मर्यादा पुरूषोत्तम भगवान रामकी पत्नी, धर्मानुरागी, आदर्श राजा दशरथकी बुहारी तथा मिथिलाका राजा राजर्षि जनककी छोरी सीता नेपाल भूमिकी गरिमामयी पुत्री हुन् । आदर्श पत्नी, आदर्श माता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा एक आदर्श नारीका रूपमा बहुचर्चित सीता नेपाल पुत्री भएकीले उनलाई यहाँ राष्ट्रिय विभूति मानिएको छ ।
सीता नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति हुन् । उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभर उनी जगज्जननीका रूपमा पूजित छिन् ।
संसारभर लगभग तिनसयका हाराहारीमा राम-सीता बारे लेखिएका रामायण उपलब्ध छन् । र त्यति नै संख्यामा प्रचलित तथा अलिखित स्वरूपका रामायणहरू भएको प्रसँगहरू पाइन्छ । यसका अलाबा रामायणमा मात्र सीमित नभएर अन्य थुप्रै धर्मग्रन्थ, पुराणहरुमा समेत राम-सीताका प्रसँगहरु अल्लेख भएका पाइन्छन् ।
ति मध्ये केहीमा राम र सीता तथा सीताको जन्मका सम्बन्धमा समान प्रसँगहरू पाइन्छन् । यस्तै कतिपयमा भने यसबारेमा अलि भिन्न धारणाहरू पनि पाइन्छ ।
प्रायः सबै ग्रन्थहरूमा सीता राजा जनकले जमीन जोत्दा हलोको टुँडो (हलोको फाली ठोक्ने ठाउँ) ले उक्काएर फेला परिन् र राजर्षि जनकले उनलाई पुत्रीका रूपमा ग्रहण गरे भन्ने प्रसँग पाइन्छ । जोत्दाखेरी जमीनबाट उत्पन्न भएकी हुनाले उनलाई संस्कृतमा हलोको सियो (जोत्दा जमीनमा हलोलो बनाउने गहिरो भाग) अर्थ दिने सीता नाम राखिएको बताइन्छ । संस्कृतमा सीताको अर्थ हलोको सियो भन्ने हुन्छ ।
यद्यपी सीतासहितको बाकस कसरी जमीनमा पुग्यो ? भन्ने प्रसँगहरूमा भने बिभिन्न भाषामा उपलब्ध रामायणमै पनि केही भिन्न धारणाहरू पाइन्छ । मूलत नेपालमा हामीले सीतालाई राजर्षि जनककी पुत्रीको रूपमा चिन्दछौ, तर कतिपय ग्रन्थहरूले भने रावणकी पुत्रीका रूपमा सीताको वर्णन गरेका छन् ।
यी विविध कुराहरूलाई मध्यनजर गर्दै सीताका उत्पतिका सम्बन्धमा प्रचलित केही समान र केही भिन्न धारणाहरू राख्ने धर्मग्रन्थहरूमा उपलब्ध वर्णनलाई चर्चा गर्ने जमर्को गरिएको छ ।
वाल्मिकि रामायण :
नेपालमा मूलतः महिर्षि वाल्मिकिद्वारा रचित रामायण चर्चित छ । त्यसैलै सुरूमा यसैमा उल्लिखित प्रसँगका बारेमा चर्चा गरौं ।
वाल्मिकि रामायणका अनुसार एक समय मिथिला राज्यमा खडेरीको परेको थियो । जसका कारण त्यहाँ ठूलो समस्या सिर्जना भयो । लामो समयसम्म खडेरीको प्रकोप भएपछि मिथिला राज्यमा अनिकालको स्थिती उतपन्न हुने भय देखियो । यसबाट कसरी मुक्ति मिल्छ ? यसको शीघ्र सामाधान कसरी हुनसक्छ ? भन्ने निर्क्यौलमा पुग्न राजर्षि जनकले ऋषिहरुसँग सल्लाह गरे ।
