काठमाडौं । कुनै एक शहरमा एकजना मूर्तिकार बस्ने गर्दथ्यो । ऊ मूर्ति बनाउनका लागि प्रख्यात थियो । मानिसहरु उसका मूर्ति खरिद गर्न आउँथे र खुसीसाथ किनेर लैजाने गर्दथे । उ सुन्दर मूर्ति बनाउनका लागि प्रसिद्ध थियो ।
यसबाट उ राम्रै आम्दानी गर्दथ्यो । उसको परिवारले खुसीसाथ गुजारा गरेको थियो ।
उसको एउटा छोरो जन्मियो । छोरो पनि सानै उमेरदेखि मूर्ति बनाउने कार्यमा लाग्न थाल्यो । छोरोले पनि सुन्दर मूर्ति बनाउन थाल्यो । बाबु पनि आफ्नो छोरोको सफलतामा खुसी हुन्थ्यो ।
तर, बाबुले हरेक पटक आफ्नो छोराको मूर्तिमा कुनै न कुनै कमजोरी औंल्याइदिन्थ्यो । उ भन्थ्यो, ‘राम्रो मूर्ति बनायौ छोरा अर्को पटक भने यो कमी पनि हटाउनु ।’
छोरो पनि आज्ञाकारी थियो । उ आफ्नो बाबुले दिएको सल्लाह लिन्थ्यो र त्यसैअनुरुप सुधार गर्दथ्यो ।
यसरी लगातार सुधार हुँदै जाँदा छोरोले बनाउने मूर्ति बाबुले बनाउने मूर्तिभन्दा पनि सुन्दर हुन थाल्यो ।
गर्दैजाँदा मानिसहरुले बाबुले बनाएको मूर्तिलाई भन्दा छोराले बनाएको मूर्तिलाई धेरै पैसा दिएर खरिद गर्न थाले । छोराले बनाएको मूर्तिको माग पनि बढ्यो । तर, बाबुले बनाएका मूर्तिहरु भने पहिले जति बिक्रि हुन्थे त्यसभन्दा बढेन ।
तर, अझै पनि बाबुले छोराको मूर्तिमा कमजोरी औंल्याइदिन्थ्यो र सुधार गर्न सुझाव दिने गर्दथ्यो ।
तर, छोरालाई अब यो राम्रो लाग्दैनथ्यो । तर पनि उ बाबुको कुरा सुन्थ्यो र मन लागी नलागी त्यसमा सुधार गरिदिन्थ्यो ।
एक समय यस्तो पनि आयो कि बाबुले कमजोरी औंल्याउँदा छोराले जबाफ दिन्थ्यो, ‘तपाईं त यसरी सुझाव दिँदै हुनुहुन्छ कि तपाईं कुनै ठूलो मूर्तिकार हो । यदि यस्तै हो भने त तपाईंको मूर्ति कम मूल्यमा बिक्री हुनु नपर्ने हो । मलाई तपाईंको सल्लाह आवश्यक छैन । मेरो मूर्ति राम्रो छ ।’
छोरोको यो उत्तर सुनेपछि बाबुले उसले बनाएको मूर्तिमा कमजोरी निकाल्न र त्यसलाई सुधार गर्न सल्लाह दिन छाड्यो ।
केही महिनासम्म छोरो खुसी रह्यो । तर, केही महिनापछि उसले बनाएका मूर्तिको माग विस्तारै घट्दै गएको उसले अनुभव गर्न थाल्यो । साथै उसका मूर्तिको मूल्य बढ्न छाड्यो ।
सुरुमा उसले यसबारेमा के भएको हो भनेर ठम्याउन सकेन । तर पछि पुनः बाबुसँग गएर आफूलाई लागेको कुरा भन्न थाल्यो ।
बाबुले पनि शान्तपूर्वक छोराको कुरा सुन्यो मानौं उसलाई यस्तो एकदिन आउँछ भन्ने कुरा पहिल्यैदेखि जानकारी थियो । छोरोले बाबुको त्यो मनोविज्ञानलाई ध्यान दिँदै भन्यो, ‘के तपाईंलाई यो दिन आउँछ भन्ने थाहा थियो ?’
बाबुले उत्तर दियो, ‘हो । किनकि वर्षौं पहिले म पनि यही अवस्थाबाट आएको थिएँ ।’
छोरोले भन्यो, ‘त्यसो भए तपाईंले मलाई किन सम्झाउनु भएन ?’
बाबुले उत्तर दियो, ‘किनकि तिमी यो कुरा सम्झिन तयार थिएनौ ।’ उसले फेरि भन्यो, ‘म जान्दथें कि म तिम्रोजस्तो सुन्दर मूर्ति बनाउन म सक्दिँन थिए । यो पनि हुनसक्न मूर्तिका सम्बन्धमा मेरो सल्लाह गलत थियो । अथवा मेरो सल्लाहका कारण तिमीले राम्रो मूर्ति बनायौ भन्ने पनि होइन । तर जब म तिमिले बनाएको मूर्तिमा कमजोरी औल्याउँथें तब तिमी आफूले बनाएका मूर्तिप्रति पूर्ण रुपमा सन्तुष्ट हुँदैन थियौ । तिमी अझ राम्रो हुने प्रयास गर्दथ्यौ । त्यही प्रयास तिम्रो सफलताको कारण थियो । तर, जुन दिन तिमी आफ्नो काममा सन्तुष्ट भयौ र यो मान्न थाल्यौ कि अब यसमा अझ राम्रो हुने सम्भावना नै छैन, तिम्रो विकास पनि रोकियो र मानिसहरु तिमीसँग जहिले पनि उत्कृष्टता चाहान्छन् । र यही कारण हो कि अहिले तिम्रो तारिफ हुन छाडेको छ । र तिमीले बनाएका मूर्तिको माग पनि घटेको छ ।’
बाबुको कुरा सुनेपछि केहीबेर शान्त रहेर छोराले सोध्यो, ‘अब मैले के गर्नु आवश्यक छ त ?’
बाबुले उत्तर दियो, ‘आफ्नो कामलाई अझै सुधार्न सक्छु कि भन्ने सम्भावनाको खोजी गर्न सिक । यो सम्झ कि तिमीले गरेको काममा अझ राम्रो हुने सम्भावना बाँकी छ । यही एक कुराले भविष्यमा तिमीलाई सफलतातिर अग्रसर गराउने छ ।'
यो पनि पढ्नुहोस् ।
रिसले ज्ञानको बाटो थुन्छ, ज्ञानी बन्ने हो भने रिसमाथि नियन्त्रण गर्नुस्
हामी खुसी हुन चाहन्छौं तर खुसी हुन सक्दैनौं, किन ?
केहि मनछुने भनाइ जसले तपाईंलाई उत्प्रेरणा दिन सक्छ
एक आत्मले आफू वरिपरिको वातावरण नै आनन्दित बनाउँछ
जनहित र लोकहित गर्नु नै मानिसको कर्तव्य हो