नेपाल वाटर कन्जर्भेसन फाउन्डेसनका अध्यक्ष तथा जलवायु परिवर्तन विज्ञ ङमिन्द्र दाहाल भन्छन्, “यो घटना जलवायु परिवर्तनकै कारण भएको हो भन्ने प्रष्ट छ, त्यसैले यो र यस्तै अन्य विपद्का घटनालाई ग्लास्गोमा हुने राष्ट्रसंघीय सम्मेलनमा हामीले क्षतिपूर्ति दाबीका लागि प्रस्तुत गर्नुपर्छ ।”
नोक्सानी र क्षतिको विषय दशकौँदेखि एउटा विवादास्पद मुद्दाको रुपमा रहँदै आएको छ र राष्ट्रसंघसँग पनि यससम्बन्धी आधिकारिक परिभाषा छैन । सुरुमा सन् १९९१ मा साना टापु राष्ट्रहरूको एउटा समूहले उठाएको यो विषयले राष्ट्रसंघको वातावरणसम्बन्धी वार्ताहरूमा कुनै आधिकारिक स्थान स्थापित गर्न सकेको छैन किनभने विकसित राष्ट्रहरू अनुकूलनका लागि आवश्यक पर्नेभन्दा बढी आर्थिक सहयोग गर्न इच्छुक छैनन् ।
“वैज्ञानिकहरूले यस्ता कैयौँ घटना हुनुको कारण जलवायु परिवर्तन हो भनेका छन् र सो कुराको ठहर गर्दा उनीहरूले केही स्थापित विधि अनुसरण गरेका छन्, त्यसमा अधिकांश उत्तरी गोलार्द्धका घटना र केही दक्षिण एसियाका पनि समेटिएको छ,” विकास सहायतामा क्रियाशील प्राक्टिकल एक्सनका जलवायुसम्बन्धी क्षेत्रीय सल्लाहकार सुनिल आचार्यले बताए । “दुर्भाग्यवश, अहिलेसम्म हामीसँग नेपालमा त्यस्तो अध्ययन नै गरिएको छैन । तर पनि हामीले त्यही कारण नै हो भनी दाबी गर्नका लागि सुरुवातमा केही सामान्य सूचकहरूको प्रयोग गर्न सक्छौँ ।”
जलवायुको सम्बन्ध प्रमाणित
हालैको एउटा अध्ययनअनुसार गत तीन दशकमा नेपालमा कठोर मौसमसम्बन्धी घटनाका कारण झण्डै १० हजार मानिसको ज्यान गएको छ । तीमध्ये दुई तिहाइ मृत्यु बाढी र पहिरोका कारण भएको तथ्यांकमा देखिन्छ । अन्य मृत्यु चट्याङ, शीतलहर, हुरीबतास, अत्यधिक गर्मी लगायतका कारण भएको तथ्यांकले देखाउँछ । “हामीले यसबारे थप अध्ययन गर्न आवश्यक छ तर चरम मौसमी घटनाले गर्दा नेपालमा विपद्सम्बन्धी मृत्युको संख्या ह्वात्तै बढेको त हामीले देखि नै सक्यौँ,” जर्मनीको बोन विश्विवद्यालयमा जलवायु परिवर्तनका अध्येता रहेका दिपेश चापागाईंले भने ।
सरकारी निकायहरूका अनुसार, नेपालको वार्षिक अत्यधिक तापक्रम प्रतिवर्ष ०.०५६ डिग्रीका दरले बढिरहेको छ । यस हिसाबले औसत तापक्रम मध्यमकालीन रुपमा अर्थात् सन् २०४५ सम्ममा ०.९२ देखि १.०७ सेल्सियस र दीर्घकालीन रुपमा सन् २०६५ सम्ममा १.३० देखि १.८२ सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
यो घटना जलवायु परिवर्तनकै कारण भएको हो भन्ने प्रष्ट छ, त्यसैले यो र यस्तै अन्य विपद्का घटनालाई ग्लासगोमा हुने राष्ट्रसंघीय सम्मेलनमा हामीले क्षतिपूर्ति दाबीका लागि प्रस्तुत गर्नुपर्छ
ङमिन्द्र दाहाल , नेपाल वाटर कन्जर्भेसन फाउन्डेसन
जलवायुसम्बन्धी विपद् मा क्षतिपूर्तिको विषय “पक्कै पनि प्राथमिकतामा पर्ने कुरा हो तर सो नोक्सानी र क्षतिको माग गर्नका लागि हामीसँग पर्याप्त अनुसन्धान र तथ्यांक छैन (जसबाट नेपालले सामना गरिरहेका विपद्का घट्ना र जलवायु परिवर्तनबीच सम्बन्ध देखाउन सकियोस्),” वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन महाशाखा प्रमुख राधा वाग्लेको भनाइ छ ।
उनले नोक्सानी र क्षतिलाई परिभाषित गर्ने सम्बन्धमा अन्तर्राष्ट्रिय समुदाय एउटा निष्कर्षमा पुगेर सो सैद्धान्तिक विवरणलाई नेपालमा आइपरेका जस्ता विपद्सँग जोड्नुपर्नेमा जोड दिइन् । “यो प्रक्रियालाई सघाउनका लागि हाम्रो एनडीसीअन्तर्गतको योजनामा अनुसन्धानलाई एउटा महत्वपूर्ण गतिविधिको रुपमा राखिएको छ तर त्यसका लागि जलवायु परिवर्तनले कसरी कठोर मौसम सिर्जना गर्छ भन्नेबारे उपयुक्त जानकारी आवश्यक पर्छ जुन हामीसँग अभाव छ ।”
यो सामग्री द थर्ड पोलमा रमेश भुसालको बाइलाइनमा प्रकाशित छ ।