काठमाडौं । कोरोना भाइरस (कोभिड- १९) को महामारीका कारण विश्वभरका गरिब बालबालिकामा ठूलो प्रभाव देखिएको युनिसेफले जनाएको छ । यतिमात्र होइन आगामी दिन अझ खराब हुनसक्ने युनिसेफले जनाएको छ ।
युनिसेफ र सेभ द चिल्ड्रेनले संयुक्त रूपमा गरेको विश्लेषणमा कोरोना महामारीका कारण विश्वभरका १५ करोडभन्दा बढी बालबालिका गरिबीको दलदलमा धकेलिएका छन् ।
कोरोनाको महामारी र त्यसको संक्रमण फैलन नदिन लगाइएको लकडाउनका कारण कम तथा मध्यम आय भएका देशमा गरिबीमा रहेका बालबालिकाको संख्या १५ प्रतिशतसम्म बढेको उक्त विश्लेषणमा उल्लेख छ । यस्तो वृद्धीपश्चात् यो संख्या १.२ अरब पुगेको विश्लेषणमा उल्लेख छ ।
युनिसेफ र सेभ द चिल्ड्रेनले शिक्षा, स्वास्थ्य, हेरचाह, वासस्थान जस्ता आधारमा उक्त विश्लेषण तयार पारिएको जनाएका छन् ।
युनिसेफकी कार्यकारी निर्देशक हेनरिटा फोरले गरिबीको चपेटाबाट बाहिर निस्कनै लागेका परिवारलाई यो संकटले पुनः गरिबीमा धकेलिदिएको बताएकी छन् । हेनरिटा अगाडि भन्छिन्, साथै अन्यले पनि यस्तो संकट व्यहोरीरहेका छन् जो उनले यसअघि कहिल्यै देखेका थिएनन् ।
कोरोना महामारीका कारण उत्पन्न गम्भीर परिस्थितिबारे जानकारी दिँदै हेनरिटा भन्छिन्, सबैभन्दा चिन्ताजनक कुरा यो हो कि हामी यो संकटको सुरूवातमा छौं यसको अन्त्यमा होइन ।
उक्त रिपोर्टमा सरकारलाई यी बालबालिकालाई गरिबीबाट निकाल्नका लागि आवश्यक कदम चाल्न आग्रह गरिएको छ । सामाजिक सेवा, श्रम बजार तथा दूर शिक्षा जस्ता क्षेत्रमा हस्तक्षेप तथा लगानी आवश्यक रहेको रिपोर्ट लेखकको मत छ ।
हेनरिटा भन्छिन्, संकटमा परेका बालबालिका तथा उनका परिवालाई सरकारले आफ्नो प्राथमिकतामा राख्नुपर्छ । साथै उनीहरूलाई बाल भत्ता, दूर शिक्षाको अवसर, स्वास्थ्य सेवा, तथा विद्यालयमा भोजन जस्ता सामाजिक सुरक्षा व्यवस्थाको तीव्र रूपमा विस्तार गर्नु आवश्यक छ ।
उनी भन्छिन्, आज सरकारले यी क्षेत्रमा लगानी गरेमा भविष्यका संकटसँग जुध्न मद्दत मिल्छ ।
बालबालिकाको क्षेत्रमा काम गर्ने अर्को संस्था सेभ द चिल्ड्रेनकी सिइओ इंगोर एसिंगले यो महामारीले इतिहासको सबैभन्दा ठूलो वैश्विक शिक्षा इमर्जेन्सी पैदा गरिसकेको बताएकी छिन् ।
उनका अनुसार गरिबी बढेका कारण कमजोर आर्थिक अवस्थाका बालबालिका तथा उनका परिवारका लागि क्षतिको भर्पाई गर्न कठिन हुन्छ ।
इन्गर भन्छिन्, जुन बालबालिकाको पढाइ छुटेको छ उनीहरू बालश्रम या बालविवाहको सिकार हुन सक्छन् । र, उनीहरू आगामी वर्षहरूमा गरिबीको चक्रमा धकेलिन पुग्छन् ।