कुनै नश्ल, वंश, वर्ग, लिङ्ग विशेष सामुदायिक जीवनको अध्ययन गर्न सहज हुन्छ । तर कुनै व्यक्ति विशेषको जीवन पढ्न थालिन्छ, त्यहाँ ठूलै सकस हुन्छ । पढिँदै गरिएको मानिससँग आफूलाई तुलना गर्न थालिन्छ । उसको जीवन अनुकरण गर्ने, ईर्ष्या जाग्ने, प्रेरणा, प्रभाव पर्ने सबथोक हुन थाल्दछ । आफूभन्दा उ अब्बल कसरी भयो प्रश्न आउँछ । उ प्रति सकारात्मक/नकारात्मक भाव पैदा हुन्छ । यता अन्तरमनले ‘तारेमाम’ पनि गर्छ ।
सबैभन्दा कठीन काम आफूले आफैँलाई पढ्नु हो । जुन दिन आफूले आफैँलाई पढिन्छ जीवनको सार थाहा हुन्छ । जीवनलाइ फर्केर हेर्नु आफैँलाई पढ्नु हो । यस्तो काम कमैले गर्छन् । गरिहाले पनि जीवनका नकारात्मक र असफलताको कैरन गर्दैनन् । त्यस्तो आत्मवृत्तान्त वा जीवनी कुनै तिलस्मी, जासुसी उपन्यास वा दन्त्य कथा जस्तो लाग्छ । त्यस्तो आलेखले प्रभाव पार्ने मात्र हैन, कुनै शन्देश पनि दिँदैन ।
तर, म यहाँ अलग पात्रलाई पढ्न खोज्दैछु । म नियमित पाठक वा समीक्षक होइन । नियमानुसार पढ्ने बानी पनि छै्रन । एक दिनको कुरा हो, पत्रकार भाई सूर्य सुवेदीसँग एकजना बिरामीलाई भेट्न ‘बीएण्डबी’ अस्पताल पुगेका थियौँ । भाइले त्यहीँका एक जना कर्मचारीसँग चिनापर्ची गराए । सुवेदी भाईकै आग्रहमा ती कर्मचारीले ‘जगदीशका पाइलाहरू’ नामको मोटो पुस्तक मलाई थमाए । यो डेढ दुइ साल अघिको कुरो हो । मैले पुस्तक लिएँ । तर पातो पल्टाएर दराजमा थन्क्याइ दिएँ । सुवेदी भाइले समीक्षा गरिदिन तारन्तार अनुरोध गरे । तर मैले टेरपुच्छर लगाइनँ । आजित भएर हुन सक्छ त्यसपछि उनको अनुरोध आउन छोडिसकेको थियो ।
यसै पनि पुस्तकको समीक्षा गर्नु झन्जटिलो काम हो । यसमाथि व्यक्तिको वृत्तान्त कहनु अरु दिक्दारिलो काम हो । एक दिनको कुरा हो दराजबाट नपढेको पुस्तक नियाल्दै थिएँ । अनायस यो पुस्तकमा आँखा गयो । र, मैले मनयोगका साथ यसका बाह्रखरीहरू पढेँ । सरसर्ती पढिसके पछि यसमाथि केही लेख्नै पर्छ भन्ने कर्तव्यबोध भयो । फलस्वरुप यी हरफहरु डा. जगदीशलाल वैद्यलाई समर्पित गर्छु ।
लेखन धाराः
लेखनका दुई धारा हुन्छन् । एउटा अतित अर्थात भूत लेखन, अर्को सिर्जनात्मक लेखन । भूत लेखन सिर्जनात्मक हुन्न भन्ने चैँ होइन । तर अक्सर भूत लेखन बढी काल्पनिक हुन्छ । कतिपय सन्दर्भमा असान्दर्भिक पनि भैसकेको हुन्छ । भएकै घटना लेखिएको भए पनि त्यसलाई पत्याउने आधार खुम्चिसकेको हुन्छ । सिर्जनात्मक लेखन चैँ वर्तमान अवस्थालाई भविष्य देखाउने मार्ग हो । यी दुवै लेखनको तारतुम्मे डा. वैद्यको पुस्तकमा समायोजन छ । यही भएर पढ्ने र लेख्ने तारसुर जुर्यो ।