ऋषिहरुले राजा जनकलाई समस्या समाधानहेतु यज्ञ गर्ने सल्लाह दिए ! ऋषिहरुको सल्लाह बमोजिम राजा जनकले विधिपूर्वक यज्ञ सम्पन्न गरे । यज्ञ सम्पन्न गरी राजा स्वयंले हलो जोत्दै गर्दा हलोको फाली केही साह्रो चिजमा अड्किएजस्तो भएर त्यस ठाउमा खनेर हेर्दा त्यहाँ एउटा सुन्दर बाकसमा अत्यधिक सुन्दरी कन्या खेलिरहेको पाइयो ! राजा जनक र रानी सुनयना निःसन्तान भएकाले राजाले ती कन्यालाई आफ्नै पुत्री मानेर पालन, पोषण गरे समयक्रममा तिनै कन्या माता सीताका रूपमा प्रख्यात भइन् ।
अद्भुत रामायण :
देवी सीताको जन्म प्रसँगबारे बारे अद्भुत रामायणमा अलि फरक प्रसँग पाइन्छ । अद्भुत रामायणका अनुसार लंकापति राबणलाई एउटा श्राप परेको थियो । उक्त श्रापका अनुसार रावण भविष्यमा आफ्नै पुत्री प्रति आसक्त हुने र आफ्नै पुत्रीसँग विवाह वा संसर्गको विकार मनमा आउने छ र त्यहि उसको मृत्युको कारण बन्ने प्रसँग छ ।
यस श्रापको फल अनुसारको कथा अद्भुत रामायणमा यसरी वर्णन गरिएको छ,
एक समय दण्डकारण्यमा गृत्समद नामक ऋषि देवी लक्ष्मीलाई पुत्रीका रुपमा पाउनका लागि अरु सहायक ऋषिहरुको साथमा कठोर अनुष्ठान (तपश्या) मा बसेका थिए । गृत्समद ऋषि एउटा कलश स्थापना गरि हरेक दिन विधिपूर्वक पूजा अर्चना गरी मन्त्रो उच्चारण गरेर कुशको अग्रभागले कलशमा एक थोपा दूध चढाउदै अनुष्ठान गरिरहन्थे ।
एकदिन रावण गृत्समद ऋषि आश्रममा नभएको मौका छोपेर आश्रममा पुग्छ । र रावणले त्यहाँ रहेका अन्य सबै ऋषिहरू, जो अनुष्ठानमा रहेका थिए, को हत्या गरी उनीहरुको रगत त्यही कलशमा हाली कलश बोकेर लंका पुग्दछ ।
यता लंकामा रावणको हातमा कलश देखेर महारानी मन्दोदरी (मन्दोदरी रावणकी पत्नी हुन्) लाई कौतुहलता हुन्छ र उनले रावणलाइ कलशको बारेमा सोद्छिन् । पत्नी मन्दोदरीको कौतुहुलता निवारणका लागि रावण उनलाई त्यस कलशमा विष भरिएको कुरा बताउँछ र जतन साथ राख्नु भनी मन्दोदरीलाई अह्राउँछ ।
समय क्रममा जब रावण शिव (भगवान् महादेव) उपासना गर्न हिमालय पर्वत जान्छन् । रावण शीव उपासना गर्न गएपछि एक्लोपनाले सताएकी मन्दोदरी उदास भएर सोही कलशमा भएको विष (रावणले त्यसमा विष राखिएको छ भनेका हुनाले) पिएर आत्मदह गर्छु भनी कलश निकाली कलशमा भएको सबै रगत (विष भन्ने सोचेर) पिउँदछिन् ।
उक्त कलशमा भएको ऋषिहरुको रगत र दूधको मिश्रण पिएपछि मन्दोदरीको मृत्यु हुँदैन, बरू त्यसको प्रभावले उनी गर्भवति हुन्छिन् । पति घरमा नभएको बेला गर्भाधारण भएकाले मन्दोदरी ठूलो संकटमा पर्दछिन् । यो भेद खुल्ला भन्ने भयले उनी तीर्थयात्राकत्र बाहानामा दरबारबाट निस्कन्छिन् ।
त्यसपछि मन्दोदरीले आफ्नो गर्भमा रहेको बच्चीलाई जन्म दिई एउटा सुवर्णको बाकसमा हालेर मिथिला भूमिमा छोडेर लंका फर्किन्छिन् ।
यसरी जन्म भएका कारण देवी सीता रावणकै पुत्री भएको प्रसँगको वर्णन अद्भुत रामायणमा उल्लेख छ ।
लाहोली रामायण :
