राष्ट्रपति निर्वाचनका बेला बनेको सत्ता गठबन्धनभित्र विवाद बढ्दै गएको छ । विवाद बढ्दै जाँदा गठबन्धमा रहेका तीन दलले छुट्टै मोर्चाबन्दी गरेका छन् ।
सत्ता गठबन्धनमा रहेका जनमत पार्टी, जनता उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धनमा मोर्चाबन्दी गरिरहेका छन् । गठबन्धनका अन्य दलले समर्थन गरेका जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवलाई यी दलले चुनौती दिए ।
खासगरी यी दल जसपाविरुद्ध एक भएका हुन् । तर, यो मोर्चाबन्दीले गठबन्धनको भविष्यमाथि खासै प्रभाव नपर्ने गठबन्धनका नेताहरू दाबी गर्छन् । यद्यपि, यो स्पष्ट कुरा हो कि यसले गठबन्धनमा विश्वासको संकट भने निम्त्याउने छ ।
यी तीन दललाई सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पनि आइपुगेको छ । खासगरी यो तीन दलीय मोर्चा उपेन्द्र यादव नेतृत्वको जसपाप्रति लक्षित थियो । किन भने जसपा, जनमत, लोसपा र नाउपाको मुख्य आधारभूमि भनेको तराई मधेश नै हो ।
जसका कारण यी दलको छिनाझप्टीले गठबन्धनको भविष्यमाथि नै प्रश्न उठ्ने देखिन्छ । अर्कातर्फ नाउपा, जनमत र लोसपालाई सघाउन रास्वापा पनि आइपुगेपछि यो एउटा राम्रै शक्ति बनेको छ ।
यो मोर्चाबन्दी त्यस्तो बेला भएको छ जतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासकोक्ष मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत लिने तयारी गरिरहेको बताएका छन् । त्यही समयमा गठबन्धनभित्र सल्किएको विवाद उनका लागि महँगो सावित हुन पनि सक्छ ।
खासमा गठबन्धनभित्र तीन दलले गरेको मोर्चाबन्दी जसपाप्रति बढी लक्षित छ । जसपाका कारण आफूहरूमाथि अन्याय भइरहेको तीन दलको बुझाइ छ । जसपाले मधेश प्रदेशको मुख्यमन्त्री पाएको छ । त्यसका साथै गठबन्धनबाट उपराष्ट्रपति पनि जसपाले नै पाएपछि तीन दल असन्तुष्ट बनेका हुन् ।
जसपा, लोसपा र जनमतको मुख्य आधारक्षेत्र तराई मधेश हो । जसका कारण यी तीन दलले एक अर्कालाई मुख्य प्रतिस्पर्धी ठान्छन् । यी दलहरूको लाडाँइले गठबन्धनलाई भने सकस पर्ने देखिएको छ ।
अर्कातर्फ मन्त्रिपरिषद् विस्तारको तयारी पनि भइरहेको छ । मन्त्रालयको भागवण्डामा जनमत सुरुदेखि नै असन्तुष्ट रहँदै आएको थियो । त्यसले गर्दा मन्त्रालयको भागवण्डामा थप सकस पर्ने देखिएको छ ।