कालो रातदेखि कोभिडसम्मः
डा. वैद्यले ‘त्यो कालो रात’ शीर्षकको लेखोटदेखि ‘कोभिडसँग मेरो जम्काभेट’ सम्म ४० वटा शीर्षकमा लिखितम गरेर ३०२ पातो खर्चेका छन् । ‘सोचे झैँ जीन्दगी रैनछ’ गीतको मुखडाबाट सुरु गरिएको उनको लेखनीको यो शीर्षकले पुस्तकलाई बोकेको छ । सुरक्षित ठानिएको राजधानीमा लुटेराहरूले करोडौं मूल्य बराबरको धनमाल लुटेको घटना यसमा विस्तारपूर्वक वर्णन गरिएको छ । वैद्य पुत्रलाई अपहरण गरिएको घटना थियो । लेखक वैद्यलाई यो घटनाले ठूलो प्रभाव पारेको देखिन्छ । यसैले पुस्तकको कभरको बाहिरी भागमा पनि प्राथमिकताको साथ घटनाको सार छापिएको छ ।
त्यसैबखत डा. उपेन्द्र देवकोटा पुत्री पनि अपहरणमा परेकी थिइन् । र, देवकोटाले एक करोड ३० लाख लुटेरलाई बुझाएर छोरी छुटाएका थिए । सामान्य, शान्त जीवनमा अभ्यासरत रहनुपर्ने चिकित्सकमाथि भएको यो घटना दुर्भाग्यपूर्ण थियो । यसैकारण वैद्यमा यो घटनाले नराम्रो प्रभाव छाडेको थियो ।
संघर्षपूर्ण जीवनः
डा. वैद्यले नदीपुर हाइस्कूल पोखराबाट माध्यमिक तहको प्रारम्भिक शिक्षा पूरा गरे । अहिलेको भाकामा त्यस्ता स्कुल, धुले, छाप्रे, सरकारी, सामुदायिक स्कुलको नामले चिनिन्छ । आजभोलि यस्ता स्कुलबाट उत्पादित विद्यार्थी डाक्टर, इन्जिनियर, वैज्ञानिक बन्छन् भन्ने कल्पनासम्म गर्न सकिन्न । यस्ता स्कुलहरू गरीब, निमुखा, नोकरचाकर, हली गोठालाका सन्तान पढ्ने संस्थाको रूपमा चिनिन्छ । वैद्यले यस्तै स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेर त्रिविअन्तरगतका कलेजहरूबाट विज्ञान विषय पढे ।
छात्रवृत्तिमा गभर्मेन्ट मेडिकल कलेज अमृत शहर पञ्जाबबाट चिकित्सा विज्ञानमा स्नातक तहको पढाइ पूरा गरे । र, बेलायतबाट चिकित्सा विज्ञानमै उच्च शिक्षा प्राप्त गरे । उनको शैक्षिक जीवनको संघर्ष भने उतारचढावले भरिएको चानचुने थिएन । अभावग्रस्त जीवनले उनलाई संघर्षमा होम्यो, संघर्षमा खरो उत्रेकोले उनले सफलता प्राप्त गरे ।
यसपछि सुरु भयो उनको पेशागत जीवनचर्या । युनाइटेड मिसन टु नेपालले स्थापना गरेको शान्त भवन (अस्पताल), निजी क्लिनिक, पाटन अस्पताल, काठमाण्डु नर्सिङ होम हुँदै बीएण्डबी अस्पतालको स्थापनासम्म आइपुग्दा चिकित्सा विज्ञानको क्षेत्रमा महत्वाकांक्षी सपना पूरा गरे । हुनतः भारतबाट स्नातक गरेपछि पनि उनले अस्पतालमा सेवा गरेकै थिए । तर, सन् १९८२ मा बेलायतबाट उच्च शिक्षा प्राप्त गरि आएपछि यो क्षेत्रमा नेतृत्व गर्न पुगेका हुन् । यहाँसम्म आइपुग्दा वैद्यले भुक्तान गरेको जीवनको लामै फेहरिस्त हुन्छ ।
