दशैँ करिबकरिब लागिसकेको छ । तर बजारमा दशैँकको रौनक पोहोरपरारको जस्तो छैन । कारण कोरोना कहर । मान्छेको चहलपहल घटको छ । किनमेल घटेको छ । व्यापार व्यवसाय सुस्ताएको छ ।
र पनि व्यापार व्यवसाय बढाउन, अर्थतन्त्र चलायमान बनाउन भन्दै विभिन्न उपाय, अनेकन तौरतरिकाको खोजी हुँदै छ, प्रयोग हुँदै छ । अझ यो त दशैँको बेला, बर्षको सबैभन्दा धेरै व्यापार हुने समय ।
व्यापार खुम्चिएको भए पनि धेरथोर दशैँको झल्को बजारमा देखिएको छ । विभिन्न अफर, उपहार, योजनाहरूको होहल्ला यत्रतत्र देख्न पाइएकै छ ।
कोरोनाले गम्भिर मारमा परेको व्यवसायहरूमध्ये पुस्तक व्यवसाय पनि एक हो । कोरोनाले करिब सात महिनादेखि विद्यालय/क्याम्पस बन्द छन् । नयाँ शैक्षिक सत्र अस्तव्यस्त छ । पठनपाठन सुरु नहुँदा ती पुस्तकको व्यापार शून्य प्रायः छ ।
उता कला साहित्यको पुस्तकले भने व्यापारमा केही गति लिन खोजेको हो कि, पुरानै अवस्थामा फर्किन लागेको हो भन्ने आभास नयाँ पुस्तकको प्रकाशन तथा बिक्रेताको चहलपहलले गराउँदैछ ।
दशैँको मेला छोपेर पुस्तक बिक्रिमा विभिन्न छुट तथा अफरका योजनाहरू बजारमा देखिएका छन् । कतै ‘होम डेलिभरि’मा छुट भन्ने सुन्न/देख्न पाइन्छ भने कतै पुस्तक खरिदमा यति प्रतिशतसम्म छुट भन्ने देख्न/सुन्न पाइएको छ । केही प्रकाशक तथा बिक्रेताले निश्चित रकमसम्मको खरिदमा उपहारस्वरुप पुस्तक नै पाइने अफर पनि ल्याएका छन् । यस्तैयस्तै दशैँ विशेष प्याकेजका अफर बजारमा देखिएको छ ।
दशैँलाई लक्षित गर्दै विभिन्न पुस्तक छापिएका छन् । यही घानमा पुस्तक बजारमा आएका छन् । दशैँको कोसेली भन्दै विभिन्न पुस्तक सिफारिस भइरहेको छ । दशैँमा पढ्नै पर्ने पुस्तक भनेर सूचि पनि प्रकाशित भइरहेका छ । यी लेखकले यो देशैँमा यो पुस्तक पढ्दै भन्ने खबर पनि सञ्जालमा देख्न पाइएको छ । प्रचार गरिँदै छ । अझ यसपाली त अन्य लत्ताकपडा खरिद नगरि किताब खरिद गरौँ, वा गरियो भन्दै सञ्जालमा देख्न पनि पाइएको छ । समग्रमा भन्नु पर्दा पुस्तक व्यवसायमा दशैँ लागेको छ ।
दशैँ भनेको फुर्सदको समय हो । फुर्सदको समय पुस्तक पढेर बिताऔँ । यही आशयका साथ पुस्तक व्यवसायी बजारमा उत्रिरहेका छन् । बजारमा देखिएका अफर, योजनाले यही देखाउँछ कि पुस्तकलाई दशैँ विषेश बनाइँदै लगिँदै छ ।
पुस्तकको बिक्रि बढ्नु लेखकदेखी प्रकाशकसम्म, बितरकदेखी पाठकसम्म सबैलाई फाइदाको कुरा हो । लेख्ने, छाप्नेले पैसा कमाउँछ । पढ्नेले ज्ञान बढाउँछ, नयाँ कुरा थाहा पाउँछ । त्यसैले पुस्तकको व्यापार बढ्नु पर्छ । पढ्ने वानी पनि बढ्नु पर्छ ।
तर पढ्ने भनेको फुर्सदको समयमा मात्र हो र ? फुर्सद हुन्छ अनि पढ्ने बानीको विकास गर्ने हो कि फुर्सद निकालेर पढ्ने बानीको विकास गर्ने ?
