काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रको सत्ता समीकरण भत्किएको छ । यो सत्ता समीकरण भत्किएसँगै एमाले र माओवादीबीचको नयाँ सत्ता समीकरण बनेको छ ।
नयाँ सत्ता समीकरणमा एमाले र माओवादी केन्द्रका अलावा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उपेन्द्र यादव नेतृत्वको जसपा पनि सहभागी हुने भएको छ । तर, एकीकृत समाजवादी तथा लोसपा भने सरकारमा सहभागी हुने नहुने विषयमा अन्योल कायमै छ ।
राष्ट्रियसभा अध्यक्षमा कांग्रेससँग कुरा नमिलेपछि गठबन्धनमा चिसो पसेको थियो । राष्ट्रियसभाको चुनावमा कोशी प्रदेशबाट कांग्रेस उम्मेदवार निर्वाचित हुँदा माओवादी केन्द्र पराजित भएको थियो । त्यसका साथसाथै कोशीको वर्तमान सरकार निर्माणका क्रममा पनि कांग्रेसको भूमिकालाई लिएर माओवादी सशंकित थियो ।
यसका अलावा ललितपुरमा सम्पन्न कांग्रेसको महासमिति बैठकमा प्रस्तुत भएका एजेन्डा तथा सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउन कांग्रेस सभापति शेरबहादुर देउवाले असहयोग गरेपछि प्रचण्ड उनीसँग असन्तुष्ट भएका थिए । यही समयमा एमाले र माओवादीका दोस्रो तहका नेताहरूको बाक्लिएको भेटघाटले नयाँ सत्ता समीकरण निर्माणमा सहयोग गरेको हो । यी सबै घटनाक्रमहरूका बीचमा नयाँ सत्ता समीकरण बनेको हो ।
प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरण बनेसँगै आजै सानो आकारको मन्त्रीमण्डल गठनको तयारी गरेका छन् । त्यसका लागि उनले नयाँ सहयात्री दलहरूसँग छलफल सकेर राष्ट्रपति रामचन्द्र पौडेललाई पनि यसबारेमा जानकारी दिइसकेका छन् ।
एमालेले पहिलो चरणमा पदम गिरीलाई मन्त्री बनाउने भएको छ भने माओवादी केन्द्रले हितबहादुर तामाङ र रास्वपाले डीपी अर्याललाई मन्त्री बनाउने तयारी गरेको छ । गठबन्धन फेरिएसँगै राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले लिने भएको छ । त्यस्तै प्रदेश सरकारहरूका सम्बन्धमा पनि निर्णय भएको नेताहरूले बताएका छन् । तत्कालका लागि भने कांग्रेसले नेतृत्व गरेका प्रदेश सरकार फेरिने एक नेताले जानकारी दिए ।