‘म कहिल्यै कम्युनिस्ट थिइन र आज पनि होइन । अनि म भोलि पनि कम्युनिस्ट हुन्नँ । म कुनै पार्टीमा लागेको मान्छे पनि होइन । तर मैले घाइते भएर आएका कैयौँ माओवादीको औषधि उपचार गरेको छु । माओवादीसँग मेरो ३० लाख लिनै बाँकी छ । टाउकोमा रातो फित्ता बाँध्दैमा वा हँसिया–हथौडा अंकित झण्डा बोक्दैमा मान्छे माओवादी हुँदैन, सोसलिस्ट हुँदैन । सोसलिस्ट आफ्नो काम गराइबाट हुन्छ ।’
बाह्र सन्तानः दर्जनौँ नातीनातिनाः
बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधै माथि भन्ने प्रचलित उखान हो । अविभावकले आफ्नो सन्तानको लालनपालन, शिक्षा दीक्षाको बन्दोबस्त बुढो शरीर घोटेर गर्नुपर्ने आम मान्यता छ । यस्तो हुँदै पनि आएको छ ।
तर, माणिकलाल वैद्य र सिन्धुकुमारी वैद्यका एक दर्जन सन्तानले बुढाबुढी दुवैको काँध फेरिदिए । वैद्य दम्पत्तिका सातभाई छोरा र पाँचबैनी छोरी आआफ्नो पेशा व्यवसायमा जमेको जिवित छँदै देख्न पाए । माइला छोरा डा. वैद्य सफल मात्र हैन सामाजिक प्रतिष्ठासहीत प्रशिद्ध भए ।
तातोपिरो माओवादीलाइ आठे जवाफः
डा. वैद्यको ‘जगदीशका पाइलाहरूमा’ घत लाग्ने कुरा पुस्तकको पातो ५८–५९ लेखिएको छ । भर्खरै शान्ति प्रक्रियामा आएका जनयुद्धको रापतापबाट सेलाइ नसकेका तातापीरा, रातापीरा माओवादी नेतालाई वैद्यले दिएको ओठे जवाफ गज्जब थियो । मेरो घैँटामा पनि घाम लगायो ।
माओवादी नेताहरू प्रचण्ड र डा. बाबुराम भट्टराईलाई वैद्यले दिएको जवाफ पुस्तकका मूल्यवान हरफ हुन् । मैले दोहोर्याइ तेहर्याँइ पढेँ । जतिपटक पढेँ त्यति नै पटक मजा लिएँ । ती हरफ पढेर पुलकित भएँ । यी हरफहरू वैद्यले कहँदा तिनका नाकमा त्यसबखत किन हरक चलेन ? त्यो चैँ उदेकलाग्दो नै छ ।
हुनतः म आफैँ कम्युनिस्ट दर्शन, विचारबाट प्रभावित विद्यार्थी हुँ । मेरो जीवनका नौनी वर्षहरू यसै आन्दोलनमा बिते । माओवादी आन्दोलनमा कुनै न कुनै रूपमा जोडिएको थिएँ, अझै छु । आफूलाई रातो कम्युनिस्ट अर्थात् अघोरी कम्युनिस्ट नै ठान्छु । यद्यपि, तत्कालका राता कम्युनिष्टद्वयलाई वैद्यले दिएको जवाफ मनमा गड्यो ।