छापाका सञ्चार माध्यमदेखि डिजिटल भनिने सञ्चार माध्यम पढ्नलाई फुर्सदको समय रौजौँ भनिरहेका छन् । हप्ताको अन्तिम दिन वा विदाको दिन छापिने साहित्य परिष्टांकको उद्देश्य त्यही होइन र, फुर्सदमा साहित्य पढौँ ?
डिजिटल उपकरणको प्रयोग व्यापक भइरहँदा मानिस मोबाइल/ल्यापटपमा दिनको चारपाँच घण्टा घोरिरहेर बस्नु सामान्य भइसक्यो । धेरथोर हुने फुर्सद पनि ति उपकरणले चोर्दै लगेको छ । अनि हामी चाहीँ फुर्सदमा पढौँ भन्दै कराइरहेका छौँ । यसले हामीलाई कता लैजाला ? कता के नमिलेको जस्तो लाग्दैन र भन्या ?
करिब डेढ बर्षअघि एक प्रकाशन गृहका सञ्चालकले सार्वजनिक रुपमै ‘पुस्तकको बिक्रि नभएकाले नयाँ संस्करणको छपाइ नगरिने’ भन्दै जानकारी गराएका थिए । लामो विदा बाहेकको समयमा पुस्तक बिक्न छोडेका छन् ।
अझ अघिल्लो बर्षदेखि आयात गरिने पुस्तकमा १० प्रतिशत भन्सार शुल्क लाग्ने भएपछि त पुस्तक बिक्रेता त्यतै अल्झिएका छन् । त्यसविरुद्ध लड्दै छन् । यसले आयातित पुस्तकको बिक्रि-बितरण मात्र कम भएको होइन पुस्तक व्यवसायीले पुस्तक आयात नै नगर्दा पुस्तक व्यवसायको आयातन नै घटेको छ ।
बाहिरका पुस्तक नआउँदा यतैका पुस्तकको व्यापार बढ्नुपर्ने हो । तर अर्थशास्त्रको यो नियम यहाँ लागू भएन । र फलस्वरुप पुस्तकको समग्र व्यापार घटेको छ । व्यवसायी निरुत्साहित भएका छन् ।
त्यसमाथि कोरोना कालपछिको बन्दाबन्दीले पुस्तक व्यवसायलाई मार थपेको छ ।
बन्दाबन्दीपछिको जनजीवन सामान्यतिर फर्कँदै गर्दा पुस्तक बिक्रिको लागि बिक्रेताहरू सक्रिय नभएका भने होइनन् । ‘होम डेलिभरी’ गर्ने भन्दै पछिल्लो समय व्यापक रुपमा व्यवसायी थपिएका छन् । तर तिनीहरू सहर केन्द्रित छन् ।
एक त हाम्रो पठन संस्कृति कमजोर छ । नियमित पढ्ने पाठक कम छन् । राम्रो पुस्तककालयको अभाव छ । त्यसमाथि व्यवसायीहरू सिमित घेरामा बाँधिएर रहँदा व्यवसायले कुन बाटो लेला ?
कोरोनाले गर्दा घरमै थुनिनुपर्दा पुस्तक पढ्नेको संख्या बढेको जस्तो देखिएको पनि छ । तर तिनीहरू पनि त फुर्सदको बेलामा पढ्ने खालका भए नि । के तिनीहरूमा नियमित पढ्ने चाख वा वानी विकास भएको छ ? यो प्रश्न जटिल छ । सायद उत्तर आफैँलाई सोध्दा वा आफैँमा बुझ्दा थाहा होला ।
यसरी फुर्सदको समयमा पढौँ भनिरहँदा दशैँ तिहारको एक महिना त राम्रो व्यपार होला तर बाँकी एघार महिना के हुन्छ ? सबैले सोच्नु पर्ने विषय हो ।
पुस्तक फुर्सदको समयमा पढ्ने नभएर फुर्सद नकालेर पढ्ने संस्कार/बानी बसाल्न जरुरी छ । यसको लागि लेखकदेखि प्रकाशक, वितरकदेखि पाठकले पनि सोच्न जरुरी छ ।
पढ्ने संस्कृतिको विकास गरौँ । पढ्नलाई फुर्सद निकालौँ ।
अस्तुः ।