नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै सत्ता गठबन्धनले सरकार गठनको छलफल अगाडि बढाएको छ ।
बिहीबार नवनिर्वाचित सांसदहरूले पद तथा गोपनियताको शपथ लिएका हुन् । त्यसपछि बिहीबार नै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच कुराकानी भएको छ । त्यसका लागि प्रचण्ड र नेपाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
प्रमुख राजनीतिक दलहरूले संसदीय दलको नेता पनि चयन गरिसकेको अवस्थामा दलहरूले सरकार गठनको प्रक्रियालाई अगाडि बढाएका हुन् । यद्यपि, सत्ता गठबन्धनसँग स्पष्ट बहुमत भने पुगेको छैन । गठबन्धनमा रहेका दलहरूसँग प्रतिनिधिसभामा १३६ सांसद छन् । तर, सरकार गठनका लागि कम्तिमा १३८ सांसदको आवश्यकता पर्दछ ।
त्यसो हुँदा जनमत पार्टीलाई सरकारमा सहभागी गराएर बहुमत जुटाउने सत्ता गठबन्धनको तयारी छ । सँगै जनमत पार्टी पनि सरकारमा सहभागी हुन तयार देखिन्छ । त्यस्तै जसपा र राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुन तयार देखिन्छन् । यस्तो अवस्थामा सत्ता गठबन्धनले यी मध्ये कुनै या सबै दललाई गठबन्धनमा भित्र्याएर सरकार बनाउने सम्भावना देखिएको छ ।
गठबन्धन दलहरूले केन्द्रमा मात्र नभएर प्रदेशहरूमा पनि आफ्नो सरकार गठनका लागि अनुकुल हुने समीकरण बनाउन प्रयास गरिहरेका छन् । जसका कारण जसपाको साथ उनीहरूलाई आवश्यक देखिन्छ । जसपाको साथ पाउँदा प्रदेशहरूमा सरकार गठनका लागि गठबन्धनलाई सहज हुने देखिन्छ । प्रदेश १, मधेश र लुम्बिनीमा जसपाले साथ दिए गठबन्धनको सरकार बन्छ । तर, जसपाले अन्तिम समयमा गठबन्धन छाडेकाले उसलाई भित्र्याउने विषयमा भने सहमति जुटिसकेको छैन ।
सरकार गठनका लागि छलफल हुँदै गर्दा आलोपालो प्रधानमन्त्री बन्ने सम्भावना देखिन्छ । अर्कातर्फ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेशका मुख्यमन्त्री देखि प्रदेशका सभामुख र उपसभामुखसम्म पावर शेयरिङ हुनुपर्ने देखिन्छ । त्यसमा गठबन्धनले सहमति गरेर अघि बढ्ने नेताहरूले बताउँदै आएका छन् ।
तर, पहिलो खेपको प्रधानमन्त्री को हुने भन्ने विषयले पावर शेयरिङमा असर पार्ने देखिन्छ । पछिल्लो घटनाक्रमअनुसार पहिलो खेपको प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दाबी गरिरहेका छन् । त्यसो त कांग्रेसले पनि आफ्नो दाबी छाडिसकेको छैन । तर, पहिलो पटक माओवादी केन्द्रलाई प्रधानमन्त्री दिन देउवा लचक हुनसक्ने लक्षण देखिएको स्रोतहरूको दाबी छ ।
त्यसो भए राष्ट्रपति नेपाली कांग्रेसले पाउने सम्भावना रहन्छ । त्यसो हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसले राष्ट्रपतिमा अघि सार्ने लगभग निश्चित जस्तै छ ।