त्यो पातोमा लेखिएको छ, ‘म कहिल्यै कम्युनिस्ट थिइनँ र आज पनि होइन । अनि म भोलि पनि कम्युनिस्ट हुन्नँ । म कुनै पार्टीमा लागेको मान्छे पनि होइन । तर मैले घाइते भएर आएका कैयौँ माओवादीको औषधि उपचार गरेको छु । माओवादीसँग मेरो ३० लाख लिनै बाँकी छ । टाउकोमा रातो फित्ता बाँध्दैमा वा हँसिया–हथौडा अंकित झण्डा बोक्दैमा मान्छे माओवादी हुँदैन, सोसलिस्ट हुँदैन । सोसलिस्ट आफ्नो काम गराइबाट हुन्छ ।’
वैद्यका अनुसार भेटाघाटामा सँगै गएका अन्य डाक्टरहरूले कुनै न कुनै रुप रंगको, पारिवारिक पृष्ठभूमिमा गर्भे कम्युनिस्ट रहेको चाप्लुसीयुक्त परिचय दिए । डा. वैद्यले हिम्मतसाथ अन्तरआत्माले बोले । उनले बोलेको कुरा समयक्रममा पुष्टि पनि हुँदै गएको छ ।
अन्तरवार्ताबाट चम्किएः
डा. वैद्यले आफ्नो पेशागत प्रचार सञ्चारमाध्यमलाई अन्तरवार्ता दिएपछि चम्किएको बताएका छन् । तर, यति नै कुरा मात्र काफी नहुन सक्छ । कुपण्डोलमा निजी क्लिनिक खोलेको पहिलो दिन रगत चुहाउँदै आएका पाइल्सका बिरामीलाई निको पारेको घटनाले बढी प्रभाव पारेको हुन सक्छ । तीनै बिरामीले विभिन्न स्थानका मानिसहरूलाई प्रचार गरेकोले सेवाग्राही बढेको उनैले स्वीकार गरेका छन् । यद्यपि उनले प्रधान थरका राससका पत्रकारले अन्तरवार्ता गोरखापत्रमा प्रकाशित गरेपछि चर्चा चुलिएको दाबी गरेका छन् ।
जेहोस् कुपण्डोलमा खोलेको क्लिनिक नै उनको व्यावसायिक जीवनको माइलखुट्टी थियो । तर, डा. वैद्यले अन्तरवार्ता गर्ने पत्रकारको नाम उल्लेख नगरेकोले यो पाठ पढ्दा पाठकलाई अलिक अलिनो लागेको हुनुपर्छ ।
धनीको पैसाः गरीबलाई उपचार
पत्रकारिताको सिद्धान्त आवाजविहीनहरूको आवाज हो । यस्तै हरेक पेशा, व्यवसायका आफ्ना सिद्धान्त, नैतिक मूल्य मान्यता र संहिता हुन्छ । चिकित्सकको सिद्धान्त नैतिक मूल्य मान्यता र संहिता बिरामीको उपचार गर्नु हो । धनी, गरीब, वंश, लिङ्ग, सत्रु, मित्रुको उपचारमा कुनै भेदभाव नराख्नु चिकित्सकको धर्म हो । पत्रकार र चिकित्सकले पीडामा परेकाको उपचार गर्ने हो ।
यद्यपि, चिकित्सकले गर्ने उपचारमा आर्थिक व्यवस्थापनको पक्ष जोडिएको हुन्छ । यस्तोमा डा. वैद्यको सिद्धान्त आकर्षित हुन्छ । उनले भनेकै छन्, ‘मैले धनीसँग पैसा लिएर गरिबको उपचारमा खर्च गरेको छु ।’ (पातो २८०) राज्यले पनि यही सिद्धान्त अबलम्बन गरे स्वास्थ्य सेवा न्यायपूर्ण हुनेछ ।
उपचारका अनेक किस्साः
डा. वैद्यले उपचार गर्दाका अनेकान किस्सा पनि लिखितम गरेका छन् । तर, सतर्कतापूर्ण गोपनियताको सम्मान पनि गरेका छन् । रोगीको सम्मान गर्दागर्दै केही दरबारियाको असाध्य गोप्य रोगको खुलासा गर्न खोजेका छन् ।
