१. कुन खोप लगाउने ?
- कोरोना भाइरसविरुद्ध स्वीकृति प्राप्त तथा सरकारले तोके बमोजिम जुन खोप लगाए पनि काम गर्छ । हामीकहाँ छनोटको अवसर सीमित भएको हुँदा जुन उपलब्ध छ, त्यही लगाउनु राम्रो हुन्छ ।
२. पहिलो मात्रा कोभिशिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा कुन लगाउने ?
- पहिलो मात्रा जुन खोप लगायो, दोस्रो मात्रा त्यहि खोप लगाउनु राम्रो हुन्छ । कोभिशिल्ड एस्ट्रेजेनेकाको उत्पादन हो । जापानले नेपाललाई प्रदान गर्ने १६ लाख खोप पनि एस्ट्रेजेनेकाको खोप हो । तसर्थ केही दिन पर्खेर जापानले दिने खोप लगाउनु राम्रो हुन्छ । एस्ट्रेजेनेकाको पहिलो मात्रा लगाएका व्यक्तिले दोस्रो मात्रा मोडेर्ना वा फाइजरको खोप लगाउँदा फाइदा हुने जनाइएको छ । हामीकहाँ मोडेर्ना र फाइजरको खोप उपलब्ध छैन । तसर्थ चीनको भेरोसिल वा अमेरिकी जोन्सन एण्ड जोन्सनसँग मिक्सम्याच नगर्नु राम्रो हुन्छ ।
३. दीर्घ रोगीले खोप लगाउने कि नलगाउने ?
- कोभिडबाट दीर्घबिरामीलाई बढी जोखिम हुने भएकोले दीर्घबिरामीले खोप लगाउनु सुरक्षित हुन्छ । आफ्नो रोग तथा औषधिको बारे आफ्नो चिकित्सक वा खोप केन्द्रमा सल्लाह गरेर लगाउनु थप सुरक्षित हुन्छ ।
४. चीनको भेरोसिल र जोन्सनको खोपमध्ये कुन लगाउने ?
- सरकारले तोके बमोजिमका उमेर र समूहले तोके बमोजिमको खोप लगाउने ।
५. अमेरिकामा जोन्सनको खोप किन कम लगाइएको छ ?
- अमेरिका लगायत विकसित देशमा खोप छनोटका धेरै विकल्प छन् । तसर्थ उनीहरूले आफ्नो छनोट अनुसार फाइजर, मोडेर्ना, जोन्सन, एस्ट्राजेनेकाको खोप लगाएका छन् । हामीकहाँ त्यो सुविधा छैन । त्यस्तै जोन्सनको खोप लगाउँदा अमेरिकामा दशौँ लाखमा ६ जनालाई रगत जम्ने समस्या देखिएकोले फाइजर र मोडेर्नामा बढी आकर्षण छ ।
६. नेपालमा उपलब्ध खोप कसले लगाउन मिल्दैन ?
- १८ वर्ष मुनिका युवा/बालबालिकाले ।
- कोभिड खोप वा खोपका घटकको एलर्जी भएका व्यक्तिले ।
- ज्वरो आएका व्यक्तिले ।
- कोभिड लागेका (निको नभएका) व्यक्तिले ।
- रगत जम्ने समस्या भएका व्यक्तिले ।
७. कसले सावधानीपूर्वक लगाउनु पर्दछ ?
- गर्भवती तथा ६ महिनाभन्दा कम उमेर भएका शिशुका आमाले (फाइदाभन्दा जोखिम बढी भएमा सम्बन्धित चिकित्सकको निगरानीमा लगाउन मिल्छ ) ।
८. खोप लगाउनुपूर्व तथा लगाएपछि के गर्ने ?
- सकभर खाना तथा पानी खाएर, भौतिक दुरी कायम गरेर खोप लगाउने । खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा बस्ने । कुनै समस्या भए तुरुन्त अस्पताल जाने । ज्वरो आउने, शरीर दुख्ने, जाडो हुने लगायतका लक्षण केही दिनमा ठिक हुन्छन् ।
९. खोप सबैले नपाउने अवस्थामा के गर्ने ?
- खोपको उपलब्धतासँगै सरकारले उमेर समूह निर्धारण गर्दछ । तसर्थ आफ्नो पालोमा मात्र लगाउने ।
१०. बालबालिकाले कहिले लगाउने ?
- बालबालिकामा खोपको ट्रायल बिभिन्न देशमा भइरहेको छ । केही महिनामा धेरै खोपले बालबालिकाको लागि खोप विकास गर्नेछन । त्यो बेलासम्म खोप लगाएका/नलगाएका/बालबालिका सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने ।