हाल कोविड– १९ अर्थात कोरोना महामारीले जुनसुकै क्षेत्रमा पनि ठूलो प्रभाब पारेको छ । अबको केही समय अझै पनि यस विषय परिस्थितिमा नै गुजार्नु पर्ने जस्तो देखिन्छ।
विगत ६ महिनादेखि अस्तब्यस्त रहेका जुनसुकै क्षेत्र पनि बिस्तारै क्रमिक रूपमा सञ्चालनमा आउन थालेका छन् । लामो समयपछि लकडाउन हटाइएको छ ।
लामो समयको लकडाउनका कारण विश्वका थुप्रै देशहरुको अर्थतन्त्रमा निकै ठूलो असर परेको रिपोर्टहरु सार्वजनिक भइरहेका छन् ।
हरेक कुरा परिवर्तनशील छ । त्यसैले समय परिस्थिति अनुरूप हुने बदलावहरूमा हामीले अनौठो मान्नु पर्ने कुनै कारण छैन । किनकि हरेक कुरा सधैं एउटा रूपमा रहिरहँन सक्दैन ।
जुनसुकै कुरा होस् । त्यसमा हुने प्राकृतिक परिवर्तन, धरातलीय परिवर्तन तथा अनेक किसिमका परिवर्तनहरू भई नै रहेका हुन्छन् ।बस् हामीले कति कुरामा ख्याल गर्छौं भने कति कुरामा ध्यान नै दिँदैनौं ।
अहिले हरेक क्षेत्रमा निकै बदलाव आएको पाइन्छ । कति कामदारहरू रोजगारविहीन र गाँस, बास र कपासबिहीन भएका छन् । कयौं कलकारखानाहरू बन्द भएका छन् । यसको सिधा असर त्यहाँ काम गरिरहेका कामदारहरूमा पर्न गएको छ ।
समय परिस्थिति अनुरूप बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुले घरबाटै काम गरिरहेका छन् भने कार्यालयमा सीमित कर्मचारीहरूको उपस्थितिमा बिभिन्न कामहरू भइरहेका छन् । कति कार्यालयहरू पूर्णरूपमा खुल्न थालेका छन् । कति कार्यालयहरू कोरोना सँगै सुरु भएको बन्दाबन्दिका कारणले बन्द छन् ।
हालको यस परिस्थितिमा शौक्षिक क्षेत्र नियाल्ने हो भने पूरा अस्तव्यस्त रहेको पाइन्छ ।
विद्यालयहरू कहिलेदेखि खुल्ने हुन् अझैसम्म पनि यकिन भइसकेको छैन । पठनपाठन लगभग पूरै प्रभावित बनेको अवस्था छ । यद्यपी शिक्षा मन्त्रालयले केही पाठ्यक्रमहरू समायोजन गरी शौक्षिक सत्र खेर जान नदिने बताएको छ ।
साथै दैनिक रुपमा सयौंको संख्यामा बढ्दो कोरोना संक्रमितका कारण जोखिम बढी रहेको छ । जसका कारण आमरुपमा जनजीवन प्रभावित बन्न पुगेको छ ।
गरीब परिवारमा रोगका कारणले भन्दा पनि भोकका कारणले परिस्थिति अझ कठिन बन्दै गएको छ । तर, सरकारको कदम प्रभावकारी बन्न सकेको छैन ।
मानव समय परिस्थिति अनुरूप चल्ने चेतनशील प्राणी हो । त्यसैले हामिले बिभिन्न परिस्थितिको नजिकबाट नियाल्न जरूरी हुन्छ । यसबाट हामी कसरी बँच्न र कसरी अघि बढ्न सकिन्छ भन्ने कुरा राम्रोसँग ध्यान दिन जरुरी छ । हालको परिस्थितिमा संक्रमणबाट जोगिन सजग भएर अघि बढ्नु पर्दछ ।
हामी हरेक कुरामा कुनै न कुनै बदलाव देखिरहेका छौं । यो प्रविधिको युग हो मानिसहरू केही समयमा सकिने छोटो छरितो कामको लागि दिन रात धाइरहन असमर्थ छन् किनकि मानिसलाई छोटो समयमा धेरै काम भ्याउनु छ ।
हिजोआजको हरेक कुराको सहजता सँगै मानिसहरू घरको एउटा कुनाबाट पूरा विश्व नियाल्न सफल छन् । विभिन्न नयाँ खोज अनुशन्धान आविष्कारहरू दिनानुदिन बढ्दो रूपमा भईरहेका छन् । हरेक आवश्यकताहरु निश्चित समयमा नै पुर्ण गराउन सक्षम छन् ।
हाल विद्यालय गएर पढ्ने विद्यार्थीहरू ६ महिनादेखि घरमै छन् भने कहीँ विद्यालयको पहुँच पुगेका ठाउँहरूमा अध्यायन अध्यापन शिक्षकहरूद्वारा प्रविधिको सदुपयोग सँगै जारी राखिएको पाइन्छ ।
बढ्दो व्यस्तताका कारण खाना खान समेत फुर्सद नहुने मानिसहरु आज घरमै बस्नुपर्ने अवस्थामा छन् । जसले साहित्य क्षेत्रमा नयाँ अनि नविनतम स्रष्टाहरूको उपस्थिति गराएको पनि छ । साथै नयाँ कृति र नयाँँ सिर्जनाहरू पनि आउन थालेका छन् ।
हाल कतिले रोजगार गुमाएका छन् भने कति बेरोजगार नै रहिरहेका छन् । यस समयको सदुपयोग गरि कतिले नयाँ रोजगार सुरूवात गरि देशको र आफ्नो भविष्य बनाएका छन् ।
कोरोना महामारीबाट जोगिन मास्कको प्रयोग र सावुन पानीले बेलाबेलामा हात धोईरहनु र आत्मबल दरिलो बनाउनु दुरी कायम गर्नु नै हो । साथै यसबाट जोगिनका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले समय समयमा दिएका निर्देशनहरुको पालना गर्नु आवश्यक छ ।
महामारीमा परेका मानिसहरुलाई सहयोग गरी बिस्तारै सामान्य जीवनशैलीमा फर्किनु अबको सर्वप्रथम महत्त्वपुर्ण कुरा हो । सबैलाई सबैले आत्मीयता, सदाशय मित्रवत् पारिवारिक भावना देखाउनपर्ने अबस्था आएको छ। समाजमा कसैले कसैलाई पनि अपमान र तिरस्कार गर्नु हुँदैन । यो हामी नेपालीको संस्कार पनि त होइन ।
जे होस् अहिले कोभिड–१९ विरुद्धको लडाइँमा मिलेर विजय प्राप्त गर्नुपर्छ । जीवनमा जस्तोसुकै कठिन परिस्थितिसँग पनि उच्च मनोबलका साथ हाँसीहाँसी सामना गर्ने बानिले नै आज हामीलाई थप उर्जावान र तागतिला बनाएको छ ।
जीवनमा कठोर परिस्थितिसँग संघर्ष गर्नुपर्ने हुन्छ । महामारीको कारण रोग, भोक, र शोकको त्रासमा छटपटिरहेको यो अवस्थामा हामी सबै आशावादी भएर बाँच्न सिक्नुपर्छ ।