अक्सर नापी, मालपोत, यातायात मानिसहरूको भीडभाड भइरहने सरकारी कार्यालय हुन् । सेवाग्राहीको बढी चहलपहल भइरहने भएकाले यस्ता कार्यालयमा विचौलियाको बिगबिगी हुन्छ । कार्यालयको गेटअगाडि नै सेवाग्राही समातिन्छन्, ‘के गर्नुपर्ने हो ? हामीलाई भन्नोस्, काम फटाफट हुन्छ, लाइन बस्नुपर्दैन ।’
चाहे त्यो फर्म भरिदिने बहानामा होस् वा लाइन बस्न नपर्ने प्रलोभनमा, सजिलो काममा समेत सेवाग्राहीले विचौलियालाई पैसा बुझाइरहेका हुन्छन् ।
यस्तो थाहा पाएर पनि कतिपय कार्यालयका प्रमुख, कर्मचारी अनजानजस्तै बन्ने गरेका छन् । हुन त उनीहरूले गरुन् पनि के, सेवाग्राही कार्यालयको गेटभित्र नपस्दै विचौलियाकहाँ फँसिसकेका हुन्छन् !
तर, कार्यालय प्रमुख र कर्मचारीले चाहने हो भने गेटबाहिरै सेवाग्राही ठगिनुपर्ने अवस्थाको अन्त्य गर्न सकिने उदाहरण यातायात कार्यालय, सवारी चालक अनुमति पत्र ठूलो भर्याङले दिएको छ ।
यस कार्यालयका प्रमुख सञ्जय थापाले सेवाग्राहीका लागि ‘वर्कफ्लो चार्ट’ बनाएका छन्, जसबाट सेवाग्राहीले सजिलै आफ्नो काम बनाउन सक्छन् । जस्तो कि, कुनै सेवाग्राही लाइसेन्स नवीकरण गर्न कार्यालयमा पुग्यो । यसका लागि कोठा नम्बर कतिमा जाने ? सबैलाई थाहा नहुन सक्छ । अनलाइन फर्म ल्याएर कहाँ बुझाउने ? यसबारे पनि पहिलो पटक आउने सेवाग्राही अनभिज्ञ हुन्छ ।
सेवाग्राहीले कार्यालयको गेटबाट भित्र छिर्नेबित्तिकै वर्कफ्लो चार्ट हेरेर आफू जाने कोठाबारे थाहा पाउन सक्छन् । फर्म बुझाउने, नवीकरण गर्ने, राजस्व तिर्नेलगायत सबै काम र सम्बन्धित कोठाबारे त्यहाँ प्रस्ट रूपमा लेखिएको छ ।
कार्यालय प्रमुख थापाले फेसबुक पेज बनाएरै सेवाग्राहीलाई यसबारे जानकारी दिने गरेका छन् । ताकि, सेवाग्राही आफ्नो घरबाटै काम र सम्बन्धित कोठाबारे जानकारीसहित कार्यालय आउन् ।
‘सेवाग्राही नठगिऊन् भनेर मैले आफ्नो कामको सुरुवात नै वर्कफ्लो चार्ट बनाएर गरेँ’, कार्यालय प्रमुख थापाले भने, ‘त्यसपछि कर्मचारी साथीहरूसँग समन्वय बढाएको छु, उहाँहरूका समस्या, गुनासो सम्बोधनको प्रयासमा छु । किनकि, एक समस्यारहित र स्फुर्त कर्मचारीले नै सेवाग्राहीसँग राम्रो व्यवहार गर्न सक्छ, चुस्त सेवा प्रवाह गर्न सक्छ ।’
कार्यालय परिसरमा भेटिएका धादिङ रुबिभ्याली–९ का श्रवणकुमार अधिकारीले कार्यालयको चार्ट हेरेर आफूलाई काम गर्न सजिलो भएको बताए । ‘नवीकरणका लागि आएको हुँ । बाहिर आएर ब्रोकर (विचौलिया) लाई जिम्मा दिनुपर्ला भन्ने सोचेको थिएँ’, उनले भने, ‘तर, भित्र आएर हेरेँ, सबै यहीँ लेखेको रहेछ । अलमल नहुने भएपछि आफैँले काम गरेँ ।’
यातायात कार्यालय ठूलो भर्याङले सुरु गरेको वर्कफ्लो चार्टबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समेत छलफल भएको थियो । छलफलपछि मन्त्रालयले यस्तै चार्ट बनाएर सेवाग्राहीलाई सहजीकरण गर्न अन्य कार्यालयलाई पनि निर्देशन दिइसकेको छ ।
यही कार्यालयले लाइसेन्स वितरणका लागि एउटा सफ्टवेयर विकास गरेको छ, जसबाट सेवाग्राहीले घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सफ्टवेयरको सहयोगमा कार्यालयले अहिले दिनमै एक हजार लाइसेन्स वितरण गर्न सक्छ । जबकि, यसअघि तीन/चार सय लाइसेन्स वितरण गर्दा दिनभर लाग्थ्यो । कार्यालयका कम्युटर अधिकृत बासुदेव रेग्मीले उक्त सफ्टवेयर बनाएका हुन् ।
