कोरोना भाइरसको संक्रमणको जोखिम कायमै छ । तर, लकडाउन खुलेसँगै सडकमा सवारी चाप बढ्न थालेको छ ।
सडकमा मानिसहरुको भीड बढेको छ । होटल, पसलहरु खुलेका छन्, साँझ परेपछि सडक किनारामा देखिने फुटपाथ पसलहरु पनि खुल्न थालेका छन् ।
झण्डै ६ महिनादेखि आंशिक तथा पूर्ण रुपमा बन्द भएको यातायातका साधनहरु सञ्चालनमा आउन थालेका छन् ।
सुरुवाती दिनहरुमा किन जोर–विजोर लागु गरिएको होला भन्ने मेरो मनमा पनि नलागेको होइन, तर विस्तारै बुझ्दै जाँदा यसको उत्तर म आफैले भेट्टाएँ ।
कोभिड–१९ को संक्रमण सुरू भएसँगै नेपालमा लकडाउन सुरु भएको थियो । यससँगै चैत ११ गतेबाट बन्द यातायातका साधन एक्कासी सञ्चालनमा ल्याउँदा कठिनाई हुने भएकाले जोर–विजोर गरिएको रहेछ ।
खसगरी काठमाडौं उपत्यकामा सडकजाम हुन थालिसकेको छ । यसको प्रष्ट संकेत जनजीवन विस्तारै सामान्य बन्दै गएको जस्तो देखिन्छ । तर, विर्सन नहुने कुरा के हो भने कोरोनाको संक्रमण फैलन जोखिम पहिले भन्दा बढेको छ घटेको छैन ।
कोरोना आतंकका कारण सरकारले सुरु गरेको ‘लकडाउन’, ‘सट–डाउन’, ‘निषेधाज्ञा’ अहिले हटाइएको छ । यो प्रतिबन्धले मुलुकको अर्थिक गतिविधि लगभग पूरै ठप्प भयो ।
साँझ विहानको चुल्हो बल्न धौ–धौ भएपछि लकडाउन खुलेको अवस्थामा जोखिम कायमै रहे पनि कोरोना आतंकलाई जितेर सर्वसाधारणहरू दैनिक काममा फर्किन थालेका हुन् ।
यद्यपी नेपालमा कोरोना संक्रमितहरूको कुल संख्या ६२ हजार नाघिसकेका छन् भने मृत्यु हुने कोरोना संक्रमितको संख्या ४०० पुगेको छ ।
नेपालमा पहिलो पटक २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सुरु भएको लकडाउनले १७ हजारमा संक्रमण हुँदा अन्त्य भएको थियो ।
त्यसपछि सरकारले कर तिर्न ताकेता गरेपछि मानिसको चहलपहल बढ्यो । कोरोना संक्रमित र मृत्यु हुनेको संख्या पनि सोही अनुरुप बढ्दै गयो । त्यसपछि ‘रेड–जोन’को एरियालाई वडा, गाउँ वा नगरलेको आदेशमा शिल गर्न थालियो ।
तर संक्रमण फैलन रोकिएन । अन्ततः काठमाडौं उपत्यकालगायत अन्य जिल्लामा पनि निषेधाज्ञा जारी गरियो । भदौ २४ गतेबाट निषेधाज्ञाको पनि अन्त्य भयो । अझ असोज १ गतेबाट त सार्वजनिक सवारी साधनहरु समेत सञ्चालनमा आएका छन् ।
अहिले मानिसमा कोरोनाप्रतिको डर विस्तारै विस्तारै हराउँदै गएको छ । घरको चुल्लो नबल्ने भएपछि सधैभर डराएर बस्न सम्भव पनि भएन । तर स्वास्थ्य सम्बन्धी सावधानी अपनाउने कुरामा भने हामीले लापर्बाही गर्नु हुँदैन । ‘रोग भन्दा भोक ठूलो’ भन्ने अवस्था आएपछि संक्रमण फैलिरहेको अवस्थामा पनि मानिसहरूमा कोरोनाको डर घट्दै गएको देखिन्छ । अहिलेको अवस्थामा हामीले सावधानी घटाउने होइन बढाउने हो ।
मानिसहरु सार्वजनिक सवारी साधन प्रयोग गर्न थालिसकेका छन् । कोही मास्क प्रयोग गर्छन् त कति मास्कबिनै सडकमा घुमिरहेको देख्न सकिन्छ ।
सरकारले कोरोना भाइरसबाट बच्नका लागि मास्क प्रयोग गर्न, भीडभाडमा नजान, सेनिटाइजरको प्रयोग गर्न सुझाइरहेको छ । यस्तो अवस्थामा केहीले सरकारको भनाईलाई पछ्याइरहेका छन् भने केही आफै जान्ने बनिरहेका छन् ।
कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेको छ । नेपालमा अवस्था यो भन्दा भिन्न छैन । अझ असोज १ गतेदेखि सुरु गरिएको सामान्य जीवन यापनबाट कोरोना महामारीले कस्तो रुप लिने हो ? भन्ने पनि महत्वपूर्ण छ ।
केही मानिसहरु कोरोनाबाट बच्ने उपायहरु अवलम्बन गरिरहेका छन् । नियमित व्यायाम गर्ने, तातो पानी, बेसार पानी, गुर्जो पानी लगायत विभिन्न घरेलु औषधिहरु सेवन गर्ने र आफूले गरेको कार्य फोटो वा भिडियो बनाएर सामाजिक सञ्जालहरुमा सार्वजनिक गरिरहेका छन् । उनीहरुले कोरोनाबाट बच्न लागि विश्व स्वास्थ्य संगठनले जारी गरेको नियमलाई नै पछ्याउन सुझाव दिइरहेका छन् ।
सडकमा देखिने सवारी जाम र मानिसहरुको भीडले थप जटिलता निम्त्याउन पनि सक्छ । स्थिति जटिल बन्दै गए हाल बनाइएका क्वारेन्टाइनहरुले कति थेग्न सक्लान् ? यो पनि गम्भीर प्रश्न बनेको छ । काठमाडौं महानगरपालिकाले चैत महिनामा नै काठमाडौं उपत्यकामा ५ हजार अट्ने सार्वजनिक क्वारेन्टाइन बनाउने भनि घोषणा गरे पनि व्यवहारमा देखिएको छैन । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई नै कोरोनाको संक्रमण पुष्टि भएको छ ।
सरकारले निषेधाज्ञा अन्त्य गरेसँगै नागरिकले अब आफ्नो सुरक्षा आफै गर्नुपर्ने अवस्था आएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड तथा सरकारले दिएको निर्लदेशन अनुसार आफ्नो दैनिकी व्यवस्थित गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो ।