काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय चर्किएको विवाद कसरी र कहिले समाधान हुन्छ भन्ने विषयलाई अहिले चासोका साथ हेरेका छन् ।
खासगरी अध्यक्षद्वय निकटका नेताहरूले परस्परविरोधी धारणाहरू सार्वजनिक गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका नेताहरूले पछिल्लो समय उत्पन्न संकटको दोष अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि लगाएका छन् । त्यस्तै अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपालनिकटका नेताहरू यसको दोष ओलिमाथि लगाउँदै आएका छन् ।
पार्टी नै फुट्ने सम्मको आँकलन गरिएको विवाद मिलाउन तथा अध्यक्षद्वयबीच उत्पन्न तिक्तता मेटाउन दोस्रो तहका नेताहरूले सक्रियता देखाएका छन् । साथसाथै नेकपाकै केही उच्च तहका केही नेताहरू विवाद अझ चर्काउने गरी भड्काउपूर्ण अभिव्यक्ति दिन पनि पछि परेका छैनन् ।
केही नेताहरूले सञ्चारमाध्यमहरूमार्फत् अर्को पक्षका नेताहरूमाथि कडा टिप्पणी पनि गरेका छन् । यसले निश्चय पनि नेताहरूबीचको सौहार्दतालाई अझ चिस्याउँछ । तर, नेकपाकै केही जिम्मेवार नेताहरूले यस्ता अभिव्यक्तिहरू दिइ नै रहेका छन् ।
साथसाथै केही नेताहरू अध्यक्षद्वयबीच पुनः छलफल र भेटवार्ताको वातावरण बनाएर विवाद समाधान गर्दै अघि बढ्नुपर्छ भन्ने पक्षमा पनि छन् । उनीहरूले आफ्नोतर्फबाट यसका लागि सक्दो प्रयास पनि गरेका छन् । विगतमा भएका विवादहरूमा यस्तै प्रयासले एउटा समाझदारी निर्माणमा सघाउ पुर्याएको थियो । त्यसैले यसपटक पनि परिणाम सुखद आउनसक्छ भन्ने आशा नेताहरूले अझै पनि मारिसकेका छैनन् ।
यसैबीच सोमबार ओली र प्रचण्डबीच टेलिफोन संवाद भएको बताइएको छ । टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डलाई आफूहरू बसेर समस्याको समाधान गर्नुपर्ने भन्दै भेटका लागि बालुवाटार बोलाएका बुझिएको छ ।
उता, प्रचण्डले भने दुई अध्यक्ष बसेर मात्र समस्याको समाधान हुन नसक्ने भएकाले स्थायी कमिटी बैठक बस्नुपर्ने पक्षमा छन् । स्रोतका अनुसार सहमति कार्यान्वयनमा आशंका भइरहेको अवस्थामा प्रचण्ड अध्यक्षद्वयमात्र होइन स्थायी कमिटी बोलाएर समस्याको समाधान खोज्नुपर्ने पक्षमा छन् ।
यसअघिको स्थायी कमिटीले दिएको निर्णयहरू कार्यान्वयन नगरेको भनेर आरोप लागिरहेको सन्दर्भमा पुनः स्थायी कमिटीको बैठक बोलाउँदा विवाद झन मुखरित भएर आउने सम्भावना छ ।
वार्ताको सम्भावना
स्रोतका अनुसार आज साँझसम्म ओली र प्रचण्डबीच भेटवार्ता हुने सम्भावना छ । त्यसका लागि तयारी पनि भइरहेको छ ।
अध्यक्षद्वयबीच वार्ताका लागि सुवास नेम्बाङले सक्रियता देखाएका छन् । तर, वार्ता हुन्छ या हुन्न भन्ने कुरा भने यकिन भइसकेको छैन । यद्यपी साँझसम्म वार्ता हुनेमा नेताहरू आशावादी छन् ।
उता असन्तुष्ट सचिवालय सदस्यहरूले सचिवालयको बैठक बोलाउन पनि माग गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीको निर्णय नमानेको र एकलौटी गरेको भन्दै नेकपामा विवाद चर्किरहेका बेला कर्णाली प्रदेशमा उत्पन्न समस्याले आगोमा घिउ थप्ने काम गरेको थियो ।
उता आन्तरिक विवाद चर्कँदै जाँदा पार्टीकै कार्यकर्ताबीच झडप हुँदा पर्सामा एकजनाको मृत्यु भएको छ । त्यसले आन्तरिक विवाद अराजक हुने त होइन भन्ने आशंका पनि जन्माएको छ ।