काठमाडौं । नेपालको संविधानमा व्यवस्था गरिएका समावेशिता र विविधताको विषयलाई प्रवर्द्धन गर्नका लागि पाठ्यपुस्तकको अडिटमा विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
नेपालको विविधता र समावेशिताको प्रवर्द्धनको सुरुवात पठ्यपुस्तक अडिटबाट गर्नुपर्ने उनीहरूको जोड छ ।
नीति विश्लेषक तथा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास नामक संस्थाका प्रमुख होमराज आचार्यले बिहीबार पत्रकार सम्मेलन गर्दै विविधता र समावेशीताको विषयलाई व्यावहारिक प्रयोगमा ध्यन दिनुपर्ने बताए । विविधता र समावेशीताको सुरुवात पाठ्यपुस्तक अडिटबाट गर्नुपर्ने उनको भनाइ छ ।
यसको लागि तल्लो तलका कक्षाहरूमा पढाइ हुने पाठ्यक्रम समय सान्दर्भीक र व्यावहारिक बनाउन आवश्यक देखिएको आचार्यले बताए ।
पाठ्यपुस्तकमा समावेशिताको विषयलाई पनि झाराटार्ने रूपमा प्रस्तुत गरिएको टिप्पणी समेत गरे । उनले संविधानले समोवेशीता र विविधतालाई निर्दिष्ट गरेको भन्दै त्यसलाई कार्यान्वयन गर्न आवश्यक रहेको जोड दिए ।
‘हामीकहाँ शिक्षामा चेतनाको कमी छ, मानव अधिकार, समावेशीता र व्यावहारिक विषयमा पाठ्यसामग्रीमा पुग्दो सूचना जानकारी समेटिएको छैन,’ उनले भने, ‘समावेशिता र विविधता बिना समाज समुन्नत बन्न सक्दैन ।’
उनले समाजमा जातीय विभेदको व्यावहारिक अन्त्यका लागि पनि सुरुवात पाठ्य पुस्तकबाटै गर्नुपर्ने जानकारी दिए । यसको लागि सबै समुदायले हातेमालो गरेर अघि बढ्नुपर्ने उनको धारणा छ ।
यसका साथै नीति निर्माण तहमा नागरिकको सहभागिता बढाउन र पाठ्य पुस्तकमा उनीहरूका मुद्दा समेट्नका लागि मानव अधिकार आयोग, स्थानीय सरकार र घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्थाको समन्वयमा नागरिक शिखर सम्मलेनको तयारी पनि गरिएको छ ।
यसले नीति निर्माण तहमा नागरिकको पहुँच पुग्ने र योजना निर्माणमा उनीहरूका अजेन्डा समेट्न प्रभावकारी भुमिका खेल्ने उनको भनाइ छ । घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्थाले नागरिक सम्मेलनको लागि प्रभावकारी भूमिका खेल्ने छ ।