिलेदेखि । घरेलु कार्यालयले पनि पटक-पटक सचेत गराउँदा समेत नटेरेको अरे ! हामी पसलमा पुग्यौँ । बन्द थियो । छिमेकीलाई बोलाई दिन भन्यौँ । पर नयाँ घर बनाउँदै गरेको ठाउँमा हुनुहुँदो रहेछ । म माथिल्लो तलामा 'ट्रस'को काम भइरहेको घरमै पुँगे । तल झर्न भनेँ । सँगसँगै पसलमा गयौँ ।
न पहिलेको निर्देशन पालना गरेको ।
न निषेधाज्ञाको मतलब हेक्का भएको ।
न बिक्री बिल देखाउन सकेको ।
न पसल सफा राखेको ।
न मदिरा बिक्री गर्ने अनुमति लिएको ।
भेटरिनरी आइटम, फेन्सी आइटम, मदिरा, खाद्यान्न सबै खिचडी बनाएर राखिएको । साहुजीले गल्ती सहजै स्वीकारे । ५० हजार जरिवाना लगाइयो ।
उहाँको हाउभाउ, प्रस्तुति हेर्दा यस्तो लाग्यो ५० हजार तिरेर उहाँले छुट्कारा पाउनु भयो । मानौँ जरिवानाले असरै गरेन । उहाँले सहयोगीलाई भनेको कुरा मेरो कानमा अहिले पनि गुन्जिरेछ 'जाउ बाबु, त्यो अगिको पैसा लिएर आउ ।'
मानौँ त्यो पैसा हामी अनुगमनको लागि आउँदै गरेको चाल पाएर जरिवाना तिर्नै ठिक्क पारेर राखेको हो । म दोस्रो पटक छक्क परेँ ।
अनुगमन गरेका ८० प्रतिशत पसलमा म्याद गुज्रिएका सामग्री पाइए । गाउँका पसले भन्छन्, 'ओहो, यसको पनि म्याद गएको रहेछ ! यो त फलानो होलसेलबाट हिजैमात्र झारेको । अस्ति मात्रै झारेको । म्याद गएको पठाइदिएछ । तपाइहरूले हामी साना व्यापारीलाई भन्दा ठूला होलसेललाई हेर्नु पर्यो ।'
हतार हतार होलसेल पसलका गोदाममा छिरेर एकेक कार्टुन, एकेक बोरा च्यात्दै हेर्यौँ, म्याद गुज्रिएको केही भेटिँदैन । खाद्यान्न लगायत 'ड्राई फुड्स' बोकेका ट्रक, जीप बाटोमै रोकेर पनि हेर्यौं कतै साँच्चै होलसेलले म्याद गुज्रिएका सामान पो पठाएका छन् कि ? त्यहाँ निषेध आदेश गरी ओसार पसार तथा बिक्री वितरण गर्न रोक लगाइएका मदिराजन्य पदार्थ भेटिए र आइन्दा नओसार्न सचेत गरायौँ । अस्ति त ३ कार्टुन बियर जफतै गरेका थियौँ । तर, म्याद गुज्रिएका सामान भेटेनौँ । यी म्याद गुज्रिएका सामान आउँछन् कहाँबाट ?
अनि उपभोक्ताले किन म्याद नहेरी खरिद गर्छन् ?
फेरी छक्क । आजै तीन पटक । सायद यही होला तीनछक भनेको । हाहाहाहा ।
उपाध्याय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुन् । उपाध्यायको फेसबुकबाट ।