नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भए । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यसअघि भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा दावी पेस गर्न आह्वान गर्दै आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी थिइन् । प्रचण्डले बहुमत जुटाएर उक्त समयभित्रै दावी पेस गरेपछि भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रचण्डले आज प्रधानमन्त्री पदको शपथ लिने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
प्रचण्डलाई नेकपा (एमाले) का ७८ जना, नेकपा (माओवादी केन्द्र) का ३२ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ जना, जनता समाजवादी पार्टीका १२ जना, जनमत पार्टीका ६ जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना र तीन जना स्वतन्त्र सांसदहरूले समर्थन गरेका छन् ।
अनि टुट्यो गठबन्धन
सुरुमा प्रचण्ड कांग्रेसको नेतृत्वमा रहेको वाम-लोकतान्त्रिक गठबन्धनबाटै प्रधानमन्त्री बन्न चाहन्थे । त्यसका लागि उनले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक-पटक वार्ता गरेका थिए ।
तर, चुनावअघि नै चुनावपछि पहिलो खेपमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर आलोपालो सरकारको नेतृत्व गर्न राजी भएका देउवा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भएनन् । राष्ट्रपति र प्रधानमन्त्री दुवै पद कांग्रेसले लिने अडानबाट उनी टसको मस भएनन् ।
अर्कातर्फ माओवादी केन्द्रले पनि यसपटक प्रधानमन्त्री नछाड्ने र आफ्नो संसदीय दलको नेता तथा पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने अडान लियो । तर, कांग्रेसका देउवानिकट मानिएका नेताहरूले नै देउवालाई पूर्वसहमतिबाट ब्याक गरेर सहमति कार्यान्वयन नगर्ने ठाउँमा ल्याइपुर्याए । फलस्वरुप गठबन्धनमा खटपट सुरु भयो ।
यसपटक माओवादी केन्द्रले पनि प्रधानमन्त्री नछाड्ने अडान कायमै राख्यो । आइतबार बिहानसम्म पनि प्रचण्डले आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न देउवासमक्ष प्रस्ताव राखे । तर, देउवाले मानेनन् । प्रचण्डले फेरि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमध्ये एक पद रोजेर राख्न र कांग्रेसले छाडेका पदमा नेकपा एस र आफूहरू लिन तयार रहेको प्रस्ताव राखे । तर, देउवाले कुनै पनि हालतमा दुवै पद नछाड्ने अडान कायमै राखे । जसका कारण गठबन्धन टुटेको घोषणा गर्दै दिउँसो करिब १ बजे प्रचण्ड बालुवाटारबाट बाहिरिए ।
अर्कातर्फ नेकपा एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरू भने एमाले र माओवादी मिलाउन सुरुवात देखि नै प्रयासरत थिए । जसका कारण भित्रभित्रै प्रचण्डलाई प्रधानमन्त्री बनाउने र एमालेले राष्ट्रपति लिने सहमति भएको थियो । सोहीअनुसार प्रचण्ड गठबन्धन छाडेर बालकोट पुगेपछि एमालेको नेतृत्वमा अर्को गठबन्धन बन्यो र प्रचण्ड प्रधानमन्त्री बन्न पुगे ।
देउवाको किन भइरहेको छ आलोचना ?
त्यसो त एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि नेपाली कांग्रेसभित्र शेरबहादुर देउवाको व्यापक आलोचना भएको छ । धेरैले उनको निर्णय क्षमतामा प्रश्न उठाएका छन् । सबै भाग आफूले मात्रै लिन खोज्दा कांग्रेसले सबै थोक गुमाएको टिप्पणी गरिरहेका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रचण्डले धोका दिएको स्वीकार्न तयार छैनन् । यसपटक प्रचण्डले धोका दिएको नभएर कांग्रेसले उनीमाथि धोका गरेको पौडेलले स्पष्ट शब्दमा नै बताइसकेका छन् । उनको भनाइको अर्थ स्पष्ट छ कि यसपटक कांग्रेसले प्रचण्डलाई पहिलो खेपमा प्रधानमन्त्री बनाउनुपर्थ्यो ।
त्यसो त प्रधानमन्त्री र राष्ट्रपति दुवै पद छाड्न नमान्दा कांग्रेले धेरै राजकीय पद गुमाउनु परेको छ । कांग्रेसले संघमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष/उपाध्यक्ष र मन्त्रीहरू गुमाउने भएको छ ।
त्यस्तै प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, प्रदेश सभामुख/उपसभामुख र मन्त्रीहरू पनि कांग्रेसले गुमाउने छ । सोहीकारण देउवाको सत्ता महत्त्वाकांक्षाले कांग्रेसले सबै पद गुमाएको भन्दै देउवाको आलोचना भइरहेको हो ।