वैद्य लेख्छन्, ‘हामीले तीन जना यस्ता मानिसको अपरेसन गर्यौँ, जो दरबार निकट थिए । निकटतम मात्र होइन, तिनलाई दरबारीया भन्दा हुन्छ– दरबारका नातागोता । तिनको नाम नलिउँ होला ठूलाबडालाई लागेको रोगबारे पनि किन चर्चा गर्नु । ति बिरामीलाई हेर्न तत्कालीन राजा रानी दुई तीन पटक आए ।’ (पातो २२०)
यसका अतिरिक्त पनि वैद्यको पुस्तकमा उपचारका थुप्रै कथानक पढ्न पाइन्छ । जसले नयाँ नौतुन चिकित्सकलाई शिक्षा, अनुभव, ज्ञान र ऊर्जा सबै प्राप्त हुन्छ ।
ब्रेन ड्रेन र बिहारीलालहरूः
डा. वैद्यले बेलायत पढ्न गएको बखत नेपालीमूलका चिकित्सकको प्रसङ्ग उधिनेका छन् । यसमध्ये डा. बिहारीलाल श्रेष्ठको खुब चर्चा गरेका छन् । बिहारीलालको सहयोगबाट नै अध्ययन पुरा गर्न हरतरहको सहयोग पाएको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनको शैक्षिक यात्राको भरोसाका केन्द्र बिहारीलाल नै थिए ।
डा. विहारीसँगै डा. महोश खकुरेल, डा. विरेन्द्र अमात्य, डा. मणीकुमार शर्मा बेलायतमा चिकित्सा अध्ययन अनुसन्धान र पेशामा रहेको लेखेका छन् । आफ्नै बलबुतामा चिकित्सा क्षेत्रको अध्ययन अनुसन्धानमा गएका यी नेपाली नागरिकको बारेमा कुनै खुटखबर छैन । यहीँबाट बुझ्न सकिन्छ नेपाल देशको कुनै ‘माइबाप’ छैन । आफ्ना नागरिक काहाँ छन् ? तिनको योग्यता, क्षमताको कदर गर्ने कुनै कार्यक्रमिक रुपरेखा छैन । प्रतेक दिन ‘ब्रेन ड्रेन’को मालश्री धुन बजाउनेले माखो मारेको हैन । यो त प्रतिनिधि उदाहरण मात्र हो । विश्वमै छरिएका पौरखी नेपाली नागरिकहरू अरु कति छन् कति ।
मेडिकल कलेजको भूतः
चिकित्सा क्षेत्रमा अब्बल डा. वैद्य र डा. अशोक बाँस्कोटाले आफ्नो उच्चतम लक्ष मेडिकल कलेज खोल्ने उपक्रममा धेरै हुरीहण्डर खाए । व्यापारिक व्यावसायिक नकाब लगाएका धुर्त ठगले तिनलाई फास्लाङ–फुस्लुङ पारेर फसाए, करोडौँ चुना लगाए । बैंकसँग सेटिङ मिलाएर धुन्दुकारी निर्णय गराए । ति ठग फटाहाका बारेमा वैद्यले दुई वटा शीर्षकमा खेदेका छन् ।
यता चिकित्सा विज्ञानसँग कुनै साइनो नभएका माफियाहरूले गल्लीगल्लीमा मेडिकल कलेज खोलेर लखनौँ लुट मच्चाएका छन् । तर, वैद्य र बास्कोटाको इमान्दार प्रयासमा राज्यले पानी खन्याइदियो ।