यसै गरी भारतस्थित हिमान्चल लाहौलमा स्थानीय लाहोली रामायण पूजा, पाठ हुन्छ । लाहोली भाषामा लिखित रूपमा रामायण नपाइए पनि जनश्रुती अनुसार लाहोली रामायणको कथा वाचन हुन्छ ।
जनश्रुतिका आधारमा कथा वाचन गर्ने लाहोली रामायणमा पनि सीता जन्मको प्रसँग अद्भुत रामायणमै वर्णित प्रसँगसँग मिल्छ । लाहोलीहरु लाहोललाइ सीता जन्मभूमिको रुपमा र सीतालाइ रावणकै पुत्रीको रुपमा विश्वास गर्दछन् ।
थाइल्यान्ड रामायण :
उता थाइल्यान्डमा प्रचलित रामायणका अनुसार रावणकी पत्नी मन्दोदरी गर्भवती भएपछि रावण ऋषि, पुरोहितसँग गर्भफल (आफ्नो सन्तानको भविष्यवाणी ?) का बारेमा जिज्ञासा राख्छ । गर्भफल देखाउँदा ऋषि तथा पुरोहितहरूले उक्त गर्भबाट पुत्री जन्मिने र सोही पुत्री रावणको विनासको कारण बन्ने भविष्यवाणी गरिदिन्छन् ।
त्यसपछि रावणको मनमा चिन्ता उत्पन्न हुन्छ । उ आफ्नो रक्षाका लागि गर्भमा रहेकी पुत्रीको वध गर्न तयार हुन्छ । तर, पुत्री जन्मिएपछि भने रावण मोहका कारण पुत्रीको वध गर्न भने सक्दैन । त्यसैले बाकसमा राखेर खोला किनारमा गाडीदिन्छ ।
खोला किनारमा गाडिएको सोही बाकस जसमा सीता थिइन्, लाई बाढीले बगाउदै मिथिला पुर्याएको प्रसँग थाइल्यान्डमा प्रचलित रामायणमा उल्लेख छ ।
यो रामायण अनुसार विद्वान रावणलाई सीता आफ्नै पुत्री भएको थाहा भएकै कारण उसले हरण गरेर लागे तापनि माता सीताप्रति कुनै खराब व्यवहार नगरेको विश्वास गरिन्छ ।
ब्रह्मवैवर्त पुराण :
वेदमार्गको दशौं पुराणको रुपमा ब्रह्मवैवर्त पुराणलाई मानिन्छ । यस पुराणमा भगवान् श्रीकृष्णका लीलाहरूको विस्तृत वर्णन, श्रीराधाको गोलोक-लीला तथा अवतार लीलाका सुन्दर विवेचन, विभिन्न देवताहरूको महिमा एवं एकरूपता र उनको साधना-उपासनाका सुन्दर रूपमा निरूपण गरिएकोछ ।
यस पुराणमा भने माता सीताको जन्मका सम्बन्धमा अझ फरक प्रसँग उल्लेख गरिएको छ ।
यस पुराण अनुसार देवी सीताको जन्म एक ब्राम्हण कन्या वेदवती सँग जोडिएको पाइन्छ । जसअनुसार एक समय कन्या वेदवती भगवान विष्णुलाई पतिका रुपमा पाउन घोर तपस्यामा बसेकी थिइन् । त्यतिबेला हिमालय पर्वतको भ्रमणमा रहेको रावणको नजर सुन्दर कन्या वेदवतीमाथि पर्छ । अत्यधिक सुन्दरी कन्या वेदवतीलाइ देखेर रावण कामाग्नीले उत्तेजित भइ वेदवतीसँग संसर्गका खातिर वेदवतीको हात समात्न पुग्छ ।
तपस्यामा बसेकी वेदवती एक्कासी परपुरुषले हात समातेपछि तपस्या भंग भएर उठ्छिन् र रावणसँग आफ्नो हात छुटाउन खोज्छिन् । यसरी तानातानमा हात झट्काएर भाग्न खोज्दा पर्वतबाट खाडीमा खसेर वेदवतीको मृत्यु हुन्छ ।
आफ्नो तपस्या भंग गरेको र आफूसँग जबर्जस्ती गर्न खोजेकोले वेदवतीले मर्नुभन्दा पहिले रावणलाई आफूले पुनर्जन्म लिने र त्यही पुनर्जन्म रावणको मृत्युको कारण बन्ने श्राप दिन्छिन् । श्राप अनुसार वेदवतीको पुनर्जन्म भएर सीताको रुपमा आएको र सोही श्राप बमोजिम रावणको मृत्युको कारण बनेको कथा यस पुराणमा उल्लेख छ ।
