काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद बढ्दै जाँदा अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच आरोप प्रत्यारोप लिखित रूपमै भएको छ ।
प्रचण्डले १९ पेजको प्रस्तावमार्फत ओलीमाथि उठाएको प्रश्नको जबाफ त्यसको १० दिनपछि ओलीले ३८ पेजको अर्को प्रश्तावमार्फत दिएका छन् ।
यससम्बन्धमा उपाध्यक्ष बामदेव गौतमले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनको धारणा सामाजिक सञ्जालमार्फत विश्वमणि सुवेदीले सार्वजनिक गरेका हुन् ।
यस्तो छ गौतमको धारणा :
मैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ । वैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु ।
पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक वस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ ।
यो वैठक वस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ । बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु ।
बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ । पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ । यस्ता व्यवस्थापनसित सबवन्धित विषयमा पनि विवेक पुर्याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।