नौ वटा उच्च शैक्षिक संस्था, ख्वपः अस्पताल, नर्सिङ, कानुन, प्राविधिक कलेज व्यवस्थापनमा खरो उत्रिएको भक्तपुर नगरपालिकाको विश्वविद्यालय खोल्ने प्रस्तावलाई सरकारले अनुमति नदिएको समाचार पढ्दै आइएको व्यहोरा ताजै छ । त्यस्तै यी दुई चिकित्सकको सत्प्रयासलाई अनुवाद गर्न सरकार बाधक बनेको खुलेको छ । यो कथा मात्र होइन, देशघाती निर्णय पनि हो ।
प्रेम पुजारी वैद्यः
नेवारी समुदायमा उपत्यकाका रैथाने र उपत्यका बाहिरका नेवारमा एउटा विभाजित रेखा उसबेला थियो । तर, काठमाडौंको रैथाने परिवारका चेलीलाई वैद्यले पिरतीको धुनमा एकीकरण गर्न सफल भए । वैद्यको जीवनमा चारचाँद लगाउने यो प्रेमिल घटना पनि हो । उनको प्रेमिका रेहना मास्केले वैवाहिक जीवनमा बाँधिन साथ दिएकोले नै यो जोडीको जीवन सार्थक भयो ।
यो जोडी आफू मात्र बनेनन् पूरै परिवारलाई आधुनिक शिक्षाले लेस, योग्य र क्षमतावान बनाए । ‘वैद्यको घरमा गलगाँड’ भन्ने चल्तीको भाका छ । तर त्यस्तो कतै भएन । डा. वैद्यका बारेमा श्रीमती रेहना, छोराहरू डा निरज र सरोज बुहारीहरू डा. रीना र रेशाले मुक्तकण्ठले प्रशंसा गरेबाट उनको शालीनता र परिवार प्रतिको दायित्व पूरा गरेको लोभलाग्दो छायाँछवी देखिन्छ ।
उत्तम दोस्तीः
डा. वैद्य र डा. अशोक बाँस्कोटा मित्रताको मिसाल अद्वितीय छ । त्यही मित्रताले चिकित्सा विज्ञानमा ठूलै संस्था बीएण्डबीको जन्म दियो । काठमाण्डु नर्सिङ होमदेखि बीएण्डबीसम्म आइपुग्दा यिनको मैत्रीपूर्ण जोडी सबैको लागि प्रेरणादायी दिशानिर्देश हो ।
पुस्तकको अन्तिम पातोमा वैद्यसंग जोडिएको मित्रताको अनेक पहलु डा. बाँस्कोटाले खुलाएकै छन् । काठमाण्डु विश्वविद्यालय मेडिकल कलेजका अधिकारीले दिएको फाजिल अपमानको पीडाबोध गरेका छन् । अस्पतालको अलग नाम राख्न खोज्दा सरकारी अधिकारीले भाँजो हालेकोले अन्ततः वैद्य र बाँस्कोटा (बीएण्डबी) राख्नु परेको तितो पनि ओकलेका छन् ।
शारीरिक रूपले अक्षम बालबालिकाको लागि बाल अपाङ्ग बाल अस्पताल सञ्चालनको जानकारी गराएका छन् ।
यस्तो लाग्छ यी जोडीको मित्रता हाम्रो समाजको लागि अपवाद उदाहरण हो । वरिष्ठ हास्य कलाकार मदनकृष्ण र हरिवंश (मह) जोडीझैँ । चिकित्सा क्षेत्रको यो जुम्ल्याहा जोडी हो । यिनको मित्रतामा धमिरा नलागेकोले समाज र देशलाई फाइदामन्द भएको हो ।
जीवनको उत्तरार्धः
पूर्वीय दर्शनअनुसार जीवन दर्शनका चार आयाम (आश्रम) छन् । यी चार आश्रम ब्रम्हचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास आश्रम हुन् । अघिल्ला तीन जीवन दर्शन वैद्यले पूरा गरेका छन् । तर, अन्तिम गन्तव्य वा आश्रमको पनि वैद्यले ढोका खोलेका छन् ।
