त्यसो त वामदेव गौतममा एक पटक मुलुकको प्रधानमन्त्री हुने तीव्र इच्छा छ भन्ने कुरा लुकेको छैन । यो तीव्र इच्छाले गौतमलाई महत्त्वाकांक्षी मात्र होइन अस्थीर पनि बनाएको छ ।
अघिल्लो चुनावमा वाम गठबन्धनबाट प्रतिनिधिसभामा निर्वाचित हुँदै प्रधानमन्त्रीसम्म बन्ने उनको लक्ष्य थियो । तर, निकै मतान्तर भएको अवस्थामा पनि चुनाव हारेपछि गौतमको प्रतिनिधिसभामा पुग्ने बाटो रोकियो ।
पछि माओवादी र एमाले मिलेर नेकपा बन्यो । त्यसताका पनि गौतम पुनः प्रतिनिधिसभामा पुग्ने प्रयासमा थिए । उनले प्रतिनिधिसभाका लागि निर्वाचित पार्टका सांसदलाई राजीनामा गर्न लगाएर उपनिर्वाचन हुँदै प्रतिनिधिसभासम्म पुग्ने बाटो खोज्न थाले ।
तर, गौतमको यो विकल्पले पनि काम गरेन । उनी यसमा सफल भएनन् ।
सुरुमा पार्टीले राष्ट्रियसभामा लैजान गरेको प्रस्ताव राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न नपाउने भन्दै अस्वीकार गरे । तर, प्रतिनिधिसभामा पुग्ने उपाय नदेखेपछि उनले स्वीकार गरे । अनि राष्ट्रियसभामा छिरे ।
फेरी नेकपा विभाजन भएपछि गौतम एमाले र माओवादी केन्द्र कतै पनि लागेनन् । बरु कम्युनिस्टहरूबीच एकता गराउने भन्दै नेकपा एकता राष्ट्रिय अभियानको नेतृत्व गरे । तर, गौतमले नेतृत्व गरेको यो अभियानले न वामपन्थीहरूबीच एकता गराउन सक्यो न त गौतमको प्रतिनिधिसभासम्म पुग्ने बाटो नै खोल्न सक्यो ।
अन्ततः उनी माओवादी केन्द्रको चुनाव चिह्न हसिया हथौडाबाट निर्वाचन लड्न राजी भए । र, आफूलाई टिकट दिने जिम्मेवारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुम्पिएको सार्वजनिक घोषणा गरे ।
दुई महिनाअघि गौतमले आफू माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिन तयार भएको सार्वजनिक घोषणा गरेका थिए । यसले उनको टिकट पाउने वातावरण बनेको भन्ने धेरैलाई लागेको थियो ।
त्यसबेला पनि गौतमले प्रधानमन्त्री बन्ने आफ्नो चाहना लुकाउन सकेनन् । ‘तपाईं प्रधानमन्त्री बन्ने हो ?' भनेर पत्रकारले सोध्दा गौतमको जवाफ थियो, ‘मैले अहिले धेरै बोले बिग्रिन्छ ।’
तर, आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको चुनावको मनोनयन दर्ता गर्ने दिन भने गौतमको चर्चा भएन । उनले टिकट पाएनन् । स्वतन्त्र उम्मेदवारी पनि दिएनन् । जसबाट प्रतिनिधिसभामा पुग्ने उनको बाटो तत्कालका लागि रोकियो ।
आइतबार मनोनयन दर्ता गर्ने दिनसम्म पनि गौतमलाई माओवादी केन्द्र र गठबन्धनले टिकट सुनिश्चित गरेनन् । बरु एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन गरे ।
गौतमको चाहना थियो प्युठानबाट चुनाव लड्ने । तर, गठबन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चाले प्युठान नछाडेपछि गौतमले टिकट नपाएका हुन् । गौतमले अपेक्षा गरेको बर्दिया कांग्रेसको भागमा पर्यो ।
यी र यस्तै कारणले गौतमले यसपटक टिकट नपाएका हुन् ।