कम्ब रामायण :
कम्ब रामायणमा सीता जन्मका बारेमा फरक प्रसँग उल्लेख भएको छ । यस रामायण अनुसार शीरध्वज (जनक)का भाइ कुशध्वजकी छोरी वेदवती रावणका कारण आगामा होमिई खरानी भएकी थिइन् र त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन् भन्ने सीता जन्म प्रसंग उल्लेख छ ।
आनन्द रामायण :
आनन्द रामायण अनुसार मिथिला भूमिमा एक ब्राहृमणले सन्दुक फेला पार्छन् । र, ब्राह्मणले त्यो सन्दुक राजा जनकलाई जिम्मा दिएका थिए । त्यसभित्र कन्या भएकीले राजा जनकबाट उनको पालनपोषण भएको प्रसँगको वर्णन आनन्द रामायणमा पाइन्छ ।
मिथिला भूमिमा सन्दुक गाड्ने काम चाहीँ रावणले गरेको थियो । गाड्दाखेरि सीताले रावणलाई श्राप दिँदै भनेकी थिइन्- 'म फेरि लङ्का आई तँ र तेरो वंशलाई सखाप पार्नेछु ।'
आनन्द रामायण कै अनुसार भगवान् विष्णुले दिनुभएको महालिङ्गबाट निस्किएकी 'पद्मा' राजा पद्माक्षरकी छोरी हुन् । पद्माको बिहेका लागि आयोजित स्वयम्बर समारोहमा दैत्यले तँछाड मँछाड गर्दै कोलाहल मच्चाएकाले उनी आगोमा विलीन भइन् ।
केही कालपछि उनी अग्निकुण्डबाट निस्कँदा रावणको कुदृष्टि परेको र उसले पछ्याउँदै आएकाले उनी फेरि आगामै हराएकी थिइन् । रावणले अग्निकुण्ड समेत भत्काउन लगायो र त्यहाँ पञ्चरत्न हात पार्यो ।
सन्दुकमा राखिएको पञ्चरत्नमा मन्दोदरीले कन्याका रूपमा पद्मालाई देखिन् । यो थाहा पाएपछि रावणले सन्दुक बन्द गरेर जमीनमा गाडिदियो र त्यही गाड्ने बेलामा पद्मा (सीता)ले श्राप दिएकी हुन् ।
देवी भागवत :
देवी भागवत अनुसार लङ्काधिपति रावणले आफ्नो पहिलो सन्तान (कन्या)लाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो र त्यो थलो जनकपुर थियो ।
मय राक्षसकी छोरी मन्दोदरीसँग बिहे गर्ने बेलामा रावणले पहिलो सन्तानका कारण वंशै समाप्त हुने सुनेकाले रावणले जन्मिनासाथ कन्यालाई गाडेको हो ।
अद्भूत रामायण अनुसार त्यतिखेर रावणको अत्याचार ज्यादै बढेको थियो । ऋषि, तपस्वीलाई उसले निकै कष्ट दिन्थ्यो । तपस्यारत ऋषि, तपस्वीका शरीरमा बाणले घोच्दै रगत झिकेर घैँटामा भर्थ्यो । गृत्समद ऋषि पनि त्यहीँ तपस्या गरिरहेका थिए । उनी सदा कुशको अग्रभागबाट निस्किएको दूध घैँटामा जम्मा गर्थे । रावणले यस कुराको चाल पाई त्यो घैँटो चोरी दूध जति आफ्नो घैँटामा भरेको थियो ।
रावणबाट वाक्कदिक्क भएकी मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइदिइन् । मन्दोदरी त मरिनन् तर त्यसबाट उनमा गर्भ रहन गयो । यस गर्भलाई उनले जमीन मुनि गाडिदिएकी थिइन् । राजा जनकले हलो चलाउँदा सीता फेला पारेका हुन् ।
(माथि उल्लेखित सीता जन्मका प्रसँगहरु सम्बन्धित ग्रन्थ, गुरु पुरोहित, पुराना जनश्रुती र इन्टरनेटको माध्यमबाट एकिकृत गरिएको हो ।)
ट्विटर : @mastamaulana