धादिङको कुनै क्षेत्रमा ‘जे आर एग्रो फार्म’को नाममा कृषि कर्मको जग हालेका छन् । सम्भवतः सन्यास आश्रमको यो मेलो हुन सक्छ । यस्ता सुकर्मको विषयमा योजना र कार्यक्रमसहीत छुट्टै शीर्षमा लेख पस्केको भए झनै रोचक हुने थियो ।
निष्कृय जीवन त जीवन नै होइन । म आफैँ पनि जीवनको उत्तरार्धमा प्रकृतिसँग रमाउन उत्कट अभिलासा राख्छु । तर मेरो सामर्थ्य त्यस अनुकुल आजसम्म हुन सकेन । मन हुनेसँग धन छैन, धन हुनेसँग मन छैन भने जस्तो ।
रहलपहलः
भूगर्वविद् टोनी हेगन भेट्दा होस् या वरिष्ठ चित्रकार लैनसिंह बाङ्देललाई भेट्दा होस वैद्यको अन्तस्करण छचल्किन्छ । उनले आफ्ना दौँतरीसँग मानवीय पहिचानको भूमिका निभाएकै छन् ।
पातो २८८ को अन्त्यमा पुस्तकबारे प्रश्न उठाएका छन्, ‘मेरो जीवनीको पुस्तक किनेर पढ्दा यसबाट पाठक वर्गलाई लाभ होला त ?’ यो प्रश्न गर्नुमा थोरै उनमा हिनताबोध भएको महशुस हुन्छ ।
विश्व व्रम्हाण्डका हरेक कुराहरू पढ्दा लाभ नै हुन्छ । चराचर जगतका हरेक कुराहरू सकेसम्म पढ्नु, बुझ्नु आवश्यक छ । एउटा सचेत, योग्य र सफल हुनेको जीवन पढ्दा पाठकलाई घाटा भन्ने हुँदैन । पैसा हुनेले पुस्तक किनेर, नहुनेले पुस्तकालयमा गएर वा मागेर पढ्नु पर्छ । अध्ययन, अनुसन्धान र पठन संस्कृतिले मानव समाजलाइ विकसित तुल्याएको हो ।
जीवनी वा आत्मवृत्तान्त लेखन एउटा कठीन काम हो । त्यस्तै कठिनाइले होला डा. वैद्यले अधिकांश लेखमा तिथिमिति दिन सकेका छैनन् । कतिपयको नाम पनि पूरा छैन । डा. थुलुङको बारम्बार प्रसँग केरकार गरेका छन् । दुर्घटनामा मृत्यु भएको, झापातिर बस्न थालेको सबै कुरा लेखे, तर बिना पूरा नामको । मलाई सम्झना भएअनुसार उनको पूरा नाम डा. शहदेव थुलुङ हुनुपर्छ ।
डा. वैद्यले बागलुङमा बस्दा खसी जत्रै कुखुरा देखेको कुरा पनि ल्याएका छन् । सम्भवतः पाठकले यी हरफ पढ्दा अचम्म मान्दै भृकुटी तन्काए होलान् । खसी जत्रै देखिनै कुखुरा मासिए कि अझै छन् ? खसी जत्रा कुखुराले कत्रो अण्डा पार्दा हुन् ? आदि इत्यादि । वैद्यको जीवनी क्रमबद्ध भने विल्कुल छैन । सम्पादकको कमजोरी यहाँ देखिन्छ ।
घोष्ट राईटिङले माघ २०७७ मा प्रकाशनमा ल्याएको पुस्तक ४१६ पातोको छ । ‘साहस र धैर्यको कथा’ शीर्षकमा घोष्टका अध्यक्ष कमल ढकालले लेखेको भूमिकाले पाठकलाई आकर्षित गर्छ । पुस्तकको बिक्रीबाट प्राप्त रकम बाल अपाङ्ग अस्पतालको सहयोगमा जाने कुरा यसै महत्त्वपूर्ण छ ।