काठमाडौं । लामो समय विवाद भएर समाधान भएको भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादको अवस्था कस्तो छ ? विवाद बढ्दै जाँदा महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल नै गठन गरिएको थियो । उक्त कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएसँगै नेकपाको विवाद समाधान भएको भनिएको थियो ।
तर, विवाद समाधान भए पनि त्यसको जग भने कमजोर रहेको बुझ्न अब गाह्रो छैन । सुरुमा केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने भन्दै चर्काे आवाजसहित स्थायी कमिटीका बहुमत सदस्यहरु एकातिर उभिएका थिए । यो विवाद यति उग्र थियो कि नेकपा विभाजन नै हुन्छ भन्ने सम्मका आशंकाहरु व्यक्त गरिएका थिए । र शिर्षस्थ नेताहरुले पनि त्यसप्रकारको मनोविज्ञानअनुरुप आफूलाई तयार पार्न थालेका थिए ।
यद्यपी पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले सुझाव दिएसँगै नेकपाको विवाद तत्कालका लागि समाधान भएको विश्लेषण गरिएको थियो । र नेकपाका नेताहरुले पनि पार्टी विवाद समाधान भएको भन्दै अभिव्यक्ति दिएका थिए । तर, नेकपामा विवाद समाधान भयो भनिए पनि विवादको तुस भने बाँकी नै रहेको र त्यो बेलाबेलामा प्रकट हुने गरेको बुझ्न गाह्रो छैन ।
कार्यदलले पार्टीको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने र सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने र दुवैले एकअर्काबीच समन्वय गर्ने सहमतिसहित विवाद टुंग्याएको थियो । यसको अन्तर्यमा पार्टीको निर्णय प्रकृयामा प्रचण्डको भूमिका बढ्ने भन्ने नै थियो ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफूबाट पार्टीको निर्णय उल्लंघन भएको दावी गरे । उनले उक्त टेलिभिजन अन्तर्वार्ताका क्रममा भनेका थिए पार्टिको विधिवत कुनै एउटा निर्णय मबाट उल्लंघन भएको छैन र हुँदैन । उक्त अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, प्रधानमन्त्रीय प्रणालीमा, संसदीय प्रणालीमा जो प्रधानमनत्री र सरकारप्रमुख हुन्छ कार्यकारी प्रमुख हुन्छ ।
साथै त्यसबखत प्रधानमन्त्री ओलीले प्रधानमन्त्री भनेको अन्त भएका निर्णय क्याबिनेटमा लगेर कार्यान्वयन गर्ने रबर स्ट्याम्प लगाउने वा छाप मार्ने ठाउँ मात्र नभएको उल्लेख गरेका थिए । त्यसबेला प्रधानमन्त्री ओलीले भनेका थिए, प्रधानमन्त्री भनेको सेरेमोनियल होइन कार्यकारी हो ।
यससँगै प्रधानमन्त्री ओलीले आफू अर्थमन्त्री डा. युवराज भट्टराईको कामसँग असन्तुष्ट नरहेको पनि प्रतिक्रिया दिए । यस प्रधानमन्त्री राष्ट्रियसभामा खतिवडालाई निरन्तरता दिन चाहान्छन् भन्ने विश्लेषणहरु भए । तर प्रधानमन्त्री रबरस्ट्याम्प मात्र होइन भन्नुले उनी यो निर्णयमा अडिग छन् भन्ने पनि संकाहरू पनि व्यक्त नभएका हाेइनन् ।
तर, सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेपछि डा. खतिवडा सरकारबाट बाहिरिएका छन् । उता नेकपाको विवादकै बीच प्रधानमन्त्री ओली गौतम निवासमा पुगेका थिए । कतिपयले यसलाई गौतमलाई आफ्नो पक्षमा पार्ने ओलीको प्रयासका रुपमा पनि अर्थ्याएका थिए ।
अर्कातर्फ उपाध्यक्ष गौतमले पनि आफू पार्टीको निर्णयानुसार राष्ट्रियसभामा जान तयार रहेको प्रतिक्रिया दिएका छन् । यी सबै घटनाक्रमहरुलाई हेर्दा के देखिन्छ भने नेकपामा विवाद समाधान भयो भनिए पनि नेकपामा विवाद यथावतै रहेकाे र त्याे जुनसुकै प्रकरणमा पनि प्रकट हुनसक्ने सम्भावना जीवितै रहेकाे देखाउँछ ।
यतिमात्र होइन प्रधानमन्त्री ओलीको अन्तर्वार्ता प्रसारण भएको केही समयमा नेकपाका अध्यक्ष प्रचण्डले कूटनीतिक ट्विट् भाषामा ट्विट् गरेका छन् । प्रचण्डको ट्विट् कोप्रति लक्षित छ भन्ने स्पष्ट भइनसके पनि ताजा घटनाक्रम नेकपा विवाद भएकाले त्यसैतर्फ केन्द्रित र ओलीप्रति लक्षित हो भन्ने अनुमान लगाइएको छ । प्रचण्डले ट्विटमा भनेका छन्, पार्टी भनेको विचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिस्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो ।
यी सबै घटनाक्रमलाई हेर्दा समाधान भयो भनिए पनि नेकपाको विवाद वास्तवमै समाधान भने भइनसकेको देखिन्छ । अझ कार्यदलकै एकजना सदस्यले उपाध्यक्ष गौतम अर्थसहित उपप्रधानमन्त्री बन्ने बताएपछि त समस्या अझ गहिरिने आशंका बढ्न थालेका छन् ।