आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम जारी छ । जसअनुसार धेरैलाई चक्मा दिने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले जनमत पाएको देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू कतिपयलाई अचम्म लाग्ने गरी निर्वाचित हुँदैछन् भने पराजित भएका स्थानमा पनि सम्मानजनक मत पाइरहेका छन् । यसले प्रस्ट संकेत गरेको छ- जनताले परिवर्तन चाहेका छन् । र, त्यसका लागि अब उनीहरू धैर्य गर्न तयार छैनन् ।
प्रमुख भनिएका दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले ठाउँठाउँमा कडा टक्कर दिइरहेको छ । यसो हुनुका मुख्य चार कारण देखिन्छ ।
१. रवि लामिछानेको व्यक्तिगत प्रभाव
त्यसो त रवि लामिछानेको व्यक्तिगत क्रेज उनले टेलिभिजन कार्यक्रम सञ्चालन गर्दादेखिकै हो । उनले त्यसको उपयोग राजनीतिक पार्टी बनाएर गरे । फलस्वरुप उनको पार्टीले सम्मानजनक मत मात्रै पाएन कतिपयले अनपेक्षित ठानेको जित पनि निकाल्यो ।
त्यसो त लामिछानेले तल्लो तहका जनताका ती मुद्दाहरू उठाए जसलाई ठूला दलले सदैव उपेक्षा गरेका थिए । र यो कुरा जनताले मन पराए र मतमा परिणत गरिदिए ।
रवि लामिछानेले राजनीतिक सिद्दान्त र विचारमा त्यति ठूलो बहस गर्न चाहेनन् । उनले जनताले पाउने सेवा सुविधालाई मुख्य प्रश्न बनाए । ढिलासुस्ती र बेथितिमाथि प्रहार गर्ने उद्घोष गरिरहे । सार्वजनिक सेवा प्राप्तिमा देखिएको खराब प्रवृत्तिलाई निरूत्साहित गर्ने र गरेरै छाड्ने विश्वास दिलाए । जसका कारण उनले र उनको पार्टीले मत पाएको बुझ्न गाह्रो छैन ।
२. जनताले खोजेको परिवर्तन
पछिल्लो परिणामनले गरेको अर्को स्पष्ट संकेत के हो भने जनताको परिवर्तनको अपेक्षालाई परम्परागत राजनीतिक शक्तिले सही रूपमा प्रयोग र पहिचान गर्न सकेनन् । जनताका वास्तविक समस्यालाई नजरअन्दाज गर्दै उनीहरू आफ्नो स्वार्थकेन्द्रित राजनीतिक चलखेलमा व्यस्त भए । जनताले आफ्नो पालो आएपछि त्यसको जबाफ ब्यालेटमार्फत दिएका छन् । यही कारण हो ठूला दललाई भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको चुनौती । मुख्यत सार्वजनिक सेवा प्रवाहको गुणस्तर र प्रभावकारीता बढाउने बचनसहित लामिछानेले मत बटुलेका हुन् ।
३. युवा पुस्ताको आकर्षण
पछिल्लो मत परिणामले लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मात्र नभएर युवा उम्मेदवार तर्फ मतदाताको ध्यान गएको देख्न सकिन्छ । पटक-पटक निर्वाचित हुँदै आएका उम्मेदवारहरूलाई यसपटक जनताले नमिठो हार चखाएका छन् ।
काठमाडौं ५ बाट ईश्वर पोखरेलको हार होस् या सप्तरीमा उपेन्द्र यादवले व्यहोरेको पराजय नै किन नहोस् । अथवा काठमाडौं २ मा ओनसरी घर्ती र ललितपुर ३ मा पम्फा भुसालले ब्यहोरेको हारले त्यसैलाई संकेत गर्दछ ।
यी क्षेत्रहरूमा पटक-पटक परीक्षण भएका दल र उम्मेदवारलाई पन्छाएर जनताले युवा पुस्तालाई चुनेका छन् । त्यसो त केही स्थानमा यसअघि जितेका उम्मेदवार पनि विजयी भएका छन् । यसको अर्थ उनीहरूको व्यक्तिगत लोकप्रियता र पार्टी संगठनको प्रभाव पनि हो ।
४. ठूला दलको स्वार्थी मानसिकताले आजित
त्यसो त गणतन्त्र स्थापनायता प्रमुख भनिएका राजनीतिक दलहरूको स्वार्थी मानसिकता पटक-पटक उजागर हुँदै आयो । उनीहरूको परिवारवाद, नातावाद कृपावाद, संवैधानिक अंगहरूमा हुने गरेका नियुक्तिहरूमा विवाद तथा राज्य सञ्चालनमा देखिएको बेथितिविरुद्ध यसपटक जनताले मज्जैले प्रहार गरे ।
यही प्रहारको फाइदा राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको हो । अर्कातर्फ अघिल्लो चुनावको तुलनामा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राम्रै भोट पाएको छ । राजेन्द्र लिङ्देन राप्रपाको नेतृत्वमा उदाएपछि उनले पार्टीमा राम्रै ढंगले आकर्षण बढाएको देख्न सकिन्छ । जनताले लिङ्देनको नेतृत्वलाई पनि स्वागत गरेका छन् ।
यसको सोझो अर्थ अब राजनीतिक दलको नेतृत्व पनि जनताले चाहिरहेका छन् भन्ने प्रस्टै देखिन्छ ।