प्रभावकारी देखिएपछि उपत्यकाका सबै यातायात कार्यालयमा यही सफ्टवेयर राखेर काम हुन थालेको छ । मन्त्रालयले देशभरका यातायात कार्यालयमा यो सफ्टवेयर राख्ने योजना बनाएको छ । ‘हामीलाई मन्त्रालयबाट पत्र आइसकेको छ । अब बासुदेव सरले बनाएको सफ्टवेयर देशभरका यातायात कार्यालयमा राखिने छ’, कार्यालय प्रमुख थापाले भने ।
यो सफ्टवेयरका कारण पनि गेटबाट सेवाग्राही ठगिने क्रम घटेको उनको भनाइ छ । ‘कतिपयले लाइन बस्नुपर्छ भनेर विचौलिया समात्ने गरेका थिए । अब एकैछिनमा पालो आउने भएपछि किन चाहियो विचौलिया ?’, प्रमुख थापाले भने ।
यस्ता नवीनतम र सिर्जनात्मक काम गर्ने कर्मचारीलाई कार्यालय प्रमुखको हैसियतमा आफूले सधैं प्रोत्साहन गर्ने पनि उनले बताए । ‘कार्यालय सहयोगीदेखी कार्यालय प्रमुखसम्म, हामी जनताका सेवक हौँ’, उनले भने, ‘जसले जनताका लागि राम्रो र सिर्जनात्मक काम गर्छ, उसलाई हामी सबैले सघाउनैपर्छ ।’
त्यसो त, कार्यालय प्रमुख थापाले कुन कोठामा को छिर्छ, किन छिर्छ, के भइरहेको छ भनेर आफ्नै कोठाबाट सूक्ष्मरूपमा नियाल्ने गरेका छन् । आफ्नो कार्यकक्षमा बसेर उनले ठूलो एलइडीमार्फत निगरानी गरिरहेका हुन्छन् । ‘हिजो के भयो मैले त्यता ध्यान दिइनँ । अब के हुन्छ र हुनुपर्छ मेरो ध्यान त्यता हुन्छ । त्यसैले म आफ्नो ड्युटी गरिरहेको छु’, उनले भने, ‘राम्रो काम गर्नेलाई प्रोत्साहन र पुरस्कृत गरिन्छ, छलछाम गर्नेले कर्मअनुसारको परिणाम भोग्नुपर्छ ।’
ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स लिनेहरूको चाप अत्यधिक बढेपछि सेवाप्रवाह सुस्त र झन्झटपूर्ण भयो । त्यसपछि २०७३ सालमा भक्तपुरको जगाती, काठमाडौंको सुकेधारा र ठूलो भर्याङ गरी तीन ठाउँमा थप कार्यालय स्थापना गरिएको थियो ।
२०७४ सालमा नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका थापा आफैं पनि सिर्जनात्मक क्षमता भएका कर्मचारीमा गनिन्छन् । अंग्रेजी साहित्यमा डिग्री गरेका उनले हालै मात्र एलएलबी पनि गरेका छन् । उनले गत ५ पुसबाट यातायात कार्यालय ठूलो भर्याङमा प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । ‘सेवाप्रवाहलाई चुस्त बनाउन मसित केही प्रभावकारी योजना छन्, आगामी दिनमा ती लागू गरेर अघि बढ्ने छु’, उनले भने, ‘मलाई एउटा इमान्दार, कर्तव्यनिष्ठ र उत्तरदायी कर्मचारी बनेर जनताको सेवा गर्नु छ, रिटायर्ड भएपछि मैले गरेका कामबाट मैले शान्ति पाउन सकूँ ।’
उनी विगतको तुलनामा यातायात क्षेत्रमा धेरै सुधार भएको मान्छन् । ‘यहाँ यातायात क्षेत्रलाई सधैंं एउटै चश्माले हेरिन्छ । हिजोभन्दा आज निकै सुधार भएको छ ।’ यद्यपि, यो नै पर्याप्त नरहेको उनको भनाइ छ ।
‘केही बेथितिको अन्त्य भएको छ । तर, गेटैबाहिर सेवाग्राही ठगिनुपर्नेलगायत केही समस्या अझै बाँकी छन् । यसको हल गर्न कार्यालय, विभाग, तालुकदार निकाय र मन्त्रालयले चनाखो भएर काम गर्नुपर्छ’, उनले भने ।